नेपालको राजनीति पुनः अनिश्चयको भूमरीमा फसाइएको देखिँदै छ । अहिलेका राजनीतिक दल र तिनको नेतृत्वले मुलुकलाई सुगम्य निकास दिन हम्मे पर्ने अवस्था आएको हो कि ? आशंका उब्जेको छ । यसको कारक यिनै केही दल र तिनका नेता हुन् । निकास कसले र कसरी दिन्छ प्रतीक्षा पनि व्यग्र हुँदैछ ।
नेपालको लोकतान्त्रिक प्रणाली मौकापरस्तहरुको चंगुलमा जकडिँदै छ । धोकेबाज र ध्वंशकहरुको विदेशी इसारामा चले, चलाइएको नियोजित षड्यन्त्रले जनताको मौलिक अधिकार एवं विकास प्रक्रियामाथि सिकारी बाजजस्तै झम्टिन लागेको परिदृश्य छ ।
कहीँ नभएको जात्रा भनेजस्तै सरकारमा पनि बस्ने र सडकको विरोधमा पनि लाग्ने अनैतिक हर्कत कतै होइन हाम्रै मुलुक नेपालमा देखिन्छ । अहिलेको गठबन्धनमा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र (माके), नेकपा एकीकृत समाजवादी(एस) लगायत अरु कम्युनिस्टहरु पुनः ध्वंशको राज मच्चाउन हातमा इँटा, ढुँगा र लाठा लिएर जनता तर्साउँदै छन् । कतै त्यसमा सरकारी स्रोत नै प्रयुक्त छ कि ? वा अरु ?
निहुँ अमेरिकी सहयोगविरुद्ध भनिन्छ तर कम्युनिस्ट अभीष्ट भने विकास र लोकतन्त्रका विरोधमा केन्द्रित रहेको प्रायोजन पनि स्पष्टै भइसकेको छ । केन्द्रीकृत अधिनायकवादी मनसुवाले ‘दस्तक’ दिन थालेको आवाज सुनिदै छ । सत्ताको दमनचक्रमा गरिब र गरिबीमा शासन जमाउने कम्युनिस्ट मौलिक उपाय नै हो ।
‘निर्लज्ज नाच्छ हजार दाउ’ भन्ने चरित्र प्रदर्शित गर्ने अराजक, अस्थिर र धोकेबाजहरु रचित दुष्चक्रबाट देश नेपाल, लोकतान्त्रिक प्रणाली र जनताको सार्वभौम अधिकारलाई कसले सुरक्षित गर्ला ? परिस्थिति कति खरो छ भने जसप्रति पनि टिप्पणी खरो र कठोर शैलीमा नै स्पष्ट गर्न सकिन्छ ।
अमेरिकी अनुदान सहयोग (एमसीसी) लामो बहसको निष्कर्षले विकास परियोजना हो भन्ने स्पष्ट भइसकेको हो । तर, अनेक बहानामा निहुँ झिकेर एमसीसीको विरोधमा भ्रम छर्ने काम राजनीति प्रेरित हो भन्ने पनि छर्लङ्ग नै भएको थियो ।
एमसीसी पारित गर्ने प्रतिबद्धता र विरोध पनि सँगसँगै गर्ने गैरराजनीतिक चरित्रले नेपाल, नेपालीको विश्वसनीयतामा स्खलन ल्याएको छ । यस्तो प्रवृत्तिको द्योतक कम्युनिष्टहरु हुन् भने यस चरित्रको नेतृत्व माकेका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् ।
घटना छरपस्ट भइसके । सरकारमा बस्दा एमसीसी पारित गर्ने प्रस्ताव पैरवी गरेको अहिलेको प्रतिपक्ष नेपाल ‘कम्युनिस्ट’ पार्टी एमाले के गर्दै छ ? जनताले त्यो पनि बुझ्नुपर्ने भएको छ ।
अहिले बनेको सरकारी गठबन्धनका दल अविश्वसनीय, अवसरवादी र द्वैध चरित्रको साबित हुँदा गठबन्धनको औचित्य सकिन्छ । राजनीतिले अर्को ‘कोर्स’लिन बाध्य हुन्छ । यो मौका नेकपा (एमाले)को दुनोमा पर्न जाने सम्भावना बढ्ता छ ।
भनिन्छ, संविधानको ७६(५)को धाराअनुसार बनेको यो सरकार चुनावी सरकार पनि हो । सरकार बन्ने, बनाइने सबै धारा प्रयोगपछिको अन्तिममा यो सरकार बनेकोले फर्किएर अन्य धाराको प्रयोग अब हुँदैन । वैधानिक यस्तो अवस्थामा अहिलेको गठबन्धन टुटे कांग्रेस र एमाले सँगै बस्नुपर्ने बाध्यता हुने नै छ । अन्यथा अराजक अतिवाद हावी हुनेछ ।
