अन्तर्राष्ट्रिय श्रम दिवसको दिनमा मात्र श्रमिकको समस्याका विषयमा केही लेखहरू आउने र श्रमिकको अधिकारको विषयमा चर्चा हुन्छन् । धेरै संघसंस्थाहरूले विदेशी दाताहरूबाट सहयोग ल्याएर यस दिवसमा अनेक कार्यक्रम पनि गर्छन् । तर, त्यस्ता कार्यक्रम र आवाज अधिकांश उद्योगका मजदुर सम्बद्ध हुन्छन् । ती मजदुरका अधिकार र तिनको श्रमको सम्मान हुनुपर्दछ र तिनको आवाज पनि उठ्नुपर्दछ । तर, ह्वाइट कल्ह् जब अर्थात् शारीरिक श्रमभन्दा मानसिक श्रम गर्ने कामदार जसलाई बौद्धिक श्रमिक पनि भनिन्छ, तिनको श्रमको अत्यधिक शोषण भएको छ । त्यस्ता व्यक्तिहरू कतिपय अवस्थामा शारीरिक श्रम गर्ने भन्दा पनि बढी ठगिएका छन् र तिनको हितका विषयमा बोल्ने संगठनहरू पनि निकै कम र कमजोर देखिएका छन् ।
अनुसन्धान धेरै नभएता पनि अनुमान र अनुभवका आधारमा सहजै भन्न सकिन्छ, अधिकांश निम्नमध्यम र निम्न वर्गका छोरा–छोरीहरू वैदेशिक रोजगारीमा खाडी मुलुक र मलेसिया जान्छन् । तिनको श्रम शोषण, श्रम अधिकार आदिका विषयमा नेपाली मिडिया पनि जागरुक छ र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले समेत आवाज उठाउँदै आएका छन् । तर, थोरै निम्नमध्यम र धेरै मध्यमवर्गीय परिवारमा जन्मेका युवाहरू यदि पढ्नका लागि विदेश जान पाएनन् भने र युरोप र अमेरिकामा भासिन पाएनन् वा जापान तथा कोरियामा काम गर्न जान पाएनन् भने यही देशमा रोजगारी पाउने आकांक्षासहित आफूले चाहेको विषयमा स्नातक वा स्नातकोत्तर अध्ययन गर्छन् । नेपालमा सबैभन्दा बढी यिनैको श्रमको शोषण भएको छ । यस्ता ह्वाइट कलर कामदारको संगठन बलियो छैन, यिनीहरू लामो समय एक ठाउँमा काम गर्दैनन् र कतिपय व्यक्तिहरू विस्तारै पदोन्नति हुँदै उपल्लोस्तरमा पुग्ने हुनाले पनि यस्ता विषयमा धेरै आवाज उठेको देखिँदैन ।
आज कुनै पनि नर्स पढेकी छोरी हुन् वा होटेल म्यानेजमेन्ट पढ्दै गरेको युवा, कसैले पनि आफ्नो पढाइअनुसारको तलब र सुविधा प्राप्त गर्दैनन् । यति मात्र होइन, एमबीए गरेका व्यक्तिले पनि बैंक वा वित्तीय संस्थामा, एयरलाइन्स, ट्राभर एजेन्सी, होटेल आदिमा अतिन्यून वेतनमा चित्त बुझाउनुपर्दछ । भर्खरै पढेर आएका इन्जिनियर हुन्, चार्टर्ड एकाउन्टेन्ट हुन् वा डाक्टर, सबैले सुरुवाती तलब अत्यन्त कम पाउँछन् । न्यूनतम तलब तोकिएको पत्रकारिता वा विद्यालयका शिक्षकभन्दा यस्तो जागिरेहरूको तलब, सुविधा निकै कम देखिएको छ । चार वर्ष नर्स पढेर अरू दुई/तीन वर्ष सिकारुका रूपमा दश हजारमा चित्त बुझाउनुपर्छ भने डाक्टर वा इन्जिनियरले बीसदेखि तीस हजार मात्र पाउँछन् । यस्ता कामदार अधिकांशको पदोन्नति हुने हुँदा यस विषयमा खासै आवाज नउठेको हो । तर, यसले जनताले पाउने सेवामा सिधै असर परिरहेको हुन्छ । कम वेतन भएका व्यक्तिले या त राम्रो सेवा प्रदान गर्दैनन् वा धेरै स्थानमा काम गरेर थकित हुन्छन् वा कुनै प्रकारको गलत तरिकाले पैसा उठाउने धुनमा रहन सक्ने सम्भावना हुन्छ ।
नेपालमा सिकारु ह्वाइट कल्ह् जबवालाको श्रमको शोषण भइरहेको छ । त्यसले गर्दा जनताले पाउने सेवामा सिधै असर परेको छ । यस विषयमा सम्बन्धित श्रमिक, तिनका अभिभावक, मिडिया, नागरिक समाज र अन्य सम्बद्ध सबैले समयमै आवाज उठाउनु जरुरी देखिएको छ ।