बन्दको आह्वान शान्तिपूर्ण विरोध प्रदर्शनको अन्तिम उपाय हो । अरू उपाय हुँदासम्म बन्दको आह्वान गर्नु उचित मानिदैन । बन्द गराउन बल प्रयोग गरेमा त्यसको औचित्य नै समाप्त हुन्छ ।
नेपालमा भने बन्दलाई निकै सस्तो बनाइयो । विशेषगरी कम्युनिस्टहरूले विरोध भनेकै बन्दमात्र हो भन्ने छाप जनमानसमा पारेका छन् । यसैले त सडक दुर्घटनामा समेत राजमार्ग बन्द गरेर विरोध प्रकट गर्ने परम्परा नै भइसकेको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेसनको अमेरिकी अनुदान सहयोग लिँदा ‘राष्ट्रघात’ हुन्छ भन्दै नेपालका कम्युनिस्टहरू अहिले सडकमा विरोध प्रदर्शनमा उत्रेका छन् । यतिन्जेल उनीहरूको विरोध प्रदर्शन शान्तिपूर्ण नै रहेको थियो ।
यसैबीच उनीहरूले बुधवारका एमसीसीका विरोधमा नेपाल बन्दको आह्वान गरेका थिए । बन्दको आह्वानकर्ताहरूले बन्द गराउन जबर्जस्ती गर्न थालेपछि प्रहरीसँग झडप भएको छ र केहीलाई प्रहरीले पक्रेको पनि छ ।
नागरिक अवज्ञाका कारण बन्द लगभग प्रभावहीन रह्यो । यद्यपि, लामो दूरीको यातायात, कारखाना र विद्यालयहरूमा बन्दको आंशिक प्रभाव परेको छ । तोडफोड र सार्वजनिक सम्पत्तिको क्षति भएको समाचार भने आएको छैन ।
यसो त, एमसीसीजस्तो अनुदान सहयोगको विरोधमा गरिएको आन्दोलन नै देशका लागि प्रत्युत्पादक हुन्छ । त्यसमा पनि जनसमर्थन जुटाउने प्रयोजनमा पूरै विफल देखिएको बन्दले राष्ट्रिय क्षति बढाउनेमात्र हो ।
अहिले त कुनै विषयमा जनसमर्थन जुटाउन नभएर बन्दको आह्वान जनाधार नभएकाहरूले राजनीतिक अस्तित्व देखाउने सजिलो उपाय पो बन्न पुगेको छ । सायद यही कारणले खुद्रा कम्युनिस्ट घटकहरूले बन्दको आह्वान गर्दै आएका होलान् ।
यसपटकको बन्दबाट पनि देशको नोक्सान त भयो नै बन्द आह्वान गर्नेहरूप्रति जनतामा वितृष्णा पनि उत्पन्न भएको छ । अर्थात्, बन्दका प्रायोजक र आयोजक कसैको पनि अभीष्ट पूरा भएन ।
यसैले आफ्नो राजनीतिक अस्तित्व देखाउन जनतालाई सास्ती कटाउने दुष्ट्याइँ गर्न राजनीतिक नेताहरू छाड्नु उचित हुनेछ । अन्यथा, नेपाली जनताले नै नेताहरूको बन्दको निन्दनीय बानी छुटाउन अवज्ञा तथा प्रतिकार गर्नुपर्छ ।
जनताको भयदोहन गर्नेहरूको समाजमा औचित्य र आवश्यकता हुँदैन ।