कुनै पनि समाज त्यसबेला समृद्ध मानिन्छ जुनबेला उसको साहित्य, संस्कृति र कलाको उच्च स्थान होस् र अरु समाजले पनि सम्मान गर्न सकुन् । पश्चिमा देशहरूको महत्व र बर्चस्व रहनुमा ति देशको सैनिक शक्ति र आर्थिक उन्नति मात्र कारण होइनन् बरु तिनको साहित्य, कला र संस्कृतिको स्तरमा निरन्तर अभिवृद्धि हुनु पनि प्रमुख कारक हो । समाजमा उच्च र सम्भ्रान्त वर्ग भनेर चिनिनका लागि सर्वसाधारणमा साहित्य र कलाको चेत जागृत हुनु पर्दछ र संस्कृतिप्रति सम्मान र अपनत्व हुनु अत्यन्त जरुरी हुन्छ । यदि कुनै व्यक्ति आर्थिकरुपमा सम्पन्न भएर मात्र समाजमा प्रतिष्ठित हुन कोशिस गर्छ र सफल पनि हुन्छ भने त्यो देशको सामाजिक मूल्य र मान्यतामा अत्यन्त ह्रास आएको छ भनेर बुझ्नु पर्दछ । नेपाल अहिले यही अवस्थामा छ भनेर स्वीकार गर्न धेरै सोच्न जरुरी छैन ।
नेपाल विश्वका धेरै पुराना राष्ट्रमध्येको एक स्वतन्त्र राष्ट्र हो । अमेरिका वा भारतभन्दा नेपालको इतिहास धेरै पुरानो छ । पुरातन समय देखिनै नेपाल कला र संस्कृतिमा वैभवशाली थियो । नेपालका कलाकारहरूले आफ्नो सीप, विद्वता र ज्ञान विश्वभर फैलाएका थिए । तर, राजनीतिक रुपमा सर्वसत्तावादी सोचको संरक्षण र सम्बद्र्धन गर्न चाकरी र चापलुसीमा आधारित सामन्तवादी प्रथालाई महत्व दिइयो । अहिलेको नेपाली समाजबाट सामन्तवादको अन्त्य भइनसकेको कारणले पनि यहाँ राम्रो र नराम्रो, स्तरीय र स्तरहीन, गुणवान र गुणहीनका बीच विभेद गर्ने परम्परा सकिँदै गएको छ । यसका कारणले गर्दा हाम्रा साहित्यकार पनि को सशक्त, सिर्जनशील र समाजले रुचाइएको हो र को होइन भन्ने विभेद हुन सकेन । कुनै पनि प्रकारले वाङ्गमय सिर्जना गर्ने र सो सिर्जनाको सही गुणवत्ताभन्दा धेरै बढाएर प्रचार–प्रसार गर्नसक्ने व्यक्तिको हालीमुहाली भएको कारणले नै सही मायनामा सिर्जनशील व्यक्तिहरू निरुत्साहित हुने र चाकडीबाजले गलत तत्वलाई नक्कली जलप लगाएर दुरुत्साहन गर्ने हुनाले नेपालमा साहित्य, कला र संस्कृति पछि परेका हुन् ।
आज हाम्रो नयाँ पुस्ता भारतीय सिनेमा, साहित्य र मनोरञ्जनका अन्य माध्यममा आश्रित छ र त्यहाँबाट पनि अझ पर जाँदैछ । आजका युवाको मनोरञ्जनका मुख्य स्रोतका रुपमा कोरियन, चाइनिज र हलिउडका मनोरञ्जन उद्योगले स्थान बढाउँदै गएका छन् । नेपालका साहित्य, सिर्जना, नाटक र मनोरञ्जनका अन्य उत्पादहरूको सही मूल्यांकन नहुने र गुणस्तरीयहरूकै हाली मुहाली हुने हो आफ्नोपनमा गर्व गर्ने र तिनकै उपभोग गर्ने संस्कृति अझै फिर्ने सम्भावना छैन । सस्तो बजारीकरण र केही पेगमा बिक्ने समीक्षकका कारणले नेपाली उपभोक्ताले कुन सिर्जना वास्तविक सशक्त र ग्रहणयोग्य छन् र कुन छैनन् भन्ने सही सल्लाह नै पाउँदैनन् । साहित्य, कला र संस्कृतिको जगेर्ना गर्नुपर्ने राष्ट्रिय प्रतिष्ठानमा सो विधाको प्रतिस्पर्धामा उतिर्णाङ्कसम्म ल्याउन नसक्नेको नियुक्ति र सम्मान हुन्छ । त्यसैले नयाँ पुस्ताले साहित्य, कला र संस्कृतिमा देखिएको संक्रमणका विरुद्ध ठूलो पुनर्जागरणको लहर ल्याउनुपर्ने अहिलेको आवश्यकता हो । यो विधालाई राजनीतिकरण नगर्ने र राज्यले क्षमतावान र सही व्यक्तिलाई देशको साहित्य, कला र संस्कृति सम्बद्र्धनको जिम्मा दिने हो भने केही उपलब्धि हुनसक्ला । अन्यथा, अहिलेको गज्याङ्मज्याङको अवस्थाबाट नेपालीपनप्रतिको चाह र नेपालको विश्वव्यापी सम्मानमा बढोत्तरी हुने अवस्था देखिँदैन ।