सामाजिक संरचनाको कारण पनि बहुदलीय प्रणालीको अनुसरण गर्न पाइने लोकतान्त्रिक पद्धतिको विकासमा नेपाल प्रयत्नशील छ । भूसांस्कृतिक, भूआर्थिक वा भूसामाजिकजस्ता कारणले समेत नेपालको लागि लोकतन्त्र नै अनिवार्य पद्धति लाग्छ ।
तर कम्युनिस्टहरुको ‘मुखमा रामराम र बगलीमा छुरा’ बोक्ने प्रवृत्तिले आधुनिक नेपाललाई निरन्तर अप्ठेरोमा धकेलेको छ । किन ? कारक कम्युनिस्ट सोच निर्मित संस्कार हो ।
सात सालको जनक्रान्तिबाट नेपालले आधुनिक समयको यात्रा आरम्भ गरेको थियो । खासमा इस्ट इन्डिया कम्पनीसँग सीमित नेपालको विश्व भाइचारा सम्बन्ध यही आधुनिक यात्राको आरम्भदेखि विकसित र विस्तारित हुँदै आएको हो ।
जति र जस्तो हुनुपर्ने थियो त्यो भएन तर सात सालदेखि अहिलेसम्मको नेपालको क्रमिक तुलनाले हाम्रो बहुपक्षीय स्थिति बोध गराउन सक्छ ।
नेपालीसँग सन्तुष्टिभन्दा धेरै गुनासो छ । आशाभन्दा अधिक निराशा छ । खुसीभन्दा बढी आक्रोश छ । सोचाइमा सकारात्मक भावभन्दा ज्यादा नकारात्मक अभिव्यक्ति धेरै सुनिन्छ । ग्रहण शीलताभन्दा अर्ती उपदेश दिनेको भिड छ ।
किन यस्ता भयौँ हामी ? गहिरो अनुसन्धान गरिने हो भने मानसिक छापको अनुद्घाटित रहस्य सार्वजनिक हुने थियो कि ? सरल र सतहमा हेर्दा हामीमा बसेको नकारात्मक मानसिक छाप वा सोचको स्तर राजनीति वा व्यवस्थाले निर्धारण गरेको हो । त्यसपछि आर्थिक र अन्य कारक छन् । ती हुन् गरिबी र विभेद आदि ।
पृथ्वीनारायण शाहले नेपाल राज्यको विस्तार गरेपछि राणा शासनको युगसम्म नेपाली समाज बन्दी अवस्थामा थियो । राणा युगको अवसानसँगै नेपाली समाज पनि खुला युगमा प्रवेश गर्यो र स्वतन्त्र विश्वमा लामबद्ध भयो ।
यही बीचमा विभिन्न राजनीतिक चरणहरु पार गर्दै मुलुक अहिलेको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्थामा आएको हो । राजनीतिक उतार चढाव र तिनको आर्थिक, सामाजिक पक्षसमेत परराष्ट्र सम्बन्धका पाटा प्रभावले हाम्रो सोच निर्माणमा के कस्तो छाप बसायो ? यस्ता विषयमा पनि अध्ययन, अनुसन्धानको खाँचो छ । अनिमात्र नेपाली सोच संस्कारमा जडित छापको पाटो पक्ष समूल खुल्न सक्छ ।
राजनीतिमा आग्रहको निरन्तरताले जनता उठेको आन्दोलन हुन्छ । रातारात परिवर्तन आउनसक्छ, व्यवस्थाले फट्को मार्न सम्भव छ । तर संस्कार, संस्कृति र विकास वा आर्थिक स्थितिमा परिवर्तित सुधार ल्याउन निरन्तरको प्रयत्नसँगै केही धैर्य र समय लगानी गर्नुपर्छ ।
संस्कार, संस्कृति ‘बूढा मरे भाषा सरे’ भनेजस्तै हो । यो पुस्तौँ पुस्ता सरी रहन्छ, आइ रहन्छ । त्यसमा समयको कलेवर थपिनु स्वाभाविक हो । बाबु, बाजेदेखि निःसृत संस्कार प्रक्रियालाई नियाल्यौँ भने हामीसम्म त्यसको प्रभाव शृंखला जोडिएको पाटो पनि थाहा हुन्छ ।
जेठो, कान्छो हाम्रै पुस्ताले राजनीतिमा कति चरण देख्यो, भोग्यो र ल्यायो ? पूरै छलाङ मार्यो । प्रजातन्त्र, निरंकुश पञ्चायती तानाशाही, संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र । त्यस्तै अहिलेको संघीय लोकतान्त्रिक, गणतन्त्र । राणा शासन अन्त्यपछिका सत्तरी वर्षको नेपालको अनुभवमा यी क्रमभंग राजनीतिक परिघटना हुन् ।
के संस्कार र संस्कृतिमा यस्तै क्रमभंग छलाङ देखिन्छ त ? यसको अर्थ सत्तरी वर्षहरुमा हाम्रो संस्कार वा संस्कृतिमा कुनै परिवर्तन आएन भन्ने होइन । आयो तर त्यो क्रमिक रह्यो, छलाङ मारिएन । स्वाभाविक भयो ।
यसको मतलब हामी अधिकको सोचाइ संस्कारमा व्यवस्था (राजनीति) ले पारेको प्रभावको सतही निरीक्षण गर्न खोजेको हो । राणा शासन सात सालमा गयो तर त्यसले स्थापित गरेको राम्रो, नराम्रो संस्कार, सोचसमेत के त्यो शासनसँगै गयो त ?
