जासुसी प्रविधिको विकाससँगै डिजिटल निगरानीको क्षमता पनि कति धेरै बढेर गएको छ भने सरकार विरोधीहरूलाई राज्यको ‘रेडार’बाट जोगिन निकै मुस्किल छ । बेलारुस, चीन, रसिया तथा धेरै देशमा हजारौं गुप्तचरहरू विपक्षी राजनीतिक विचार भएका वा सरकार विरोधी हुनसक्ने व्यक्तिहरूको चियो गर्ने, तिनको कुरा सुन्ने र तिनलाई ‘फलो’ (डिजिटल माध्यममा पछ्याउने) गर्छन् । एउटा अनुमान अनुसार ३९ प्रतिशत सरकारले सन् २०१९ मा जनताको गापनीयताको हकविपरीत विरोधीको जासुसी र निगरानी गरेका थिए ।
ससर्ती हेर्दा सरकारले जनतामाथि निगरानी बढाउँदा विपक्षी शक्तिको आवाज मन्द हुनुपर्ने हो । आखिर सरकारविरुद्ध सशक्त ढंगले आवाज उठाउन विपक्षी शक्तिलाई सामूहिक प्रयास, सक्षम समन्वय तथा अत्यन्त विश्वसनीय गोप्यता चाहिन्छ । त्यसैले, सरकारले आफ्ना विरोधीको सूचना आदानप्रदानको जानकारी राख्नसक्ने र गतिविधि थाहा पाउनसक्ने अवस्थामा सरकार विरोधी अभियान चलाउन निकै कष्टप्रद हुन्छ ।
धेरै विद्वान्हरू सरकारको प्रभावकारी निगरानीले विरोधी काम कारबाहीलाई शिथिल बनाउँछ भन्नेमा विश्वस्त छन् । सत्ताधारीहरूले मुख्य विरोधी नेताहरू पहिचान गर्ने र तिनलाई पन्छाउने कार्य गरेर अरु समर्थक र जनसमुदायलाई सहजै भयभीत बनाउन सक्छन् । आफूलाई कसैले निगरानीमा राखेको छ भन्ने महसुस भएको व्यक्तिले कानुनको अक्षरशः पालना गर्छ । पोल्यान्डमा कम्युनिस्ट शासन हुँदाका बखत सरकार विरोधी खेमामा लागेका युजेनियुस्ज गाट्नर भन्छन् – “मलाई थाहा थियो मेरा पछाडि सरकार लागेको छ भन्ने । म आफैँलाई सधँै सजग गराउँथे कि रातो बत्ती हुँदा मोटर अघि नबढोस्, अनि ट्रामको टिकट पनि सधैँ चेक गराएरमात्र यात्रा गर्थेँ ।”
जनतालाई त्रसित बनाउने र विपक्षीको समर्थनमा नजाउन् भनेर हतोत्साही बनाउनेभन्दा पनि सरकारले जासुसी गरेर विपक्षीको संगठनमा घुसपैठ गर्ने र विपक्षीको जालो भत्काउने काम गर्छ । घुसपैठ गर्नेहरूले गलत समाचार संप्रेषण गरिदिएर सत्तामा रहेकाहरूलाई विपक्षीको योजनामा घात पार्न सघाउँछन् ।
हालसालका चर्चित केही घटनाले पनि आधुनिक निगरानीका संयन्त्र कसरी काम गर्छन् भन्ने देखाएका छन् । रसियाका विरोधी नेता एलेक्सेयी नाभल्नीलाई अगस्ट २०२१ मा मध्यरसियाको एक निर्वाचन कार्यक्रममा विष दिइयो । यो घटनाको संयुक्त छानबिन गरिरहेका ‘द इनसाइडर’ तथा ‘बेलिङ्क्याट’ नामक संस्थाका अनुसार नाभल्नीलाई रसियाका जासुसी संस्थाका मानिसहरूले तीन वर्षभन्दा अघिदेखि निगरानीमा राखेका थिए । ती जासुसहरूले नाभल्नीको लुगामा नर्भ एजेन्ट (विषालु रसायन) दलिदिने मौका बढो धैर्यपूर्वक पर्खिए ।
बेलोरसियन ब्लगर तथा सरकार विरोधी रोमन प्रोटासेभिच यस्तै अर्का उदाहरण हुन् । भनिएअनुसार, गत मे महिनामा बेलोरुसका जासुसी अधिकृतहरूले प्रोटासेभिचलाई इटलीको एथेन्ससम्म पिछा गरे । त्यहाँबाट लिथुवानियाको भिलिनियस मा रहेको उनको घर जान व्यावसायिक प्लेन चढेका उनी त्यहाँ पुग्न पाएनन् । बेलारुसको हवाई मार्गबाट प्लेन उड्दै गर्दा सो प्लेनलाई जबर्जस्ती मिन्स्कमा ओर्लन लगाएर प्रोटासेभिच र उनकी प्रेमिकालाई बेलोरुस सरकारले गिरफ्तार ग¥यो ।
यस्तै घटना रुवान्डा सरकारका प्रखर विरोधी पउल उ¥युजसाबगिनालाई पनि भयो । सन् १९९४ मा भएको गृहयुद्धमा एक हजारभन्दा बढी ज्यान जोगाउन सफल भएका उनलाई रुवान्डाका जासुसहरूले अमेरिकादेखि दुबईसम्म पिछा गरेर अगष्ट ३१, २०२० मा उनी बुरुन्डी पुग्ने बेलामा पक्राउ गरेका थिए ।
