जनकपुरधाम । दुई दशकअघि गंगासागर पोखरीको दक्षिणतर्फको सडक झाडी र फोहरले भरिभराउ हुन्थ्यो । मानिस त्यो बाटो भएर हिँड्न डराउँथे । कुकुरले टोक्नेलगायत डर हुन्थ्यो । सुनसान त्यही सडकको छेउमा आर्यघाट थियो ।
०५८ सालमा जनकपुरधाम उपमहानगरपालिका–४ का पवन सिंघानिया छिमेकीको दाहसंस्कारका लागि त्यहाँ पुगे । “बुवा बिरामी हुनुहुन्थ्यो अनि मलाई मलामी पठाउनुभयो,” उनले विगत सम्झँदै भने, ‘करिब तीन घण्टा त्यहाँ बिताएँ । निकै गाह्रो भयो । त्यो ठाउँलाई लिएर मनमा अनेक कुरा आउन थाल्यो ।”
जताततै फोहर, झाडी र दुर्गन्ध देखेर उनी दुःखित भए । साँझ घर फर्के । “त्यही रात मैले प्रण गरेँ, त्यो ठाउँलाई सफा, सुन्दर र हरियाली बनाउनुपर्छ,” उनी स्मरण गर्छन्, “मानिसको अन्तिम संस्कार पनि सफा ठाउँमा हुनुपर्ने मेरो उद्देश्य थियो ।”
भोलिपल्ट केही साथीसमक्ष सिंघानियाले आफ्नो योजना सुनाए । व्यापारिक घरानाका उनको कुरा कतिपयले पत्याएनन् । कतिपय साथीले गलत बाटोमा लाग्न लागेको भन्दै त्यसो नगर्न सुझाए । तर, उनी पछि हटेनन् ।
पागलको संज्ञा
सिंघानिया ‘स्वर्गद्वार’ निर्माणमा जुटे । योजना लिएर चन्दा माग्न जाँदा र योजनाबारे सुनाउँदा धेरैले आफूलाई पागल भन्ने गरेको उनी सुनाउँछन् ।
“सुरुवाती समयमा तीन/चारजना साथी मिलेर काम शुभारम्भ गर्यौँ । त्यही वर्ष फागुन १७ गते स्वर्गद्वार निर्माणको लागि शिलान्यास भयो,” उनले भने, “सुरुवाती समयमा मेरो योजना सुनेर गिज्याउने साथीहरूले पछि–पछि सहयोग गर्न थाले ।”
राजनीतिक दलले पनि त्यो काम रोक्न प्रयास गरेको उनको दाबी छ ।
शवदाहस्थलमा रमणीय पार्क
शवदाहस्थलमा रमणीय पार्क भन्दा धेरैलाई अपत्यारो लाग्न सक्छ । तर, जनकपुरधाम उपमहानगरपालिका–४ स्थित ‘स्वर्गद्वार’को मुख्य विशेषता नै यही हो । जहाँ एकातर्फ मानिसको मृत्युपछि दाहसंस्कार भइरहेको हुन्छ भने अर्कोतर्फ अरू मानिस पार्कमा रमाइरहेका हुन्छन् ।
सिंघानियाको अग्रसरतामा अहिले त्यो ठाउँ चिटिक्क पारिएको छ । रंगीचंगी फूलले सजाइएको छ । बोट–बिरुवा रोपिएको छ । कालभैरव र भूतनाथको मन्दिर बनाइएको छ । भगवान् महादेव र पार्वतीको प्रतिमा पनि छ ।
परिसरभित्रै एकातर्फ रमणीय पार्क छ । अर्कोतर्फ शवदाह गर्ने ठाउँ र शवदाहकै लागि टिनको छानो भएको भवन छ । त्यो ठाउँलाई धरतीको ‘स्वर्गद्वार’ नामकरण गरिएको छ ।
‘स्वर्गद्वार पार्ट–२’
०५८ फागुन १७ गते ‘स्वर्गद्वार’ शिलान्यास गरिएको थियो । ‘स्वर्गद्वार’ निर्माण अभियान २०औँ वर्षमा प्रवेश गरिसक्यो । अहिले ‘स्वर्गद्वार पार्ट–२’ को निर्माण पनि ५० प्रतिशत सम्पन्न भइसकेको छ । पार्ट–२ मा बालबालिकाको शव गाड्ने स्थान बनाउन लागिएको छ ।
३४५ फिट लम्बाइ र १२५ फिट चौडाइ क्षेत्रफलमा ‘स्वर्गद्वार’ रहेको छ । करिब सोही क्षेत्रफलको हाराहारीमा पार्ट–२ निर्माण भइरहेको छ । स्वर्गद्वार निर्माणमा अढाई करोड रुपैयाँ लागत लागेको सिंघानिया बताउँछन् । उनका अनुसार ४० लाखबाहेक सबै दाताले दिएको सहयोग रकमबाट उक्त स्थल बनाइएको हो । पार्ट–२ मा करिब डेढ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
डेटिङ स्पोट
किशोरकिशोरी र युवायुवतीमाझ अहिले त्यो ठाउँ डेटिङ स्पोटका रूपमा परिचित छ । फुर्सदको समयमा जुनसुकै उमेरका मानिस त्यहाँ घुम्न जाने गरेका छन् । साथीहरूसँग भेटघाट गर्न पनि मुख्य रोजाइमा त्यही ठाउँ पर्ने गरेको छ ।
पर्यटकको मुख्य रोजाइ
व्यवस्थित बगैँचा, मन्दिर र सजावटले यहाँ पर्यटकलाई आकर्षण गर्ने गरेको छ । जनकपुर आउने अधिकांश पर्यटक स्वर्गद्वार पुग्ने गरेको आफूले पाएको होटेल व्यवसायी अभिषेश झुन्झुनवला बताउँछन् । उनका अनुसार जानकी मन्दिरपछि स्वर्गद्वार र गगांसागर नै पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।