काठमाडौं । अफ्रिकन कप अफ नेसन्स खेलेर फर्किएको सेनेगल फुटबल टोलीलाई देशमा भव्य स्वागत गरिएको छ ।
सेनेगलको राजधानी डकारमा दशौँ हजार समर्थक राष्ट्रिय झन्डा लिएर सडकमा ओर्लिएका थिए । उनीहरू कारमाथि चढेर नाचेका थिए । फुटबल टिमलाई स्वागत गर्न राष्ट्रपति म्याकी सल विमानस्थल पुगेका थिए ।
प्रशिक्षक एलिउ सिसेले टिमलाई राखिएको बसबाट ट्रफी उचाल्दा समर्थकहरू पनि खुसीले उफ्रिएका थिए । डकारको सडकमा आतिसबाजी गरिएको थियो ।
‘‘यो स्ट्रिट पार्टीजस्तो लागेको छ । यसअघि सेनेगलमा यस्तो कहिल्यै भएको मलाई थाहा छैन,’’ बीबीसीका इमेलाइन एनसिङगी एनकोसीले भने ।
फुटबल टिमलाई बसमा राखेर डकार सहर परिक्रमा गराइएको थियो । फुटबल टिमलाई स्वागत गर्न बालबालिकादेखि वृद्धवृद्धासम्म सडकमा ओर्लिएका थिए ।
क्यामरुनमा सम्पन्न प्रतियोगिताको फाइनलमा सेनेगलले सातपटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै उपाधि जितेको थियो । सेनेगलले अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको यो पहिलोपटक हो । सेनेगल यससअघि सन् २००२ र २०१९ मा फाइनलमा पराजित भएको थियो ।