जुन देशका माओवादी नेता भारत र अमेरिकाको हित सुरक्षाको प्रत्याभूति गर्दै औपचारिक पत्र लेख्छन्, लोकतान्त्रिक दलका नेता हँसिया–हथौडामा मतदान गर्न समर्थकलाई कर गर्छन्, बहुदलीय जनवादका अनुयायी लोकतन्त्र हडप्ने प्रपञ्च गर्छन् अनि मधेसको अधिकारका लागि लडनेहरू आफ्नै देशलाई नाकाबन्दी लगाउँदा ताली बजाउँछन्, त्यस देशका जनताले कुन राजनीतिक सिद्धान्त र आदर्शका आधारमा राजनीतिक दलप्रति आफ्नो आस्था जनाउने ? ‘मेरो हजुर बाले घ्यु खाएका थिए मेरो हात सुँघ’ भन्ने प्रकारको पुस्तैनी फलानो दलको नासो अनुयायी भएको कारण मतदान गर्ने चरित्रका कारण राजनीतिक दलहरूले आफ्ना अनुयायी र मतदातालाई बारम्बार धोका दिँदै आएका छन् । नेपाल जस्तो अत्यन्त सुन्दर र हर तरहको विविधताले सजिएको, मेहनति र इमान्दार देशका जनताले शिक्षा, स्वास्थ्य, खानेपानी, ढल, बाटो, सर–सफाई, स्वच्छ हावा जस्ता आधारभूत आवश्यकताका लागि सधैं संघर्ष गर्नुपर्ने किन ? हाम्रो शिक्षाको स्तर कमजोर, स्वास्थ्य महंगो, बाटोमा खाल्डो, पानीमा ढल, सरकारी काममा भ्रष्टाचार किन भयो त ? किनभने जनताले आफ्ना प्रतिनिधि सही ढंगले चुन्न सकेनौं । अब वैशाख ३० गते स्थानीय सरकारको निर्वाचन हुँदैछ । यसपल्ट गल्ती नगरौं । पाँच वर्षमा जनताले देश सुधार्न केवल एक पल्ट पाउँछन्, यसपल्ट अवसरको सदुपयोग गरौं ।
जनतामा राजनीतिक दलप्रतिको अतिभक्तिका कारण दलहरूले इमानदार, सक्षम, जनहितकारी, शिक्षित जनप्रतिनिधिलाई निर्वाचनको टिकट दिनुको सट्टा जसले पैसा बुझाउँछ, जो लाठी मुङ्ग्री गर्न सक्छ उसैलाई आफ्नो दलको तर्फबाट प्रत्यासी बनाउन थाले ।
विगतका निर्वाचनमा कुनै दलका प्रतिनिधिको भन्दा पनि गलत ढंगले पैसा कमाएका, स्थानीय गुण्डा, जनता–मारा व्यवसायी र प्रकृतिको अति दोहन गर्ने लालचीका बीच प्रतिस्पर्धा भयो र तिनैमध्ये कोहीले कुनै एक दलको नाममा विजय प्राप्त गरे । विगतको अनुभवले के देखायो भने अधिकांश स्थानमा स्थानीय सरकारका प्रतिनिधिले कुनै दलको सिद्धान्त अनुरुप चरित्र देखाएनन्, अनधिकृत रुपमा धन सोहोर्ने काममा फलानो दलका प्रतिनिधि कम वा बेसी भन्नसक्ने अवस्था बनाएनन् र जनहितका काममा बेवास्ता पनि बराबरै देखियो ।
त्यसैले अब २०७९ साल वैशाख ३० गते हुने स्थानीय सरकारको निर्वाचनमा मतदान गर्नुअघि मतदाताले फेरि पाँचवर्ष भ्रष्टाचारी र व्यभिचारी राजनीतिक नेताको रोहबरमा बस्नु नपर्ने गरी सोच बनाउनु पर्दछ ।
यदि दलको चुनाव चिह्नको मतलब नगरी इमान्दार, स्वच्छ छवि भएका र राजनीतिक लाभका लागि नैतिकतामा सम्झौता नगर्ने प्रकारका व्यक्तिहरूलाई स्थानीय निर्वाचनमा विजयी गराउने अठोट गरियो भने प्रदेशको निर्वाचन प्रतिनिधि छान्दा होस् वा संघीय प्रतिनिधि लाई टिकट दिँदा होस्, राजनीतिक दलले होस पुर्याउनुपर्ने हुन्छ । यदि यसपल्ट पनि मतदान गर्दा केवल राजनीतिक दलको चुनाव चिह्नको आधारमा विवेकहीन भएर मतदान गर्ने हो भने अर्को पाँचवर्ष जनता फेरि गलत सरकारको गलत शासनमा पिसिएर बस्नुको विकल्प हुँदैन ।