नेपालमा जुन तवरले प्रकृतिको दोहन भइरहेको छ सो कायमै रहेमा अबको पचासदेखि सय वर्षमा नेपाल बाढी–पहिरोको समस्या भोग्ने देशमा विश्वकै पहिलो हुन्छ । नेपालका हिमशिखरहरू काला ढुंगाका पहाड बन्छन् र नदीहरू खहरे र बगरमा परिणत हुनेछन् । अर्थात् पानी पर्दा ठूलो बाढी ल्याउने खहरे अनि सुख्खा समयमा बगरमा परिणत हुनेछन् । मौसम परिवर्तन तथा ग्लोबल वार्मिङ्को अहिलेको अवस्थामा परिवर्तन ल्याउनका लागि नेपाल आफैँले मात्र धेरै योगदान गर्न सम्भव छैन । तर, नेपालले आफ्नो आन्तरिक इकोसिष्टम जोगाउन केही गरेन भने विश्वकै वातावरण विनाशको दर अझ बढेर जाने कुरामा शंका छैन । नेपालका अग्ला हिमालमा वातावरण परिवर्तनका प्रभावहरू संसारलेनै निगरानी गरेर बसेका छन् ।
नेपालको वातावरण परिवर्तनका लागि अन्य धेरै उपायहरू छन्, तर मुख्यतः हाम्रो आवास र अन्य संरचना निर्माणमा जुन प्रकारले रोडा, ढुंगा र बालुवाको प्रयोग भएको छ त्यसले भयावह अवस्था सिर्जना गर्दैछ । केही करोड रुपैयाँ कमाएर नेपालबाट विदेशमा पलायन हुने सोच राख्ने वा आफ्ना सन्तानलाई विदेशमा पुर्याउने कैयौं नेपालीहरू अहिले नेपालको प्राकृतिक सम्पदा सिध्याउन लागि परेका छन् । हुनत सबैजसो देशले आफ्नो प्राकृतिक सम्पदाको उपयोग गरेर आफ्नो आर्थिक अवस्था सुधारेका छन् । तर, नेपालको सम्पदा पुनप्र्रयोग हुँदैन, प्रकृतिले रोडा, ढुंगा र बालुवा सहजै बनाउन सक्दैन । त्यसैले अहिले मूलतः रोडा, ढुंगा र बालुवाको विदेश निकास रोक्ने र आन्तरिक प्रयोगमा कमी गर्ने सुस्पष्ट निर्णय लागु गरेर कडाइका साथ पालना गराउनु पर्ने अवस्था देखिएको छ ।
देशको कुनै पनि भागबाट काठमाडौं प्रवेश गर्ने सडकहरूमा ढुंगा र बालुवा बोकेर रातभर गुडेका ट्रकहरूको भयावहता महशुस गर्न मध्यरातमा ति बाटो अवलोकन गर्नैपर्छ । देशभरी चुरे क्षेत्रको दोहन गरेर सिमापारी ढुंगा–बालुवा ओसारेको देख्दा चुपचाप बस्ने स्थानीय सरकारका प्रतिनिधिहरू र संघीय सरकारको चाला देख्दा वातावरणप्रति सचेत जो कोहीको मन चसक्क घोच्छ । त्यसैले पहिले सरकारी कानुन र नियम विपरीतको ढुंगा–बालुवाको निकासी सशक्त ढंगले रोक्नु पर्दछ । त्यस्तै देशभर कंक्रिटका घर ठड्याउने जुन चलन चलेको छ त्यसलाई निरुत्साहित गरिनु अत्यन्त जरुरी भएको छ । विदेश गएर आएका जो कोहीलाई पनि थाहा छ त्यहाँका मझौला स्तरसम्मका सबै घर काठका हुन्छन् र ठूला घर मुख्यतः फलामका हुन्छन् । नेपालले आफ्नै रुख प्रयोग गरेर घरहरू बनाउनका लागि प्रोत्साहन गर्नु पर्दछ । रुख प्रयोग गर्दा हरियाली नाश हुने तर्क गर्ने पनि धेरै होलान् तर रुख रोप्ने जमिन खनेर ढुंगा माटो निकाल्नुभन्दा रुखको प्रयोग गरेर सो स्थानमा केही वर्षमा अर्को रुख आउने अवस्था बनाउनु धेरै लाभदायक हुन्छ । नेपालमा ढुंगा र कंक्रिटको घर बनाउन थालेको धेरै वर्ष भएको छैन । यस्तो संरचनालाई निरुत्साहित गरेर काष्ठ सामग्री प्रयोग गरेर आधुनिक बस्ती विकास गरिनु पर्दछ । अमेरिका, अष्ट्रेलिया जस्ता देशमा काठका घर र कागजका भित्ता भएर पनि जीवनयापन अत्यन्त सुखद नै छ । हामी पनि बेलैमा सचेत होऔं ।