नेकपा एमाले, माके र एस बीच गठबन्धन हुने स्वाभाविक अवस्था अहिले छैन । मुख्यतः संगठनात्मक राजनीतिक प्रतिस्पर्धी कांग्रेस, एमाले नै हुन् । तर बारम्बार आफँैलाई सांगठनिक, सैद्धान्तिक वा राजनीतिक चुनौती दिने र धरापमा पार्ने माकेलाई नै एमालेले किनारा लगाउनु पर्ने सोचेको हुनुपर्छ ।
नेकपा एसलाई एमालेले मानेकै छैन । माकेले आफ्नै एसलाई लत्याएर एमालेसँग पिरती गास्न पनि यतिबेला गारो छ । त्यसो त धोका र मौकापरस्त माके अध्यक्षले जे पनि गर्नसक्ने प्रमाणित भइसकेको छ । तर चुनौतीहीन मूलधार कम्युनिस्ट दलको पहिचान बनाउन ‘माके–एस’ लाई सीमान्त गरिदिने अवसर एमालेलाई मिल्ने सम्भावना भने देखिन्छ ।
एमाले यस्तो अवसर छोडेर डस्नेलाई पुनः दूध पिलाउन सायद नजाला । अविश्वसनीय कम्युनिस्ट प्रवृत्तिले हेर्दा भने यस्तै कोल्टो फेर्छ भनी ठोकुवा गर्न सम्भव छैन । महासचिव मदन भण्डारीपछि नेकपा बनाएर सरकारमा नजाँदासम्म नेकपा (एमाले) लोकतान्त्रिक बनेको विश्वास बढ्दै थियो ।
एमाले जब नेकपा बन्यो र सरकारी सत्तामा गयो तब एमाले, भण्डारी र जबज सबैलाई तीलाञ्जली दिइयो । सिद्धान्तच्युत भएको र सरकारी सत्ताबाट खँगारिएको एमालेलाई पुनः लोकतान्त्रिक जनमतको विश्वास आर्जन गर्न महासचिव भण्डारीपछिको दोस्रो समय विनालगानी प्राप्त हुन पनि सम्भव छ ।
अन्तर्राष्ट्रिय मित्र जगतले बुझ्नुपर्ने भने नेपाल र नेपालीको विश्वसनीय प्रवृत्तिको प्रतिनिधित्व यहाँका कम्युनिस्ट र खासगरी दाहालले गर्दैनन् भन्ने हो । यिनी ‘ओल्टी खुर्पा पल्टी धार, पल्टी खुर्पा तिघ्री मार’ भनेजस्ता छन् ।
त्यस्तै जनतालाई अठार घन्टासम्म अन्धकारमा धकेलेर अरुण जलविद्युत् परियोजना अवरुद्ध पारेको प्रत्यक्ष अनुभव गरेका जनताले कम्युनिस्टका प्रत्येक कदम विकास विरोधी रहेको बुझ्दैछन् भन्ने कम्युनिस्टका सबै तप्काले थाहा पाउन पनि जरुरी छ ।
अहिले पनि ध्वंश, विध्वंशको सहारा लिन खोजेका कम्युनिस्टहरुले विगतमा सडकपेटीका रेलिङदेखि टेलिफोन बुथहरुसमेत तोडफोड, आगजनी र ध्वंश गरेको नेपाली स्मृतिमै होला । सत्र हजार निहत्था नागरिक मार्ने कृत्य पनि कम्युनिस्टले नै गरेको जनताको सम्झना ताजै हुनुपर्छ । यिनैले झन्डै यति नै संख्याका नागरिक अंगभंग, अपाङता भएका बनाए । दुई हजारभन्दा बढी बेपत्ता ।
यस्ता हिंसक कृत्यहरुले राष्ट्रमा पुर्याएको अपूरणीय क्षतिको हरहिसाब कसले, कहिले गर्ने ? उपलब्धि शून्य, क्षति अपूरणीय ।
निश्चय पनि यसको हरहिसाब जनताले गर्ने हो । यस्तो खेदजनक कुरामा समेत जनता धेरै बहकिएका र बहकाइएका छन् । जनताले पनि बुझ्ने प्रयत्न गर्नुपर्छ ।
अब बुझ्नुपर्छ र कम्युनिस्ट कृत्यको मूल्य देशका लागि कति चर्को भयो, कति क्षति गर्यो वा यस्ता कृत्यको उपलब्धि के रह्यो ? यस्ता प्रश्नमा अब त नेपाली नागरिकले निश्चय नै सोच्ने छन्, सोध्ने छन् । जनताले नै विकास विरोधी कृत्य प्रवृत्तिलाई सधैँका लागि परास्त गर्न सक्छन् र गर्नुपर्ने बेला पनि आएको छ ।
