नेपालकाे राजनीतिक इतिहासमा गरिब, मजदुर, किसानको नाममा राजनीति गरेकाे ठान्ने कम्युनिस्ट कार्यकर्ताहरू सधैँ अरू नै प्रयाेजनमा प्रयोगमात्र भएका छन् ।
सामन्तवाद, विस्तारवाद र साम्राज्यवादविरुद्ध घोषणापत्र छाप्ने, लामालामा भाषण गर्ने तर अन्ततः तिनै समान्तवादी, विस्तारवादी र साम्राज्यवादीको माेहाेरा भइरहने नेपालका कम्युनिस्टहरूकाे चरित्र बनेकाे छ ।
तिनका नेता, गुरु विदेशी, मार्गदर्शक सिद्धान्त विदेशबाटै आयातित तर राष्ट्र, सेना, अदालत सबै सामन्तीहरुले मजदुरलाई शोषण गर्न बनाएको राज्यसंयन्त्र भन्दै अन्तर्राष्ट्रियताको वकलात गर्ने तर नेपाली जनतालाई उग्र ‘राष्ट्रवाद’ को नाममा ठगिरहेका कम्युनिस्ट नेताहरू आफूलाई नेपाली राष्ट्रवादका ठेकेदार ठान्छन् !
कहिले पञ्चायत, कहिले भारत र आज अहिले चीनबाट प्रयोग भइरहेका नेपालका कम्युनिस्टहरुको यथार्थमा कुनै सिद्धान्त, अडान र नैतिकता भेटिँदैन । पञ्चहरूले नेपालमा बहुदलीय प्रजातन्त्रिक व्यवस्था रोक्न यिनै कम्युनिस्टलाई प्रयोग गरेका थिए ।
विडम्बना, सामान्तवादको अन्त्य गर्ने घाेषित सिद्धान्त भएका कम्युनिस्टहरु सधैँ नै नेपालका सामन्तीहरूबाट पालिएका छन् । सर्वहाराको राज्यसत्ताको स्थापनाको लागि विस्तारवादी भारत भूमिबाट सामन्तवाद, विस्तारवाद र साम्राज्यवादविरुद्धको कथित ‘जनयुद्ध’ सञ्चालन भएकाे थियो ।
परिणाममा त्यस १० वर्षीय कथित ‘जनयुद्ध’को ‘महान्’ मोर्चाबाट नेपाललाई आर्थिकरुपमा कंगाल बनाइयो भने १७ हजार नेपालीकाे ज्यान लिइयाे । अन्ततः तिनै विस्तारवादीले ‘जनयुद्ध’लाई १२ बुँदे डोरीले पाता कसेर नेपालतिरै धपाइदिए ।
जसको विरुद्ध आन्दोलनको घोषणा हुन्छ उसकै दौराको फेर समाएर उनीहरुकै आडभरोसामा हिँड्ने अनि उल्टै सर्वहाराको राज्यसत्ता स्थापनाको लागि सामान्तवादी, विस्तारवादी, साम्राज्यवादीहरुलाई प्रयोग गरेको उट्पट्याङ भाषणह कार्यकर्तालाई सुनाउने कम्युनिस्ट नेताले गरिरहेकाछन् । यसमा सबभन्दा माहिर भने कमरेड दाहाल नै हुन् । यी सबै हतकन्डा न त देशको विकासको लागि भयो न राष्ट्रियताका लागि । याे न सर्वहाराको उत्थानको लागि नै थियो । थियाे त सत्ता र शक्तिको लागि ।
जसरी होस्, जस्तो सुकै नैतिकता, सिद्धान्त दाउमा परुन् तर एकचोटी नेता भएपछि न पार्टी छोड्ने न सत्ता र शक्ति हात लागेपछि सत्ता र शक्ति नै छोड्ने । अनि मुखमा भने सधैँ सर्वहारा र गरिबको नामाेच्चारण गरी रहने ।
नेपालको आर्थिक विकास, भौतिक पूर्वाधारकाे विकास र नेपालीको समृद्धि कसरी र कहाँबाट भनेर कुनै बहस नगर्ने यिनीहरु अहिले नेपाली राष्ट्रवादको नाममा चिनियाँ हितको वकालत गरिरहेकाछन् ।
