site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
एमसीसी संसद्मा छलफल गराऊ

वैदेशिक सहयोगका विषयमा यसपटकजस्तो विवाद सम्भवतः पहिले कहिल्यै भएको थिएन । अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टको अनुदान सहयोग लिने विषयमा अति बहस र विवाद भएको छ । यस्तो विवाद पहिलोपटक सुनिएको हो । तर, बहस र छलफल हुनुपर्ने संसद्मा विषय प्रवेशलाई रोकेर सडकमा भ्रम मौलाउने अवसर लाग्छ, नियोजित रूपमै दिइएको छ । संसद्, सांसदप्रतिको विश्वासको हुर्मत लिइएको छ ।

एमसीसी विवाद हुनैपर्ने विषय हो कि, अमेरिकी अनुदान भएकोले विवाद झिक्नैपर्ने विषय बनाइएको हो ? बहस र विवादमा दिइएका तर्कहरू हेर्दा, सुन्दा एमसीसीलाई विवाद गर्नैपर्ने, झिक्नैपर्ने बनाइएको स्पष्टै बुझिन्छ । कसलाई यस्तो विवाद गर्न परेको हो, किन ?

विवाद निकाल्नेहरूको राजनीतिक पृष्ठभूमि, विकास अवधारणा वा सामाजिक र सांस्कृतिक मान्यतालाई नियाल्ने हो भने यिनीहरू एउटै पृष्ठभूमि र अवधारणाका पाइन्छन् । स्पष्टभन्दा झुन्डझुन्डमा बाँडिए, बाँडिएका अधिनायकवादी सोचका कम्युनिस्टहरू र यिनका विभिन्न अनुहार आकारका पछुवाहरू एमसीसीको विरोध गर्नैपर्ने बाध्यतामा देखिन्छन् ।

KFC Island Ad
NIC Asia

यिनीहरू प्रजातन्त्रको सुदृढीकरण, नागरिक स्वतन्त्रता र विकासविरुद्ध निर्देशित भएकाले प्रजातान्त्रिक मुलुक अमेरिकाको सहयोग अनुदान यिनको लागि अपाच्य भएको हुनुपर्छ । बरु, विकासै नहोस् तर प्रजातान्त्रिक मुलुकको सहयोग नआओस् भन्ने यस्ता तत्वको निहित उद्देश्य हो ।

नेपालको हितैषी राष्ट्र अमेरिकासँग नेपालले सत्तरी वर्षभन्दा लामो अवधिदेखि सहकार्य गर्दै, सहयोग लिँदै आएको हो । कम्युनिस्टहरूले त्यति बेला कुनै विरोध गरेका थिएनन् । एमसीसीको गरे, केही कारण भएर हो कि ? कारण छ । अरू कारणमा विवेचना हुँदै गर्ला, तर कम्युनिस्टहरू यसअघि नाम मात्रका थिए, दुर्बल थिए । अहिले पोषित बलशाली भएका छन् ।

Royal Enfield Island Ad

नेपाल भूअवस्थितिको बनोटले चेपुवामा छ । पूर्व, पश्चिम र दक्षिण भारतवेष्टित र केही खण्डबाहेक उत्तर लमतन्न सीमा चीनको तिब्बतसँग जोडिएको छ । भूगोलमा पनि विशालकाय उत्तर, दक्षिण हाम्रा दुवै छिमेकी विश्वशक्ति स्पर्धाको मैदानका खेलाडी हुन् । यी दुवै मुलुकले नेपाललाई आफ्नो अपेक्षाको रेखामा हिँडाउन खोज्नु हाम्रा लागि अनिच्छित भए पनि उनीहरूलाई स्वाभाविक लाग्न सक्छ ।

एमसीसीको विषयमा भारतको चासो र चिन्ता बुझिने गरी सार्वजनिक भएको छैन । तर, चीनको चिन्ताचाहिँ नेपालका कम्युनिस्ट र चिनियाँ ‘लमी’मार्फत पटक–पटक जाहेर भएकै छ । हाम्रो ध्येय हुनुपर्ने त अरूको अहित गर्ने होइन, आफ्नो हित हेर्ने हो । तर, यता प्रकट भएको छ आफ्नो हित गौण ठान्ने उल्टो सोच ।

विश्वशक्ति हुन तम्सिएको वा विश्वव्यवस्थालाई प्रभावित र निर्देशित गर्न चाहेको चीनले विश्वशक्ति अमेरिकाको यस क्षेत्रमा उपस्थिति नहोस् भन्ने ठान्न थालेको देखिएको छ । त्यही सोचाइको प्रतिच्छाया एमसीसीको विरोधमा पनि परेको बुझिन्छ ।

चिनियाँ चासो र चिन्ताको ताजा उदाहरण अस्ति भर्खर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग त्यहाँको अन्तर्राष्ट्रिय मामिला हेर्ने प्रतिनिधिले गरेको भर्चुअल वार्ता हो । वार्ता एमसीसीलक्षित रहेको दाबा कूटनीतिक क्षेत्रका ज्ञाताहरूको छ । दुवैतिरको मौनले यस दाबीलाई पुष्टि गरेको छ ।

