site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
निर्णय क्षमता र एमसीसी 

अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट, अनुदान सहयोगको विषयमा यहाँ निकै बहस, विवाद भएको छ । प्रजातान्त्रिक प्रणालीमा प्राप्त अभिव्यक्ति स्वतन्त्रतामा हुने बहस एवं विवाद नागरिकलाई जानकारी दिने, सूचित गर्ने र राज्यलाई पारदर्शी बनाउने उत्कृष्ट विधि पनि हो । अब एमसीसी अनुदानले निर्णय क्षमता पर्खिएको छ ।

नेपालमा प्रजातन्त्र छ, त्यसैले बहस सम्भव छ । नेपाली समाजको एउटा तप्का गम्भीर बहसमुखी छ, अर्को ठूलो संख्या हल्लाको लहैलहैमा गफ चुट्छ र आफ्नो बौद्धिकता स्थापित गर्न खोज्छ । नेपालको बहसमा स्वविकेकी स्रोतभन्दा पराश्रित वा निर्देशित संकेत पनि कारक हुने गरेको पर्गेल्नचाहिँ अलि कठिन छ ।

लोकतन्त्रको विभिन्न सौन्दर्यमध्ये अभिव्यक्ति स्वतन्त्रतालाई सबैभन्दा बढी प्रयोग वा दुरुपयोग अप्रजातान्त्रिक सोचका अनुयायीहरूले गर्ने रहेछन् । एमसीसीलाई पनि लोकतन्त्रविरोधी र अधिनायकवादीहरूले विरोधको तारो बनाएका छन् । एमसीसीको खासगरी कम्युनिस्टहरूले विरोध गरेका छन् । कम्युनिस्टहरूको लहैलहैमा सुझ न बुझ विरोध गर्न केही नादानहरू पनि थपिएका छन् । कम्युनिस्ट प्रणालीमा विरोध, बहस, विवाद वा वैचारिक प्रतिरोधको कुनै ठाउँ हुन्छ ?

KFC Island Ad
NIC Asia

विवाद र बहस अति भइसक्यो । सबै जानकारी सार्वजनिक भइसकेका छन् । एमसीसी अनुदान सहयोग नेपालको हितविरुद्ध छैन भन्ने विषय प्रस्ट भइसकेको छ । सात समुद्रपारिको भनिने मित्रदेश अमेरिकाको अनुदान सहयोगको विरोध आँगन जोडिएको शक्ति राष्ट्रको स्वार्थ वा इसारामा भएको रहस्य पनि ‘ओपन सेक्रेट’जस्तै भइसक्यो । भर्चुअल मिटिङ भएका छन् रे !

विरोधको राजनीतिक कारण छ । भूराजनीतिक कारण त हो नै, त्योभन्दा पनि लोकतन्त्रका विरोधीहरूको देशी, विदेशी मोर्चा एमसीसीको विरुद्ध ज्यान फालेर लागिपरेको छ । अमेरिका लोकतान्त्रिक मुलुक हो । उसले लोकतन्त्रको प्रवर्द्धन र सुशासनको लागि विश्वलाई नै प्रेरित गर्छ भन्ने जानकारी राख्ने अधिनायकवादी कम्युनिस्टहरू एमसीसीमार्फत विकास र लोकतन्त्र बढोत्तरी हुने कल्पनाले चिन्तित छन् ।

Royal Enfield Island Ad

विरोधी कम्युनिस्टहरूले एमसीसीको कुन, के, कति बुँदा नेपालको अहितमा छन् र तिनको संशोधन कुन भाषाशैलीमा हुनुपर्छ भन्ने फेहरिस्त अहिलेसम्म सार्वजनिक दिन सकेका छैनन् । अमूर्त त्रास फैलाएर भ्रम छर्न खप्पिस कम्युनिस्टले अमेरिकी अनुदान सहयोगमा पनि त्यही भ्रामक रबैया अवलम्बन गरेका छन् । नेपालमा आशंका फैलाइएको विषयमा सरकारले ११ बुँदे प्रश्न सोधेको थियो । ती प्रश्नमा एमसीसीले दिएको लिखित जानकारी वा प्रस्टताप्रति कम्युनिस्टहरूले किन आँखा चिम्लिएका छन् ?

