आज फागुन ७ गते । नेपालले प्रजातन्त्रको कठिन उकालो चढ्न सुरु गरेको ठ्याक्कै ७१ वर्ष पूरा भएको छ । सम्पूर्ण नेपालीको मौलिक अधिकार स्थापित गर्ने र आफ्नो शासक आफैँले आवधिक निर्वाचनमार्फत छान्ने मूलभूत उद्देश्यसहितको प्रजातान्त्रिक आन्दोलनपछिका सात दशकमा नेपालीले धेरैपल्ट उपलब्धिको संरक्षण गर्न नसकेर हाम्रो राजकीय सत्ता बारम्बार खोसिएको इतिहास पढ्दै र भोग्दै आएका छौँ ।
वि.सं. २०६३ को जनआन्दोलन र २०७२ सालको संघीय गणतान्त्रिक समावेशी संविधानको प्रादुर्भावपश्चात स्थापित लोकतन्त्रमा पनि जनताको सार्वभौम अधिकारका विषयमा निश्चिन्त हुनसक्ने अवस्था सिर्जना भइसकेको छैन । तथापि, लोकतन्त्रसँग अभिन्नरूपमा जोडिएको एउटा महत्त्वपूर्ण नैसर्गिक अधिकार अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना गर्न सकेको खण्डमा जनताका अन्य मौलिक अधिकारको प्रत्याभूत हुने पुष्टि भएको छ ।
अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि प्रेस स्वतन्त्र, सक्षम र निष्पक्ष हुनु अत्यन्त जरुरी हुन्छ । यही भावनाको सार तत्त्वको संरक्षण र संबद्र्धन गर्ने उद्देश्यसहित २०७२ सालको संविधानको प्रादुर्भाव भएपश्चात जनताको अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने र सधै जनताको विश्वासको कसीमा खरो उत्रने प्रणका साथ ‘बाह्रखरी मिडिया’ स्थापित भएको पनि आज ६ वर्ष पूराभई सातौं वर्ष लागेको छ ।
छापा माध्यममा प्रकाशित भएको पत्रिकालाई मात्र स्तरीय र विश्वसनीय मान्ने मान्यतालाई भत्काउँदै प्रविधिले उपलब्ध गराएको सुविधामार्फत् डिजिटल माध्यमबाट प्रस्फुटित हुँदै ‘बाह्रखरी’ले आफ्नो स्थापनाको औचित्यलाई निरन्तर प्रमाणित गर्दै आएको छ । विश्वसनीयता कुनै प्रविधि विशेषमा हुँदैन बरु सो प्रविधिको प्रयोग गरेर आफ्नो भूमिकामा सशक्त उत्रने प्रण जसले गर्छ उसैले जनताको विश्वास आर्जन गर्छ भन्ने प्रमाणको रूपमा ‘बाह्रखरी’ले आफैँलाई स्थापित गरेकोमा हामी गौरवान्वित र उत्साहित छौँ ।
जनताका बीच समाचार माध्यम बनेर ओइरिएका हजारौं डिजिटल पत्रिकाका बीच ‘बाह्रखरी’का समाचार र सूचनामा विश्वास गरिदिएर हामीलाई पृथक र स्पष्ट दृष्टिगोचर हुने स्थानमा पुर्याउने सम्पूर्ण पाठक, दर्शकप्रति हामी अत्यन्त कृतज्ञ छौँ । यस प्रकारको हौसलाले आउँदा दिनमा अझ स्तरीय र अझ विश्वसनीय माध्यम बनेर अघि बढ्न हामीलाई प्रेरणा प्राप्त भएको छ ।
विगतका ६ वर्ष सकसपूर्ण रहे । पहिले २०७२ सालको भूकम्प अनि आर्थिक नाकाबन्दीको पराकम्प । त्यसपछि कोरोनाले सम्पूर्ण विश्वलाई निल्यो । यसैबीच राजनीतिक हलचल धेरै नै भए । देशले दुई दुईपल्ट संसद् विघटनको त्रास भोग्नुपर्यो । तर, यी सबैका बीच नेपाली प्रेस जगतले लोकतन्त्र र जनताको अधिकारको विरुद्धमा जाने कुनै पनि शक्तिको पृष्ठपोषण गरेन ।
जनताका अधिकारका लागि नेपाली प्रेस जगतको सशक्त अडानको एक अङ्ग बन्न पाउँदा ‘बाह्रखरी’ आफैँ पनि सम्मानित भएको महशुस गर्छ । आउँदा दिनहरू राजनीतिक, सामाजिक र भूराजनीतिक दृष्टिले सहज हुने आशा गर्न सकिन्छ तर सो नभएको अवस्थामा समेत ‘बाह्रखरी’ले लिएको लोकतन्त्र, मौलिक अधिकार, उदारवादी अर्थतन्त्र र सरकारलाई जनताप्रति उत्तरदायी बनाउने प्रयासमा कुनै कमी हुने छैन भन्ने अठोटका साथ हामीलाई माया गर्नुहुने सबैप्रति ‘बाह्रखरी’ परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्छ ।