करिब सात दशकको नेपालको कम्युनिस्ट गतिविधिमा प्रवृत्तिको पदार्पण त उस्तै नै हो । तर २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछिको कम्युनिस्ट दलहरुको भूमिकालाई जनताले सचेत मनले एकपटक पुनः सचित्र सम्झना गरुन् । कतै भेटिँदैन यिनले निर्वाह गरेको सुखद र सफल भूमिका ।
कम्युनिस्ट नेतृत्वमा प्रायः सधैँ ‘खलपात्रहरु’ प्रभावी भएका छन् । पुष्पलाल ‘गद्धार’ घोषित भए कम्युनिस्टबाटै । मनमोहन अधिकारी किनाराकृत निस्प्रभावी बनाइए । मदन भण्डारीको असामयिक निधन भयो । त्यसपछि उदय के, कस्ताको भयो ? हेरे पुग्छ ।
प्रस्ताव नेपाली नागरिक समक्ष हो नै । थप, झापादेखि रोल्पा, रुकुम र काठमाडौंदेखि सहरबजारमा गरेका काम, कृत्यको फर्किएर कम्युनिस्ट दल वा यिनका भित्रिया बुद्धिजीवीले समीक्षा गरुन् । राजनीतिमा, संस्कृति, संस्कार र भाषा प्रस्तुति वा विकास पथमा घोलेको विषलाई स्वयं पर्गेलेर हेरुन् र आत्मसमीक्षा गरुन् । स्वयं कम्युनिस्टहरुले पनि आफ्ना कामको परिणाम निराशाजनक नै भेट्ने छन् । आफूलाई समाधान होइन, समस्याको रुपमा बुझ्ने छन् । किनभने भूमिका, काम र प्रवृत्तिको परिणाम नै त्यस्तै छ ।
हरेक कारणले मुलुकमा थपिँदो अत्यन्त जटिल समस्याको समाधान कुन दल र कसले देला ? नागरिकले राजनीतिका धेरै पात्र, प्रवृत्तिको परीक्षण र अनुभव गरे । सबै दल र नेतृत्वप्रति जन सन्तुष्टि र विश्वसनीयता कमजोर छ । तैपनि सचेत समाजको विश्वास अलि बढी नेपाली कांग्रेसप्रति देखिएको छ ।
विकास, शान्ति र स्वतन्त्रता पक्षधर नागरिक समाजको ठूलो हिस्सा कम्युनिस्ट कृत्यदेखि वाक्क दिक्क भइसकेको छ । यही कारण जनताको भरोसा नेपाली कांगे्रसप्रति खिचिनु स्वाभाविक भएको हो । खराबहरुकाबीच कम खराब कांग्रेस मानिएको छ । यसमा ऐतिहासिक कारण पनि छन् ।
नेपाली कांग्रेसले आधुनिक परिवर्तन वा क्रान्तिका प्रत्येक चरणमा अग्रणी नेतृत्व दिएको छ । अब पनि देला भन्ने विश्वास यही कारण हो । कांग्रेसले नै शान्ति प्रक्रिया वा स्थापनाको नेतृत्व पनि लिएको हो । विशिष्ट विषयमा जे बोलेको छ अन्ततः त्यसैमा अडिएको छ कांग्रेस र लोकतान्त्रिक आदर्शबाट कहिले विचलित छैन ।
जहानिया शासनको कुरा भएन । तर, सात सालदेखि सुरु आधुनिक नेपालको प्रजातान्त्रिक यात्रा इतिहास अलोकतान्त्रिक तत्त्वको प्रहार निसानामा छ । कांग्रेसले स्थापनाकालदेखि अहिलेसम्म अलोकतान्त्रिक वैचारिकीहरुलाई लोकतान्त्रिक बनाउन धेरै श्रम, समय र संयम लगानी गरेको दुनियाँलाई थाहा छ ।
यिनै ऐतिहासिक योगका कारण नै दुनियाँ र सचेत जनताले अहिले पनि कांग्रेसतिर फर्किएर भरोसा गर्ने स्थिति बनेको हो । फरक अहिलेको कांग्रेस नेतृत्व, दल र संगठनले ऐतिहासिक अभिभारा वा भरोसा थेग्न सक्छ कि सक्दैन भन्ने प्रश्न भने छ । सकेन भने आउने परिणाम ? भयावह हुनेछ । जटिलता थपिँदो भूराजनीतिक स्पर्धाले बढाएकै छ ।
देशलाई अप्रजातान्त्रिक तागतको रणमैदान हुनबाट जोगाउन प्रजातन्त्रवादीहरु सचेत, सक्रिय र सम्बद्ध हुन आवश्यक भइसकेको छ । कांग्रेस वा अमुक कुनै दललाई मात्र प्रजातन्त्रको रक्षा, विकासको गति र राष्ट्रिय अस्मिताको सम्बद्र्धन गर्ने जिम्मा सुम्पिएर प्रजातन्त्रवादीहरु ढुक्कले सुत्ने परिस्थिति छैन ।