site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डको प्रस्ताव– एमालेले संसद् चल्न दिएन, वैशाखमा संसदीय चुनाव गरौँ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रस्ताव अघि सारेका छन् ।

उनले नेकपा एमालेले लगातार सदन अवरोध जारी राखेको र उसको उद्देश्य नै यो संसद्लाई सफल हुन नदिने भएकाले वैशाखमा संसदीय चुनाव गर्न प्रस्ताव गरेको बताएका छन् ।

बाह्रखरीसँग विशेष कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आफूले यस्तो प्रस्ताव राखेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आगामी वर्ष संसदीय निर्वाचन गर्नैपर्ने बाध्यात्मक अवस्था पनि भएकाले पहिले संसदीय चुनाव गर्ने र त्यसपछि बन्ने सरकारले स्थानीय तहको चुनाव गराउने बताएका हुन् ।

प्रचण्डको यस्तो प्रस्तावलाई गठबन्धनका नेताहरुले अस्वीकार गरिसकेका छैनन् ।

Global Ime bank

“नेकपा एमाले र त्यो पार्टीका अध्यक्ष केपी शर्मा ओली जुनसुकै षडयन्त्र गरेर पनि गठबन्धन फुटाउने खेलमा छन्,” उनले भने, “त्यसमा उनी सफल हुने छैनन् । त्यसैले उनले यो सदन पनि चल्न दिँदैनन् । चल्नै नदिने सदन यसरी राखिरहनुभन्दा सदनबाटै एउटा प्रस्ताव पारित गरौँ, अनि संसदीय चुनावमा जाऔँ । यो लोकतान्त्रिक पनि हुन्छ ।”

उनले संघसँगै प्रदेशको पनि चुनाव गर्न सकिने र स्थानीय तहको चुनाव त्यसलगत्तै गर्न सकिने बताए ।

“मैले गठबन्धनको बैठकमा यो प्रस्ताव राखेको छु । यसका बारेमा सबै राजनीतिक दल, बुद्धिजीवी पत्रकारबीच पनि छलफल होस् भन्ने मेरो चाहना हो । हामी पहिला केन्द्रको निर्वाचन गरौँ । त्यसपछि प्रदेश र स्थानीय तहको गरौँ । नभए संघ र प्रदेशको पनि सँगै गर्न सकिन्छ । त्यसो गर्नु समग्रतामा संविधान, लोकतन्त्र र राष्ट्रको हितमा हुन्छ भन्ने लाग्छ ।”

उनका अनुसार यसरी जाँदा सर्वोच्च अदालतको आदेशको विरुद्धमा पनि हुँदैन ।

“सर्वोच्च अदालतको परमादेशपछि यो सरकार बनेको हो । परमादेशमा भनिएको छ संसद् रहँदासम्म र संसद्भित्रै सरकार बन्ने सम्भावना रहँदासम्म विघटन गर्न पाइँदैन । सर्वोच्च अदालतले दिएको यो निर्णय सही छ । हामी त्यसलाई सम्मानमात्रै होइन अक्षरस पालना पनि गरिरहेका छौँ । दुर्भाग्य के भयो भने मुख्य प्रतिपक्ष भन्ने नेकपा एमाले छ । त्यसका अध्यक्ष केपी शर्मा ओली छन् । उनले ६ महिनादेखि हामी गठबन्धनवाला र प्रधानमन्त्रीले पटक पटक सर्वदलीय बैठक बोलाएर सदन सुचारु गरौँ भन्दा मान्दैनन् । हामीले प्रधानमन्त्रीलाई बालकोटमै पठाइयो । जानुस् सहमतिका लागि गएर कुरा गर्नुस्, सदनै नचल्ने अवस्था राम्रो होइन । तर सहमति जुटेन ।”

उनले केपी शर्मा ओली र नेकपा एमालेले बडो असंवैधानिक तरिकाले अलोकतान्त्रक र भन्नै नहुने कुरा गरिरहेको बताए ।

“किनभने निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएर नै नेकपा एकीकृत समाजवादी बनेको छ । र उहाँहरु सदनमा हुनुहुन्छ । केपी ओलीको भनाइ उहाँहरुलाई निकाल्नुपर्छ भन्ने छ । यो त निर्वाचन आयोगको निर्णय, सर्वोच्चको फैसलाविपरीत हुन जान्छ । त्यस्तो कुरा भनेर सदन अवरोध गरिरहन हुन्छ ?”

प्रचण्डले एमालेले भन्दैमा सभामुखले राजीनामा नगर्ने बताए ।

“यसमा पनि एमालेले गैरलोकतान्त्रिक चरित्र देखाएको छ,” उनले भने,“हाम्रो निर्णय पालना नगरेको हुनाले सभामुखले राजीनामा गर्नुपर्छ या हटाउनुपर्छ भन्ने अडान राख्नुभएको छ । त्यो मिल्ने कुरै होइन । सभामुखले १५ दिनभित्र निर्णय दिनुपर्ने थियो १३ दिनका दिनमा दिनुभयो । सभामुखले आफ्नो अधिकार प्रयोग गर्नुभयो ।  सभामुखले राजीनामा दिनुपर्ने कारण नै छैन । यो राजीनामा देऊ भन्न मिल्ने कुरा नै होइन । सभामुखले आफ्नो अधिकारक्षेत्रभित्र रहेर १३ दिनभित्र निर्णय दिनुभएको छ भने त्यसलाई मान्यता पाइसकेपछि पनि त्यही इस्यु उठाएर सदन निरन्तर अवरोध भइरहेको छ । नेपाली जनताले पनि देखिरहेका छन् यो लाजमर्दो अवस्था ।”

उनले अहिले एमालेले गरेको अवरोध अघिल्लो वर्षको पुस ५ को निरन्तरता भएको बताए ।

“जसरी अघिल्लो वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन भयो । पछि फेरि दोस्रोपल्ट विघटन भयो त्यही विघटनकै जारीरुप हो अहिलेको अवरोध,” प्रचण्डले भने, “ओली गुट अहिले परिवर्तन उल्ट्याउन चाहन्छ । हामीले दिँदैनौँ । त्यसकारण मेरो तर्क के छ भने सदन चल्नै नदिने हो भने पहिले संसद्को निर्वाचन गरौँ । प्रमुख प्रतिपक्षले नै नाराबाजी गरिसकेपछि विजनेस अघि बढ्न सक्दैन । सदनबाटै एउटा प्रस्ताव पनि पारित गरौँ र चुनावमा जाऔँ ।”

तर सर्वोच्च अदालतले पूरै अवधि सदन चल्नुपर्छ भनेको छ नि ! भन्ने प्रश्नमा प्रचण्डले भने, “हामी सर्वोच्चको पनि सम्मान गर्छौँ । संसद्ले नै पारित गरेपछि कसैलाई पनि आपत्ति हुँदैन । फेरि वैशाखमा हुने चुनाव अर्ली हुँदैन । त्यो वर्ष त चुनाव गर्नैछ । केही महिना अघिमात्रै गर्न लागेको हो । त्यसो गर्‍यो भने नेपालको अन्योल एकैपटक समाधान हुन्छ । सदनबाट पारित गरेपछि अदालतको पनि सम्मान हुन्छ ।”

के यसमा कांग्रेस र नेकपा एस तयार होलान् ? 

प्रचण्डको जवाफ थियो, “मैले यो विषय सिरियस उठाएको छु । तर यो गलत हो भन्ने कसैलाई पनि लागेको छैन । यसलाई छलफल गरौँ भन्ने भएको छ । संविधानविद्हरुसँग पनि छलफल गरौँ भन्ने लाग्छ । तर यसको सम्पूर्ण दोष एमालेले लिनुपर्ने हुन्छ । सदन नचलेपछि हामीले गर्ने के त ?”

प्रचण्डसँगको विशेष कुराकानी विस्तृतरुपमा बिहीबार प्रकाशित गरिनेछ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC