site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीमा गठबन्धनका ६ जनप्रतिनिधिको मत एमालेलाई, छानबिनका लागि समीक्षा बैठक बस्दै 

पोखरा । राष्ट्रियसभा निर्वाचनमा मंगलबार बिहान मतदान गर्न पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आइपुगे । उनको दल नेकपा एमाले राष्ट्रियसभाका तीन क्लष्टरमा पाँच दलीय गठबन्धनसँग एक्लै भिड्दै थियो । एमालेको आफ्नो मतभार गठबन्धनको भन्दा ६९६ ले कम थियो ।

त्यैपनि गुरुङ भन्दै थिए, “गठबन्धनमा एकले अर्कालाई शंका पनि गर्ने, विश्वास नगरी पनि नहुने अप्ठ्यारो ठाउँमा उहाँहरु हुनुहुन्छ । यसले पनि केही न केही संकेत गर्दछ । मलाई लाग्दछ, जति भोट जो जससँग छ, केही न केही फेरबदल हुन्छ ।”

उनले भनेझैँ गरि ३ बजे सकिएको मतदानको परिणाम फेरिएर आयो । एक्लो एमालेसँग २७ जना प्रदेश सांसदको एक हजार २९६ र ७० जना स्थानीय तहका जनप्रतिनिधिको एक हजार २६० गरि कुल २ हजार ५५६ मतभार मात्रै थियो ।

Dabur Nepal

गठबन्धनसँग चाहिँ ९८ स्थानीय तहको एक हजार ७६४ सय र ३१ प्रदेशसभा सदस्यको एक हजार ४८८ गरि ३ हजार २५२ मतभार थियो ।

एक स्वतन्त्र सांसदलाई नगन्दा पनि गठबन्धन स्पष्ट रुपमा एमालेसँग ६९६ मतभार अगाडि रहेको गणित थियो ।

२ स्थानीय तहका जनप्रतिनिधि रहेको राप्रपा र एक स्वतन्त्र सांसदले पनि गठबन्धनको उक्त अन्तरमाथि प्रभाव पार्न सक्दैनथे ।

तर, पृथ्वीसुब्बाले भनेझैँ एमालेका उम्मेदवारले आफ्नो मत त पाए, अरुको पनि चोर्न सके ।

गठबन्धनले जित्यो तर उल्टो अविश्वासको र शंकाको घेरामा उसका जनप्रतिनिधि परे । त्यही शंकालाई चिर्न र फ्लोर क्रस गर्ने जनप्रतिनिधि चिन्न गठबन्धन छानबिनतर्फ अगाडि बढेको छ ।

एमालेले अन्य क्लष्टरमा पुण्यप्रसाद पौडेल, दलितमा अर्जुनकुमार सुनाम र महिलामा लिला थनेतलाई उमेदवार बनाएको थियो ।

यी उमेदवारहरुले एमालेबाहेक २ प्रदेश सांसद र ४ जनासम्म स्थानीय तहका जनप्रतिनिधिको मत तान्न सफल भए ।

दलिततर्फका उमेदवार सुनामले २९ जना प्रदेश सांसद र ७४ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाए । यसको कुल मतभार २ हजार ७२४ हुन आउँछ । जुन एमालेको भन्दा १६८ मतभार बढी हो ।

दलित क्लष्टरमा एक जना प्रदेश सांसद र २ जना स्थानीय तहका जनप्रतिनिधिको मत बदर भयो ।

एमालेको महिला उमेदवार लिला थनेतले पनि २ जना प्रदेश सांसदको मत बढी पाइन् । स्थानीय तहमा पनि उनले एमालेको भन्दा चारजना बढी गठबन्धनका जनप्रतिनिधिको मत तान्न सफल रहिन् ।

खुलाबाट लडेका पुण्यप्रसाद पौडेलले चाहिँ एकजना प्रदेश सांसद र ५ जना स्थानीय तहका जनप्रतिनिधिको मत गठबन्धनबाट ताने ।

यी त भए पराजित भएता पनि गठबन्धनको मत तान्न सफल एमालेका उम्मेदवारहरु ।

गठबन्धनबाट चाहिँ महिलामा कमला पन्तले २९ प्रदेश सांसद र ९४ स्थानीय तहका जनप्रतिनिधीको मत पाएर विजयी बनिन् ।

प्रदेश सांसदको एक मत बदर भयो भने उनले आफ्नै गठबन्धनका दुई सांसदको साथ पाइनन् । स्थानीय तहका चार जनप्रतिनिधिले उनलाई मत दिएनन् ।

दलित क्लष्टरमा विजयी भएका भुवन सुनारलाई त गठबन्धनका ६ जनप्रतिनिधिले पत्याएनन् । २ जना सांसदको मत पनि उनले पाएनन् ।

अन्य पदमा विजयी भएका सुरेशबहादुर आलेले ३० जना सांसदको साथ पाए । उनलाई एक सांसदले मत हालेनन् भने, स्थानीय तहका ६ जनप्रतिनिधिको मत पनि उनले पाएनन् ।

राष्ट्रियसभाको मतगणना चलिरहँदा दुई सांसदले फ्लोर क्रस गरेको खबर बाहिरिँदै गर्दा निर्वाचन कार्यालयको परिसर बाहिर माओवादी संसदीय दल गण्डकीका नेता हरि चुमान चाहिँ गम्भीर देखिएका थिए ।

माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेश सांसद गायत्री गुरुङ मतपरिणाम सार्वजनिक भइसकेपछि भन्दै थिइन्, “फ्लोर क्रसबारे छानबिन गर्नुपर्छ ।”

कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेले भने, “यसको बारेमा छानबिन हुनेछ ।”

कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले चाहिँ छानबिन नै गर्ने बताए । “यो छानबिन गर्ने विषय हो । छानबिन हुन्छ,” उनले भने । 

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले आज समीक्षा बैठक बस्ने र छानबिन गरिने बताए । 

“कोही जनप्रतिनिधिले व्यक्तिगत रुपमा मत दिएको हुन सक्छ, संस्थागत रुपमा कुनै दलले त्यस्तो गरेजस्तो लाग्दैन । अब गठबन्धनको बैठक बस्छ, त्यहाँ कुरा उठ्छ र पत्ता लगाउने कुरा त हुन्छ,” उनले भने ।

जनता समाजवादी पार्टी संसदीय दल गण्डकीका नेता तथा मन्त्री हरिशरण आचार्यले पनि छानबिन गरिने बताए ।

“हामीले गठबन्धनमा छलफल गर्छौँ, कहाँ कसले कसरी, कुन हिसाबले फ्लोर क्रस गर्नुभयो, त्योबारेमा अध्ययन गर्छौँ । त्यसको निष्कर्ष कुन दल सम्बद्ध छ भन्ने आउला, त्यसपछि सम्बन्धित पार्टीमा कुरा हुनेछ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro