वासिंगटन । अमेरिकाको मद्यावधि चुनाव आउन दस महिनापछि हुनेछ । तर, राष्ट्रपति जो बाइडेनको सरकार र गठबन्धनले आफूहरु विरुद्ध थुप्रै अनुसन्धान हुने र बाइडेनविरुद्ध महाभियोगसमेत दर्ता हुनसक्ने सम्भावनाको संकेत पाउन थालेका छन् । यसका लागि रिपब्लिकनहरुले प्रतिनिधि सभा, सिनेट वा दुवैको सहयोग लिनसक्ने सम्भावना देखिएको छ ।
विधायक, कंग्रेसका कर्मचारी र नीति विशेषज्ञहरुले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति वफादार रिपब्लिकनहरुले कंग्रेसका महत्वपूर्ण समितिहरुमा बहुमत प्राप्त गर्न सकेको खण्डमा बाइडेन सरकारविरुद्ध थुप्रै अनुसन्धान सुरु हुनसक्ने भविष्यवाणी गरेका छन् ।
यसरी अनुसन्धान चाहनेमध्ये एक हाउस रिपब्लिकन म्याट गाएत्ज सबै कुरा ठीक नभएसम्म न्याय विभागलाई लक्षित गरिनुपर्ने बताउँछन् । त्यसैगरी अर्का रिपब्लिकन बोब गिब्स गत सेप्टेम्वर देखिनै अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता बोलाएको विषयलाई लिएर बाइडेनविरुद्ध महाभियोग लगाउनु पर्ने आवाज उठाउँदै आएका छन् ।
यता जेम्स कोमर हाउस ओभरसाइट कमिटीका अध्यक्ष बन्ने आशामा छन् । कोमरको कार्यालयले उनको तारो सरकारको खोप वैधानिकता र ट्रम्पको सैनिक प्रतिष्ठानमा नियुक्त अधिकारीहरुलाई हटाइएको लगायतका थुप्रै मामिला हेर्दै आइरहेका बाइडेनका छोरा हन्टर बाइडेनसमेत भएको जनाएको छ ।
सरकारलाई सम्भावित आक्रामक अनुसन्धानहरुबाट जोगाउन ह्वाइट हाउसले केही स–साना पाइला चालिसकेको छ । यसले न्यु ओर्लियन्सका पूर्व मेयर तथा विशेष सल्लाहकार मित्च ल्यान्द्रियुलाई एक ट्रिलियन डलरको पूर्वाधार कानुन कार्यान्वयनमाथि सिंहावलोकन गराउन भाडामा लिइसकेको छ । रिपब्लिकनहरुले यसको कार्यान्वयनमा सम्भावित जालसाजीको खोजी गर्ने प्रवल सम्भावना रहेको बताइएको छ ।