site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदेशी मुद्राको सञ्चिति १२ वर्ष यताकै न्युन, एक महिनामै शोधनान्तर घाटा ४६ अर्बले वृद्धि !

काठमाडौं । मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्रको सन्तुलन चुनौतीपूर्ण बन्दै गएको छ । घटेको रेमिट्यान्स र उच्च दरमा बढेको आयातले गर्दा अर्थतन्त्र नै असन्तुलित बन्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको सुरुको ६ महिनाको तथ्याङ्कको आधारमा तयार गरेको मुलुकमा आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले अर्थतन्त्रमा चुनौती बढ्दै गएको देखिएको छ । उच्च रुपमा बढेको शोधनान्तर घाटा र लगातार रुपमा घटिरहेको विदेशी विनिमय सञ्चितिले अर्थतन्त्रमा चुनौती बढ्दै गएको प्रष्ट हुन्छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले जारी गरेको प्रतिवेदनअनुसार ६ महिनामा मुलुकको शोधनान्तर घाटा (भुक्तानी सन्तुलन) डरलाग्दो गरी बढेको  छ । आर्थिक वर्षको ६ महिनामा शोधनान्तर घाटा २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा पुगेको राष्ट्र बैंकले जनाएको छ । जबकि मंसिर मसान्त अर्थात् ५ महिनामा १ खर्ब ९५ अर्ब १ करोड शोधनान्तर घाटा रहेको थियो । एक महिनामा नै शोधनान्तर घाटा ४६ अर्बले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा १ खर्ब २४ अर्ब ९२ करोड सोधनान्तर बचतमा थियो । चालु खाता घाटा झनै चुलिँदै गएको छ ।

र, चालु आर्थिक वर्षको ६ महिनामा चालु खाता ३ खर्ब ५४ अर्ब ७ करोडले घाटामा रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको यही अवधिमा चालु खाता ५१ अर्ब ६८ करोडले मात्रै घाटामा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति लगातार घट्नुको साथै शोधनान्तर घाटा चुलिँदै गएपछि आयात नियन्त्रण गर्न भन्दै पुसको पहिलो साता केही वस्तु आयात गर्न एलसी खोल्दा शतप्रतिशत र ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । तर त्यसको प्रभाव भने ब्यालेन्स अफ पेमेन्ट र विदेशी विनिमय सञ्चितिमा देखिन सकेन ।

विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत रेमिट्यान्स  हुन्डीतिर जाँदा गतवर्षको तुलनामा घटेको छ । तर आयातमा भएको उच्च वृद्धिले गर्दा लगातार मुलुकसँग भएको विदेशी मुद्रा बाहिरिएको छ । 

अर्कोतर्फ आयात गरिएको सोयाबिन र पाम तेलले नै भए पनि निर्यातमा वृद्धि भएको छ तर आयातको तुलनामा निर्यातको हिस्सा न्युन हुँदा ६ महिनाको व्यापार घाटा ४६.६ प्रतिशतले बढेर ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । 

यस्तै रेमिट्यान्स भने उक्त अवधिमा ५.५ प्रतिशतले घटेर ४ खर्ब ६८ अर्ब ४५ करोड रहेको छ । 

यस अवधिमा सरकारले उल्लेख्य मात्रामा वैदेशिक सहायता ल्याउन सकेको छैन । जसले गर्दा शोधनान्तर घाटा चुलिँदै गयो भने विदेशी मुद्राको सञ्चिति पनि ओरालो लागेको छ ।

राष्ट्र बैंकले भदौ पहिलो साता चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति कायम राख्ने लक्ष्य लिएको थियो । जुन लक्ष्य अब असम्भव बन्दै गएको छ । 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नहुँदै राष्ट्र बैंकको लक्ष्य भन्दा विदेशी मुद्राको सञ्चिति ओरालो लागिसकेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको आयातलाई आधार मान्दा पुस मसान्तसम्म बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ६.६ महिनाको वस्तु तथा सेवाको मात्रै आयात धान्न पर्याप्त हुने देखिएको छ ।

बजेटको अर्धवार्षिक समीक्षामा जुटेको सरकार र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा जुटेको नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको बाह्य क्षेत्रमा बढ्दै गएको समस्या रोक्न तत्कालको लागि अनावश्यक वस्तुको आयात रोक्ने  र दीर्घकालीन रुपमा आयात प्रतिस्थापन कसरी गर्ने भन्ने कुरामा ध्यान नदिने हो भने अर्थतन्त्रमा ठूलै समस्या देखिन सक्ने विज्ञको धारणा छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठ आर्थिक वर्ष २०६६–०६७ पछिकै विदेशी विनियम सञ्चिति पर्याप्तता सूचकांकको आधारमा तल्लो  बिन्दुमा झरेको बताउँछन् । 

त्यसबेला मुलुकसँग रहेको विदेशी मुद्राको सञ्चितिले ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्था रहेको  सञ्चिति पर्याप्तता सूचकांक अहिले ६.८ महिनाको आयात धान्नसक्ने अवस्थामा झरेको बताउँछन् ।

केही वस्तुको एसलीमा नगद मार्जिनको व्यवस्थाका बाबजुत पनि  आयातमा कन्ट्रोल हुन सकेको देखिएन । यद्यपी बुधबार मात्रै राष्ट्र बैंकले थप केही वस्तुको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।
 

 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro