काठमाडौं । दोस्रो वरीयाताप्राप्त ड्यानिल मेदभेदेभले बुधबार फेलिक्स एगर–एलिसिमेलाई ३–२ को हराउँदै अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।
यूएस ओपन विजेता रुसका मेदभेदेभले पहिलो दुई सेट गुमाएका थिए । तर, बाँकी सेटमा सानदार पुनरागमन गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् । लगातार दोस्रो ग्रान्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेका मेदभेदेभले क्यानडाका एगर–एलिसिमेलाई हराउन ४ घण्टा ४२ मिनेट लगाएका थिए ।
मेदभेदेभले नवौँ वरीयाताप्राप्त एगर–एलिसिमेलाई ६–७(४÷७), ३–६, ७–६(७/२), ७–५, ६–४ को स्कोरमा हराएका हुन् । २५ वर्षे भेदभेदेभले अब फ्रेन्च ओपनका उपविजेता स्टेफानोस सिटसिपसविरुद्ध खेल्नेछन् ।
चौथो वरीयाताप्राप्त सिटसिपसले जानिक सिनरलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए । ग्रिसका सिटसिपसले पछिल्लो पाँच ग्रान्ड स्लामको क्वार्टरफाइनल जितिसकेका छन् । तर, अहिलेसम्म उपाधि भने जितेका छैनन् ।
सिटसिपसले ११औँ वरीयाताप्राप्त इटालीका सिनरलाई ६–३, ६–४, ६–२ को स्कोरमा हराएका हुन् । पुरुषतर्फको अर्के सेमिफाइनलमा राफेल नाडाल र माट्टेयो बेरेट्टिनीले प्रतिस्पर्धा गर्नेछन् ।