विकासविरोधी र लोकतन्त्रविरोधीको मोर्चाबन्दीले एमसीसीलाई धरापमा पारेको छ । लोकतन्त्र, संविधान र संसद्को रक्षा गर्न गठबन्धन सरकार बनाएको दावा गर्ने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र– माके) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी– एस) पनि एमसीसीको विरुद्ध छ । यिनीहरूले एमसीसी प्रस्तावलाई संसद्मा लान रोक्नु हुँदैन । निर्णय जे गर्छ संसद्, सांसदको जिम्मा दिनुपर्छ ।

माके र एसले संशोधन हुनुपर्ने सर्त राखेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा संशोधन गर्नुपर्ने विषय, बुँदा यी दुई दलका अध्यक्षसँग मागेको जानकारी सार्वजनिक भएको छ । प्रधानमन्त्रीले ठिक गरे । अपवादमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) एमसीसीको विषयमा स्पष्ट छ र यो अनुदान सहयोग लिनुपर्छ भन्नेमा पनि अडिग छ ।

तर, नेकपा (एमाले)ले यो विषयलाई राष्ट्रियहितमा भन्दा पनि आफ्नो दलीय फाइदामा प्रयोग गर्न खोजेको बुझिन्छ । एमसीसी पारित गर्न सहयोगको लागि सत्ता गठबन्धन तोड्नुपर्ने भित्री सर्त एमालेले राखेको कुरा बाहिरिएको छ । लोकतन्त्रको गति रोक्ने (निर्वाचन हुन नदिने) र विकासको बाटो पनि छेक्ने गठबन्धनचाहिँ देश र जनताको लागि बोझ साबित हुने अवस्था छ । यस विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई निःसर्त स्पष्ट छन् र एमसीसी नेपालको हितमा हुने बताइरहेका छन् ।

सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस र सभापति तथा प्रधानमन्त्री देउवाले निर्णायक कदम चाल्नैपर्छ र एमसीसी पारित गर्ने भूमिका निर्वाह गर्न अब लामो पर्खाइ जरुरी छैन । यसका बुँदाबुँदामा व्यापक बहस भएको छ । यो अनुदान नेपालको हितमा छ भन्ने विषय अब छर्लंग भइसकेको छ ।

नेपाललाई आफ्नै राजनीतिक सोच र सुरक्षा छाताभित्र कैद गर्न खोज्ने छिमेकीहरूको इसारामा मच्चाइएको हुरीको रहस्य सचेत नेपाली नागरिकले बुझिसकेका छन् । भुरेटाकुरे कम्युनिस्टहरूको दोबाटे पसल एमसीसीको विरोधमा चलेकै छ । त्यो विरोधको व्यापार उनीहरू सुकेको भोग्न चाहँदैनन् ।

एमसीसी प्रस्तावको विषयमा सभामुखको भूमिका र दायित्व पनि सन्तुलित देखिएन । चाहे कृष्णबहादुर महरा हुन् वा अग्नि सापकोटा । सरकारले ल्याउँछ भने संसद्मा एमसीसी प्रस्ताव प्रवेश हुन्छ, बाँकी संसद्–सांसदले जे गर्छन् त्यही हुन्छ, किन भनेनन् यिनले ?

पूर्व र वर्तमान महरा, सापकोटा यी दुवै सभामुखले संसद् र पेरिसडाँडा भिन्नभिन्न चरित्रका हुन् भन्ने नै बुझेनन् सायद ! सधैँ पेरिसडाँडाको हुकुम र अध्यक्ष पुष्पकमल दाहालको निर्देशन पर्खिएर समय, स्रोत व्यर्थ गरे ! नेकपा (एमाले)ले ‘गिनिज बुकमै रेकर्ड’ हुने गरी लामो समय संसद् अवरुद्ध गर्ने गल्ती गरेको छ । तर, सभामुख अग्नि सापकोटामा संसद् सञ्चालन गर्ने कुनै तदारुकता वा चिन्तन र चिन्ता देखिएको छैन । किन ?

कतै संसदीय लोकतन्त्र खतम गर्ने कम्युनिस्टबीचको दूरभिःसन्धि त होइन ? एकथरि सरकारमा बसेर, अर्कोथरि बाहिर भएर प्रणाली र विकास बिथोल्ने ? समाज विकसित भए कम्युनिस्ट सोच फस्टाउँदैन । अविकसित बेलैमा पञ्जा गाडेर समाजलाई उठ्नै नदिने दमनले जकड्ने कम्युनिस्ट काइदा  हो । राष्ट्रवादी मुखुन्डोभित्र एमसीसी विरोधको मनसुवा समाजलाई अविकसित नै राख्ने ध्येयप्रेरित समेत देखिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताको हितमा दृढ अडान लिनैपर्छ । यसको लागि लोकतन्त्र र विकासविरोधी गठबन्धन टुटे सरकार गुम्ला, राजनीति गुम्ने छैन । यतिका बहसपछि जनमन प्रस्ट भइसक्यो, एमसीसी पारित हुनैपर्छ भन्नेमा । विरोधी को हुन् र विरोधको कारण पनि समाजले बुझिसकेको छ ।

गतिशील वा निर्णायक अडानको खाँचो छ । नेपाली राजनीतिका पात्रहरू लहैलहैमा छन् । निर्णायक विवेक र शक्ति स्खलित गरिएका पात्रहरू छन् । त्यसैले प्रधानमन्त्री देउवालाई प्रभावी अडान राख्ने अवसर पनि हो यो । यस सन्दर्भमा नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको अन्तर्वार्ताको सामयिक अंश याद आएको छ ।

दृिष्ट साप्ताहिकमा थियो नेकपा (एमाले)का नेता भण्डारीको अन्तर्वार्ता ।

प्रश्न– खानेकुरामा मनपर्ने ?
उत्तर– मःम ।
सधैँ टोपी लगाउनुहुन्छ, त्यो पनि भादगाउँले ?
उत्तर– मेरो कपाल बाँसको जराजस्तो कडा छन्, त्यसैले ।
तपाईंलाई मनपर्ने कोही नेपाली नेता ?
उत्तर– छैनन् ।
पहिले भए कि ?
उत्तर– हो, बीपी कोइराला ।
किन ?
उत्तर– उनमा निर्णय क्षमता थियो, हल्ला र लहैलहैको पछि दगुर्थेनन्, उनको निर्णय क्षमता मनपर्छ ।

समयक्रममा यस्तै निर्णय क्षमता नेता भण्डारीले पनि प्रदर्शित गर्न खोजे । अरू कम्युनिस्ट पार्टीहरूसँग मिलेर गरेको आन्दोलन अनिर्णीत र अराजक हुने देखेपछि उनले स्थगित घोषणा गरिदिए । ०४८ सालतिर जस्तो लाग्छ । अर्का कम्युनिस्ट चित्रबहादुर केसीले त्यति बेला महासचिव भण्डारीको तीखो आलोचना गरेका थिए, तर समाजले थाहा पायो मदन भण्डारीको निर्णय सही थियो ।

त्यति बेलै मोहनविक्रम सिंहले भण्डारीलाई संशोधनवादी भएको आरोपमा आफ्नै मुखपत्र ‘महिमा साप्ताहिक’मा लामालामा लेख लेखे । तीन अंक लगातार पढेँ, त्यसपछि झ्याउ लाग्यो । थप लेखे/लेखेनन् थाहा भएन । कम्युनिस्टले प्रजातन्त्रवादी बीपीलाई मन पराउनु संशोधनवादी हुनु हो भन्ने दलिल सिंहले प्रस्तुत गरेका थिए ।

यो प्रसंग निर्णय क्षमता राख्ने नेतृत्व खोजीको प्रसंग हो । सरकारी सत्तामोह र अवसरवादमा लिप्त नेतृत्वमा निर्णय क्षमता हुँदैन । तत्कालिक मात्रै किन, दूरक्षितिज उघार्ने निर्णय साँच्चै नेताले मात्रै लिनसक्छन् । प्रधानमन्त्री देउवालाई यस्तै अवसर प्राप्त छ । जब एमसीसी परियोजनाले नेपालको विकास प्रयासमा प्रतिफल दिन सुरु गर्छ, तब नेपाली जनताले उनलाई बारम्बार सम्झनेछन् ।

अरुण आयोजना बिथोलेर नेपाली जनतालाई झन्डै दुई दशक अँध्यारो लोडसेडिडमा धकेल्ने मानिसहरू भएको मुलुक पनि हो नेपाल । हेक्का रहोस् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro