काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले स्थापनाको ५औँ वार्षिकोत्सव मनाएको छ । हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्तीले दैनिक लाखौँ मानिसहरूको जीवन सहज गर्दै आएको जनाएको छ ।
कुनै पनि स्टार्टअप कम्पनीले पाँच वर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु भएको कम्पनीले जनाएको छ । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको पनि जनाइएको छ ।
युवाहरूमाझ बढी प्रचलित खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नवीन पहिचान बोकेको ब्रान्ड भएको कम्पनीको दाबी छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले आगामी दिनहरूमा हरेक उमेर समूहलाई खल्ती प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ खल्तीलाई अझै सरल र उपयोगी बनाउने बताए ।
खल्ती अमित अग्रवाल, मनिष मोदी, अरविन्द साह, र ध्रुब अधिकारीले स्थापना गरेका हुन् ।
५औँ वार्षिकोत्सवको अवसरमा खल्तीले ‘रिफर एन्ड अर्न’को अफर पनि ल्याएको छ ।