नेपाल एक अत्यन्त भ्रष्टाचारी मुलुक हो । आफ्नो देशमा भ्रष्टाचार कति गहिरो गडेको छ भन्ने कुरो दैनन्दिनी चलाउँदा अनुभव गरेका नेपालीलाई त थाहै छ त्यसैले विश्वभर कुन देशमा कति भ्रष्टाचार छ भनेर मापन गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई अत्यन्त धेरै भ्रष्टाचार हुने मुलुकको श्रेणीमा लगातार राख्दै आउँदा पनि मतिभ्रष्ट समाज र सरकारलाई केही वास्ता भएको देखिँदैन । विगत धेरै वर्षदेखि नेपालले सय अंकमा सधैं ३४ अंकभन्दा कम प्राप्त गरेको छ । सो संस्थाले ५० भन्दा कम अंक ल्याउने देशलाई अति भ्रष्ट मुलुकको श्रेणीमा राख्ने गर्दछ । दुःखका साथ भन्नुपर्छ नेपालको स्थान गत वर्ष भुटान, भारत, माल्दिभ्स र श्रीलंका भन्दा पनि तल छ । केवल पाकिस्तान, बंगलादेश र अफगानिस्तान भन्दा मात्र नेपाली अलि कम भ्रष्टाचारी देखिन्छन् ।
विदेशी संस्थाले नेपाल कति भ्रष्ट छ भनेर तोकिएको अवस्थामा मात्र हामीले आफूलाई हीनताबोध गर्नुपर्ने होइन । हामीले त सरकारसँग काम परेको हरेक अवस्थामा हीनताबोध गर्नुपर्दछ । अधिकांश नेपालीका छोरा–छोरीले युवावस्थामा प्रवेश गर्नेबित्तिकै सवारी चालक अनुमति पत्र बनाउँदा घुस दिनुपर्ने नियतीसँग साक्षात्कार गर्छन् । त्यसपछि विदेशमा काम गर्न जाँदा वैदेशिक रोजगारीका दलालदेखि सरकारी कार्यालयसम्म कति भ्रष्टाचार छ भन्ने थाहा पाउँछन् । यदी पढ्न वा काम गर्न जाँदा घर वा जग्गा बेचबिखन गर्नु छ भने मालपोतमा कति भ्रष्टाचार छ भन्ने बुझ्छन् । सरकारी कर्मचारीका बच्चाले बाबुको तलब र घरको खर्च हिसाब गरे भने आफू कति भ्रष्टको सन्तान हौं भनेर सहजै थाहा पाउँछन् भने व्यापारीका सन्तानले कति घुस खुवाएर कसरी काम गराउनु पर्छ भन्ने ज्ञान सानैमा बटुली सकेका हुन्छन् । तर, अहिलेको युवा पुस्तासमेत भ्रष्टाचारमा सहभागी हुँदाको हीनताबोधभन्दा घुस खुवाएर काम सम्पन्न गराउन सकेकोमा गर्व गर्ने गैर–जिम्मेवार नागरिकमा परिणत हुँदै गएका छन् ।
यस्तो भ्रष्ट देशको नेतृत्वमा इमान्दार, सक्षम र देश विकासमा साधन, स्रोत र समय लगानी गर्ने सुमति भएको सरकार आउन निकै गाह्रो छ । भ्रष्टाचारी समाजबाट पोषित ठूला र मतिभ्रष्ट भ्रष्टाचारी व्यक्तिनै सरकार चलाउने स्थानमा पुग्ने हुनाले हामीलाई कुनै पनि प्रकारको विदेशी तथ्यांक वा नेपालको सन्दर्भमा बन्ने अन्तर्राष्ट्रिय छविले दुख्दैन । क्रमशः सबै नेपाली आफ्नो कमजोरीलाई सुधार्नु नपर्ने एक चरित्रको रुपमा स्विकार्दै जान थालेका छन्, जुन समाज पतनको दृष्टिमा अत्यन्त भयानक अवस्था हो । त्यसैले यो देशको समाज भ्रष्ट मात्र होइन सरकार नै मतिभ्रष्ट भएको हुनाले आउँदा वर्षमा पनि ट्रान्सपरेन्सीले फेरि वार्षिक सूची निकाल्छ र हामी एकपल्ट समाचार वा सम्पादकीय बनाएर आफ्नो जिम्मेवारी पूरा गर्ने छलछामपूर्ण अभिनय गर्छौं ।