प्रजातन्त्रले अनुभूति दिएको स्वतन्त्र संस्कृतिको राजा महेन्द्र रचित ‘कु’ ले समाप्त पार्न सक्यो र ? वा राजा संरक्षित निरंकुश पञ्चायती सत्ताले नै समाप्त पार्यो त ? सात सालको अनुभूतिको जगमा जनताको आग्रहले निरन्तरता पायो र नै संघीय प्रजातन्त्रसम्म आइपुगियो ।
अर्थात्, हाम्रो सोचमा मात्रा बढी, घटी जे भए पनि खासमा दुई धार छन् । पहिलो स्वतन्त्रतापेक्षी प्रजातन्त्र र दोस्रो केन्द्रीकृत निरंकुश, तानाशाही, निर्दलीय वा एकदलीय अधिनायकवादी सोच, संस्कार । यी दुई सोच निर्माणमा एकातिर प्रजातन्त्र छ, अर्कोतिर राणा, राजा र अधिनायकवादी कम्युनिस्ट सोच निर्मित संस्कार छ । नेपाली राजनीतिमा यी दुई सोच संस्कारको द्वन्द्व यतिबेला झन् घनीभूत छ ।
दुनियाँमा राजनीतिक, आर्थिक वा सामाजिक विषयमा अध्ययन अनुसन्धानको निरन्तरता पाइन्छ । त्यसरी नै संस्कार, संस्कृतिमा परेको र पार्ने प्रभाव वा त्यसको निरन्तरताको विषयमा अनुसन्धानको निष्कर्ष सजिलै नागरिक पहुँचमा छैन । अर्थात् अनुसन्धान खासै भएको छैन ? सरल, सतही विवेचनामात्रै हो ।
खुला विश्व र प्रविधिको उन्नत युगमा पनि सोच संस्कारमा गढेको छापले कम्युनिस्टहरु वर्गीय अधिनायकवादी चिन्तनको साँघुरो घेरालाई ब्रह्माण्ड सोच्न सक्छन् ।
श्रमको सम्मान उत्कृष्ट कुरा हो र वर्गीय सोचलाई आर्थिक, सामाजिक स्थितिले निर्धारण गर्ने हो । मजदुरको अधिनायकत्वलाई मात्रै वर्र्गीय करार गर्ने कम्युनिस्ट सत्ता सामन्तहरुले चुनौती वा प्रतिस्पर्धाहीन शासन सत्ता कज्याउने सय वर्षअघिको ‘फर्मुला’ अझै छोड्न सकेका छैनन् । किन ? कारण सोचमा गाडिएको संस्कारको निरन्तरता नै हो ।
माक्र्स, एंगेल्सदेखि लेनिन, स्टालिन हुँदै माओसम्म आइपुग्दा कम्युनिस्ट सोच, शैली र संस्कार बन्दी समाज स्थापनाको सुरुङभित्र पुगी सकेको हो । त्यो धङधङी वा सत्तालाई कम्युनिस्ट पञ्जाले जकेड्ने लालसा नेपालका कम्युनिस्टले अझै छाडेका छैनन् ।
प्रत्येक राष्ट्रिय वा अन्तर्राष्ट्रिय विषयलाई राजनीतिक सोचले हेर्ने र वैचारिक रुपले विदेशीको दलाली गर्ने कुरामा यहाँका कम्युनिस्टहरु पनि निर्लज्ज अघि आएका छन् । अन्तर्राष्ट्रियतावादका गुलाम यिनले राष्ट्रवादको नारा लगाएर राष्ट्रियहितलाई गौण बनाएका छन् । लोकतन्त्रको सत्तामा छन्, मुखले चाहिं रामराम भन्छन् तर लोकतन्त्र मास्न बगलीको छुरा उज्याएका छन् ।
छिमेकी भारतमा पनि कम्युनिस्टले यस्तै व्यवहार गरेको इतिहास भेटिन्छ । महात्मा गान्धीको नेतृत्वमा भारतीय स्वतन्त्रता संग्राम जारी थियो । त्यतिबेला कम्युनिस्ट पार्टी र नन्द मुरारीपाद समेतका कम्युनिस्ट नेताहरु ‘स्वतन्त्रता आन्दोलन धोका हो’ भन्ने नारा गुञ्जायमान गर्दै थिए ।
त्यतिमा मात्रै ती कम्युनिस्ट सीमित भएनन् । इस्ट इन्डिया कम्पनी सरकारको ताबेदारी गरेर नन्दमुरारी समेतका कम्युनिस्ट नेता बेलायत भ्रमणको सुख सयल लिँदै थिए । यता स्वतन्त्रता आन्दोलनमा हजारौँ भारतीय नेता र नागरिकलाई कम्पनी सरकारले बन्दी बनाएको थियो, कतिपय मारिएका पनि थिए ।
त्यस्तै सन् २००८ मा भारतले अमेरिकासँग परमाणु सम्झौता गर्न खोज्दा तत्कालीन सत्ता सहयात्री कम्युनिस्ट घटक (भाकपा) सरकारबाट बाहिरिएको थियो । त्यतिबेला भारतका मूलधारका सञ्चार माध्यम र विश्लेषकले चिनियाँ उक्साहटमा कम्युनिस्टहरुले सम्झौता रोक्न व्यवधान गरेको निष्कर्ष निकालेका थिए । पत्याउन किन पर्छ भने – यतिबेला नेपालले लिनसक्ने निर्णयको विषयमा पनि चिनियाँ वक्ताहरुको हस्तक्षेपकारी उक्साहट सडकमा पोखिएबाट नै खुलेको छ ।
भारतको उदाहरण किन ? कम्युनिस्ट प्रवृत्ति र तिनले राजनीतिक रुपमा गर्ने दलालीको अर्थ बुझाउन हो । राष्ट्रवादको खोलभित्र विदेशीको स्वार्थ प्रेरित इसारामा चल्ने कम्युनिस्ट तरिका बुझाउन भारतको उदाहरण दिइएको हो ।
अहिले नेपालका कम्युनिस्टहरुको प्रवृत्ति ठ्याक्कै त्यही देखिएको छ । राष्ट्रियहितको नारा दिएर राष्ट्र र जनताको अहित गर्ने, गरिबी पाल्ने र लोकतन्त्र फाल्ने कम्युनिस्ट चरित्र भारतको जस्तै यहाँ पनि उदांगिएको छ ।
सहयोगी मित्र अमेरिकाको एमसीसीले दिने अनुदान सहयोगको विषयमा नेपालका कम्युनिस्टको दोधारे चरित्र, ध्वंशात्मक कृत्य र भूराजनीतिक द्वन्द्व बढाउने कुकर्म स्पष्ट नै छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री रहँदा एमसीसी विषयमा दिएको विचार (२०७६ माघ १५) र गरेको व्यवहार के थियो, अहिले उनको भूमिका कस्तो छ ?
सरकारमा टाँसिएकादेखि भुरेटाकुरे कम्युनिस्टहरुले यतिबेला मच्चाएको निर्लज्ज व्यवहारलाई नेपाली नागरिकले गम्भीरतापूर्वक लिनुपर्ने भएको छ । यिनको सोच संस्कारलाई थप बुझ्ने अवसर फेरि दिइएको छ । विगतमा पनि कम्युनिस्टले राष्ट्रहितविपरित संस्कार, प्रवृत्ति देखाएकै हुन् ।
नैतिक मर्यादाच्युत चरित्रका कम्युनिस्टले नेपाली नागरिकको सोच संस्कारमा कस्तो छाप पार्न खोजेका होलान् ? सरकारी स्रोतको शोषण गरेर सडकमा ढुंगा हान्न र प्रहरी कुट्न जाने कम्युनिस्ट प्रवृत्ति राजनीतिक, नैतिक र चारित्रिक वा सबै प्रकारले त्याज्य र भत्र्सना लायक छ ।
नागरिकको विकास सम्भावना रोक्ने र मान्छे ताकेर ढुंगा हान्न जाने गठबन्धन र त्यही गठबन्धन निर्मित सरकार चाहियो किन ? राष्ट्रलाई दुःख दिन ?