भारतमा जन्म लिएर पूरै दक्षिण एसियाकी अत्यन्त प्यारो गायिकाको रुपमा स्थापित गायन नक्षत्र लता मंगेशकरको देहले आइतबार बिहान संसार त्याग गरेको भएता पनि उनको अविस्मरणीय क्षमताका कारण सदियौंसम्म दक्षिण एशियाका सम्पूर्ण संगीत प्रेमीको हृदयमा उनको राज कायमै रहने छ । आजभन्दा ९२ वर्षअघि सेम्टेम्बर २८, १९२९मा जन्मिएकी लता मंगेशकरले करिब ७० वर्ष गायन क्षेत्रको सेवा गरेर भारत, पाकिस्तान, नेपाल, बंगलादेश, भुटान, श्रीलंकासहित संसारभर हिन्दी भाषाको गीत बुझ्ने जमातमा सशक्त प्रभाव जमाइन् । मराठी र नेपालीसहित ३६ भन्दा बढी भाषामा ३० हजार भन्दा बढी गीतमा स्वर दिएकी लता उत्कृष्टताको एक उच्चतम मापक बनिन् । उनले गाएका गीतहरू बच्चादेखि युवाहरूसम्म सबैको मन मस्तिष्कमा सधैँ गुन्जिरह्यो । भारतीय मात्र होइन कुनै पनि नेपालीसमेत उनको जादुको प्रभावबाट मुक्त रहन सकेन । राजनीतिक रुपमा नेपाल र भारतको सम्बन्धले अनेक उतार र चढाव लिइरहँदासमेत लता मंगेशकरको गीत नसुन्ने र उनको प्रतिभामा नतमस्तक नुहने कुनै नेपाली भएनन् ।
लता मंगेशकर जस्तो कलाकारको सम्मानमा जुन कलाप्रेमी नतमस्तक हुन्छ उसैले मात्र कला क्षेत्रको विकासका लागि क्षमतावान श्रष्टा वा कलाकारको महत्व बुझ्छ । कुनै भौगोलिक सिमानामा बाँधिन अस्विकार गरेको लता मंगेशकरको आवाजले दक्षिण एसियाका सम्पूर्ण देशहरूलाई सांगीतिक एकीकरण गरेको छ भन्दा अत्युक्ति नहोला । केवल एक गायिकाको रुपमा उदाएर आफ्नो कोकिल कण्ठका कारण संसारभरका संगीतप्रेमीलाई एक बनाउने उनको क्षमता अब सायदै पुनः दोहोरिन सक्छ । नेपालकी छोरी नभएता पनि उनको आवाजमा मन्त्र मुग्ध भएर हुर्केको हरेक पुस्ताका हरेक उमेर समूहका हरेक व्यक्तिले उनिप्रति निश्चल र सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेका छन् । सायद कुनै एक भारतीयले यति धेरै मुटुमा यस्तो उच्च स्थान बनाउन सकेको थिएन ।
लताको जीवन एक संघर्षको पर्याय थियो । उनी १३ वर्षकी हुँदा संगीतज्ञ पिताको निधन भएपछि त्यसबेलाको सानो हिन्दी सिनेमा उद्योगमा स्थापित गायिकासँग प्रतिस्पर्धा गरेर अघि बढ्नु सहज थिएन । आशा भोंसले र उषा मंगेशकरकी सबैभन्दा जेठी दिदीको रुपमा उनीहरूलाई अघि बढाँउदै बहिनी आशा भोंसले जस्तो अर्को प्रतिभावान गायिकासँगको प्रतिस्पर्धामा पनि लता कहिल्यै पछि परिनन् । उनको जिवनी आफैँमा एक उत्प्रेरणाको स्रोत हो र कलाप्रतिको लगनले मान्छेलाई सफलताको सिंढीमा कति माथिसम्म पुर्याउँछ भन्ने एक उदाहरण हो । आज उनको जीवनको अन्त्य भएको दिनमा सबैलाई थाहा भएको तथ्य के हो भने लता मंगेशकर यो संसारबाट तबसम्म हराउँदिनन् जबसम्म संगीतको अस्तित्व रहन्छ अनि कलाको सम्मान गर्ने मानव समाज जिवित रहन्छ ।
आजको दिन लता मंगेशकरले नेपाली गीत र संगीतको क्षेत्रमा दिएको योगदानका लागि कृतज्ञ हुने दिन पनि हो । आफ्नो जीवनको उत्तराद्र्धमा गीतकार आनन्द अधिकारीको शब्दमा रामकृष्ण ढकालसँगै उनले गाएकी नेपाली गीत ‘बाचुन्जेलीलाई’ पनि एक चिरस्मरणीय योगदान हो लता दिदीको । उनले राजा मबिबि शाहको गीत ‘आकाशको तिरमिर तारा म गन्न सक्दिन’ तथा शाहकै अर्को गीत ‘जुन माटोमा जन्मेउँ हामी’ पनि गाएकी थिइन् ।
भावपूर्ण श्रद्धाञ्जली लता ‘दिदी’ ।