देशको आर्थिक विकासका ठूला ठूला परियोजना, सम्भावना जब आउँछ कहिले विस्तारवाद त कहिले साम्राज्यवादको ढ्याङ्ग्रो ठोक्ने र ती परियोजनाहरुलाई तुहाउने त यिनकाे इतिहासै छ ।
यसको सुरु नेपाली कम्युनिस्टहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा “भारत नेपाल छिरेर कब्जा गर्छ’ भनेर निर्माणस्थलमा सुतेर विरोध गरेबाटै भएकाे हाे र आज यो क्रम अरुणजस्ता थुप्रै आयोजना हुँदै एमसीसीमा आइपुगेकोछ ।
देश भँड्खालोमा जाक्कियोस् कुनै चिन्ता छैन, चीनलाई अमेरिकाले घेर्ने भयो भन्ने चीनलाई भन्दा बढी चिन्ता छ । चीनसँग रणनीतिक लाडाइँको लागि नेपाललाई प्रयोग गर्ने भयो भन्ने चिन्ता छ ।
बिचरा चित्रबहादुर केसीकाे तर्क छ -‘अमेरिकाले नेपाललाई पैसा लिन यत्रो जोड गरेकोले झन् प्रष्ट भयो एमसीसी चीन विरोधी हो ।’
साथी भन्ने नेपाली शब्द नरुचाउने, विदेशी शब्द कमरेड मनपर्ने बिचरा नेपाली कमरेडहरुको चीनको चिन्ता पनि गजबकै छ । कतै यो चिन्ताले भविष्यमा नेपालको विकासको बाटोमा भयंकर ‘ब्ल्याक होल’ त बन्दैन ?
वैचारिकरूपमा सिद्धान्तहीन, व्यावहारिक रुपमा नीतिहीन र भ्रष्ट आचरणका नव धनाड्य नेपाली कम्युनिस्टहरु आउँदो चुनावमा यही एमसीसीको राष्ट्रवादी जल छर्केर दुईचार सिट जित्न नेपाललाई अपत्यारिलो र अविश्वनीय राष्ट्रको रुपमा विश्व मानचित्रमा स्थापित गराउने प्रयास गर्दैछन् ।
एमसीसीलाई ‘राष्ट्रघात’को रूपमा उभ्याएका दाहाललाई अहिले यो नै घाँडो भएको अनुमान गर्न सकिन्छ ।
एमसीसीलाई सहयोग गरौँ चिनियाँबाट पाएको पहिलो चुनावको खर्चको गुन तिर्न नसकिने र आउँदो चुनाव खर्च नपाउने खतरा पो हो कि ?
अर्कोतिर कार्यकर्तालाई केपी ओलीलाई हटाउन र अमेरिकालाई झुक्याउनमात्र अमेरिकालाई म्याद मागेको भनेर ढाँटेको छ । गाँउमा अब तिनै कार्यकर्ताले भाटाले हान्लान् भन्ने चिन्ता !
यता अमेरिकालाई हालेको बिन्तीपत्रको म्याद सकिन लागेको, अर्को म्याद माग्दा नमानेपछि गठबन्धन धराप पर्ने र आउँदो चुनावबाट भारतीय कम्युनिस्ट पार्टीहरूजस्तो १-२ सिटमा खुइलिनुपर्ने डर ।
अन्त्यमा, सत्ता र शक्तिको लागि सिद्धान्त, नैतिकता, इमानदारीलाई लिलाम गर्ने, सत्ता र शक्तिको लागि जोसुकैको मोहोरा बन्न तम्सने दाहालसँगको यो गठबन्धन अझै अगाडि बढ्नु कुनै दृष्टिबाट पनि नेपालको हितमा देखिँदैन ।
त्यसमा पनि नेपालको प्रजातन्त्रिक आन्दोलन, लोकतान्त्रिक संविधानको सुरक्षा, अन्तर्राष्ट्रिय भाइचारा र सद्भावको लागि पनि यो गठबन्धन बाधक हुनेछ ।
नेपाली कांग्रेसजस्तो प्रजातन्त्रको पहरेदार र एकमात्र विश्व समुदायको विश्वासपात्र पार्टी अर्को धोकाबाट जोगिन पनि समयमै यो गठबन्धन अन्त्य हुनुपर्छ ।