परन्तु, यस्तो व्यापक जासुसी र निगरानीको जालो हुँदाहुँदै पनि सरकार विरोधीहरू गलिसकेका भने छैनन् । यस लेखकले अन्सेल्म ह्यागरसँग गरेको एक नयाँ अनुसन्धानले विरोधीहरू यस्तो निगरानीमा पनि सशक्त प्रहार गर्ने क्षमता राख्छन् भन्ने देखाएको छ । हालै गोप्यताको सूचीबाट निकालेर सार्वजनिक गरेको कम्युनिस्ट पोल्यान्डको दस्तावेजअनुसार सन् १९८० मा जुन जुन बस्तीमा जासुसीको जालो सबैभन्दा गहन थियो त्यहीँ सबैभन्दा धेरै हड्ताल र जुलुस भएका थिए । हाम्रो अनुसन्धानको खोज सोलिडारिटी मुभमेन्टको जग बसाल्ने आन्दोलनमा केन्द्रित थियो जुन आन्दोलनले सन् १९८९ मा पोल्यान्डको सत्ता र व्यवस्था उल्टाइदिएको थियो ।
सरकार विरोधी समूह त्यस्तो सख्त निगरानीमा पनि कसरी आफूलाई जोगाउन सफल भयो भन्ने खोज्दा हामीले किन जनताहरू सो आन्दोलनमा जोडिँदै गए भन्ने पनि खोज्यौँ । हामीले के पायौँ भने निगरानीको डर एक प्रकारको संवेदना भयो तर यसले अर्को प्रकारको संवेदनालाई एकदमै बढाउँदो रहेछ – त्यो हो आवेग वा क्रोध । विरोधी दलका धेरै कार्यकर्ताले अनुसन्धानका क्रममा निगरानी वा जासुसी कार्यले आफूमा रिस पैदा भएको बताए । यसरी निरन्तर निगरानीमा राखेका कारण आफूहरूलाई अत्यन्तै बेइज्जत जस्तो महसुस भएकाले सो आवेगलाई सडक आन्दोलनका रुपमा पोखेको पनि धेरै विरोधी नेताले बताए । कम्युनिस्ट पोल्यान्डका एक सुपरिचित विरोधी लेखक लियोपल्ड टिम्यान्ड भन्छन् — “म आफैँलाई भन्दा जासुसहरूलाई मैले कुनै महिना के गरेँ भन्ने थाहा हुने र मेरा ११ वटा कट्टुमा कुन मलाई सबैभन्दा बढी मनपर्छ भन्नेसम्म कुरा थाहा हुनुले पनि आन्दोलनमा लाग्न झनै उद्वेलित गरायो ।”
तर, आवेग वा रिसले मात्र सोलिडारिटी आन्दोलन सफल भएको अवश्यै होइन । हामीले ती अनुगमनमा परेका संस्थाले आफूलाई कसरी बचाए, घुसपैठ कसरी पहिचान गरे र भ्रष्टाचारबाट कसरी जोगिए भन्ने विषयमा पनि खोजी ग¥यौँ । यो कुराले के थाहा दियो भने कम्युनिस्ट सत्ताको सबैभन्दा सशक्त भनिएको जनजासुुस (जनताभित्रै रहेका जासुस) नै तिनीहरूको मुख्य कमजोरी थियो ।
पोल्यान्डमा सूचना दिनेहरूको जमात यत्रो ठूलो थियो कि कसैले पनि कसैको पनि जासुसी गर्न सक्थ्यो, जस्तो आफ्नै साथी वा नातेदारसमेत जासुस हुन्थे । ससर्ती हेर्दा करिबकरिब सबै नै सरकारका जासुस थिए । यस्तोमा सरकार विरोधी आन्दोलनमा मान्छे उतार्न विरोधी पक्षलाई निकै गाह्रो हुने अनुमान गर्न सकिन्छ । तर, सरकारको विरोधमा खुलारुपमा जाँदा आफ्ना साथी र परिवारमा आफू सरकारको घुसपैठीया होइन भन्ने प्रमाणित गर्न सहज हुने हुनाले मान्छेहरू खुल्दै गए । एक व्यक्तिले आफ्नो बयानमा भनेका छन् – एक कार्यकर्ताले आफ्नोविरुद्धको शंका निर्मूल गर्न भोक हडताल नै सुरु गरे । पछि धेरैले त्यस्तो कार्य गरे ।
अधिनायकवादी सत्ताले जासुसी वा निगरानी गरेर आफ्ना विरोधीमा डर पैदा गर्ने वा तिनलाई छिन्नभिन्न पार्ने काम गर्छ । तर, धेरै निगरानीले पनि सरकारविरुद्ध उठ्न जनतालाई बाध्य बनाउँदो रहेछ भन्ने हाम्रो अध्ययनले देखाएको छ । आफूविरुद्ध सरकार लागेको छ वा आफ्नो जासुसी गराउँदै छ भन्ने महसुस भएको अवस्थामा मान्छेको डरभन्दा रिस वा आवेग बढी बलवान् हुने अनि एक आपसमै को जासुस हो भन्ने शंका पैदा हुँदा सरकार विरोधीहरूलाई आफ्नो सच्चा स्वरुप वा साँचो समर्पण सार्वजनिक गर्न सहज भएको देखियो । आवेग र समर्थनको सार्वजनिकीकरणले सत्ता विरोधी आन्दोलनलाई सहयोग पु¥यायो । यसले के देखायो भने जासुसी वा निगरानीका बीचमा पनि विपक्षी दलहरूले फर्केर प्रहार गर्ने शक्ति प्राप्त गर्छन् ।
(लेखक कार्लो अल्बर्टो कलेज, ट्युरीन, इटलीका सहायक प्राध्यापक हुन् )
Copyright: Project Syndicate, 2022.