विश्वदादा हुन दौडिएको चीनले यस क्षेत्रमा आफ्नो निर्बाध पकड जमाउन खोज्नु उसको लागि शक्ति सामर्थ्यको विश्व पहिचानको अंश होला । यस विषयमा भारतको मनसाय पनि खुलस्त छैन । तर, स्पष्ट के छ भने भारत नेपाललाई आफ्नै सुरक्षा सीमाभित्र देख्न चाहने इस्ट इन्डिया कम्पनी (सरकार)वा नेहरू ‘डक्ट्रिन’बाट माथि उठेको भने देखिएको छैन ।

प्रश्न, अमेरिकी सहयोगको सत्तरी वर्षमा किन विरोध भएन ? यसको उत्तर चिनियाँ शक्तिसँगै खोजिनुपर्ने एक गहन कारण छ । यसअघि चीनको वैदेशिक नीति नदेखिने, नसुनिने र मौन थियो । भनिन्थ्यो, चीन मौन कूटनीतिक मार्ग अवलम्बन गर्छ । के आजको विश्वशक्ति स्पर्धामा रहेको चीन मौन कूटनीतिकै मार्गमा छ त ? निश्चय पनि छैन । ऊ अब मुखर छ, खासगरी सी चिनफिङको सत्तारोहणपछि ।

चीनले राजनीतिक, आर्थिक र सामरिक प्रतिस्पर्धा र प्रतिरोध अहिले खासगरी कोसँग गरिरहेको छ ? पहिलो अमेरिकासँग, उत्तर सतहमै छ । यही स्पर्धाको दुष्प्रभाव नेपालले पाउने विकास सहयोगको विरोधमा प्रत्युत्पन्न गरिएको हो । अमेरिकाले पनि नेपाल आफ्नो सद्भाव र सहयोगमा रहोस् भन्ने चाहनु अन्यथा होइन ।

भन्ने, नभन्ने वा भन्न डराउने र राजनीतिक लाभहानिको हिसाब राखेर बोल्ने वा छिमेकी मित्रसँग कूटनीतिक भाषा व्यक्त गर्ने ज–जसका जे बाध्यता र सोच होलान्, होलान् । तर, निर्भीक विश्लेषणात्मक दृष्टिमा एमसीसीको विषयमा उछालिएको विरोध वा द्वैध व्यवहारको कारण यही नै हो ।

अर्थवित्तविज्ञका अनुसार नेपाल, नेपालीको विकास वैदेशिक सहयोगमा निर्भर छ । यो अवस्था नेपालको मात्रै होइन, चीन र भारतमा पनि अमेरिकी वा अन्य मुलुकको लगानीले उत्पादन, उपादकत्व र रोजगारीसमेत प्रविधि विकासको उल्लेख्य विस्तार भएको तथ्यांक दिइन्छ ।

राष्ट्रको शक्ति वा देशभक्ति फक्रने आधार के हो ? एमसीसीको विरोधमा राष्ट्रवादको नारा लगाउनेले उत्तर दिनुपर्छ । हामीले चाहिँ बुझेको राष्ट्रवाद भूगोलभित्र सक्षम, सम्पन्न वा समृद्ध र आत्मनिर्भर नागरिक, जनता नै नेपाली राष्ट्रियताका धरोहर हुन्, सबल राष्ट्र र देशका सम्बल हुन् । यी विषयमा एमसीसीले कतै घात गर्छ ?

अहिलेको वैश्विक परिवेश वा सहयोगको आदानप्रदान हुने खुला युग कम्युनिस्टहरूले कल्पना गरेको ‘बख्तरबन्द’ जस्तो छैन । आन्तरिक (निजी) र बाह्य लगानी नै विकास, रोजगारी र समृद्धिको आधार हो भन्ने प्रमाणित भइसकेको छ । ‘गिदी राख्ने ठाउँमा लिदी’ नराखी भन्दा विश्व व्यवस्था देख्दादेख्दै विपथ गमन देश, जनताको हितमा होइन भन्ने छर्लंग छ ।

निरीह जनता, परमुखापेक्षी अवस्था र तन्नम समाजले राष्ट्रको महत्तालाई कति आधार दिन सक्छ ? प्रायोजित, हिंसाचार वा सत्ता–सरकारमा पुगेर लुटले थुपारेको निजी धनको बलमिच्याइँमा जनतालाई सधैँ परनिर्भर राख्ने (विकासविरोधी) प्रयत्नले नेपाललाई अहिलेको दुर्गतिसम्म धकेलेको प्रस्टै छ । निर्णायक तहमा रहेका तर अतिमहत्त्वाकांक्षी नेता र दलको द्वैध चरित्रले मुलुकलाई पुर्‍याएको क्षतिको समीक्षा हुनै बाँकी छ ।

भनिन्छ, नेपालले अन्तर्राष्ट्रिय समुदाय वा निकायसँग गरेका आर्थिक सहयोग (ऋण, अनुदान)मा सबैभन्दा पारदर्शी सम्झौता एमसीसी नै हो । साथै, सबैभन्दा धेरै अनुदान रकम पनि । विभिन्न देश र दातृनिकायसँग भएका ऋण, अनुदान सहयोग सम्झौताको तुलनात्मक बुझाइ राखे पनि हुन्थ्यो नि विरोधीले ।

छिमेकी चीनकै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को मकसद अध्ययन गरे त्यहाँ पनि रणनीतिक विषय देखिन्थ्यो कि ? विज्ञहरूले नेपालको लागि बीआरआईको रणनीतिक योजना एमसीसीकै जस्तो विकास हो कि, के हो ? अब खोतल्नै पर्ने विषय बनेको छ ।

एमसीसी सहयोग नेपालले खासगरी दुई क्षेत्रमा खर्च गर्न स्वीकृत गरेको हो, बिजुली ट्रान्समिसनलाइन र सडक सुधार योजना । निर्णायक तहमा रहेका अहिलेका सबै नेता प्रधानमन्त्री भए र ती सबैले एमसीसीलाई अघि बढाउन यसअघि कहिल्यै व्यवधान गरेनन् । अहिले केहीमा विरोध वा द्वैध चरित्रले घर बनाएको छ ।

सडक सुधार र विस्तारको कुरा थाती राखेर बिजुली प्रसारणलाइनको कुरा गरौँ । यो प्रसारणलाइन खासगरी भारतसँग विद्युत् व्यापार गर्न हो । यो व्यापारको सम्भावना दशकभन्दा लामो छैन भनिँदै छ । भारत पनि यति बेला नेपालसँगको विद्युत् व्यापारमा लचिलो देखिँदै छ । बंगलादेशमा बिजुली बिक्री गर्न भारतले नै मार्ग दिनुपर्ने र त्यसका लागि राज्यस्तरीय पहल हुनसक्छ ।

भारत नवीकरणीय ऊर्जा विकासमा लागेको छ । वैज्ञानिकहरू सौर्यऊर्जा संग्रह (रिजर्भ प्लान) गर्ने उपाय र उपकरणको अध्ययन निर्माणमा जुटेका छन् । यति ठूलो फड्को मारेको वैज्ञानिक विकासले यसमा पनि अवश्य सफलता पाउनेछ ।

त्यसपछि भारत स्वयं उत्पादित ऊर्जा संग्रहबाट आफ्नो खाँचो पूर्ति गर्ने अवस्थामा पुग्नेछ । अनि, हाम्रा नदीनालाको स्रोत ऊर्जाले बजार नपाउन सक्छ । यस कारण समय छँदै विद्युत् व्यापारबाट विकासको आधार र मार्ग सुनिश्चित गर्ने हो । यसको लागि एमसीसी सहयोगीसिद्ध हुने देखिन्छ । यो खेर गए निकटमा यस्तो अर्को सहयोगको सम्भावना देखिँदैन ।

यस्तो पृष्ठभूमिबीच विकासविरोधीहरू एमसीसी परियोजनाको बाधक भएका छन् । यस विषयमा जनताको प्रतिनिधि थलो संसद् र सांसदबीच छलफल र परामर्श गर्न पनि कम्युनिस्टहरूले रोकेका छन् । रोक्ने मतिमा सभामुख अग्निप्रसाद सापकोटा अनधिकृत प्रयत्न गर्दै छन् ।

विषयलाई संसद्को विषय बनाउन रोकेर सभामुख सापकोटाले संसदीय प्रणाली, जनप्रतिनिधि सांसद् र स्वयं पदीय मर्यादा र गरिमाको अवमूल्यन गरेका छन् । जान्न पाउने जनताको स्वतन्त्रता र अधिकारको अपमान गरेका छन् ।

निर्णय संसद् र सांसदको विवेकमा सुम्पिनुपर्छ । त्यहाँ हुने छलफलबाट नागरिकले यथार्थ थाहा पाउने अधिकार छ । संसद् र सांसदप्रति विश्वास नगर्ने स्वयं सांसदबाट सभामुख बनेका सापकोटाको हैसियत कसरी निर्धारण हुन्छ ? सापकोटा संसद्को सभामुख कि नेकपा माओवादी केन्द्रको निर्देशित कार्यकर्ता ?

उपाय, एमसीसीलाई संसद्मा निर्वाध र खुला छलफलमा लानुपर्छ । दलहरूले आन्तरिक रूपमा जे निर्देश गरे पनि संसद्मा मतदान गरिने भए सबै सांसदलाई मतदान गर्ने स्वतन्त्रता दिए हुन्छ । कहीँ भ्रम छ र कसैको ‘फेस सेभिङ’को प्रश्न छ भने राष्ट्रियहितमा उपयोग हुने गरी एमसीसीलाई संसदीय स्वीकृति दिने निर्णय गरे पुग्छ ।

पारित हुने/नहुने अर्को चरण तर संसद्मा छलफल र बहसचाहिँ गराऊ । सभामुख हुन् वा नेकपा (एमाले) संसदीय प्रक्रियामा बाधक नबन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro