कोभिड-१९ को महामारीका कारण एउटा अङ्ग्रेजी शब्द निकै प्रचलित भएको छ - ‘न्यु नर्मल’ । सङ्क्रमणबाट जोगिन सधैँ सावधान रहने जीवनशैलीलाई भनिएको हो 'न्यु नर्मल' ।
नेपालीमा यसलाई ‘नयाँ जीवनशैली’ भनौ । ‘नयाँ सामान्य’ भन्दा केही नमिलेजस्तो जो लाग्छ । संसारका धेरै मुलुकका असङ्ख्य मानिसहरू बिस्तारै नयाँ जीवनशैलीमा अभ्यस्त हुँदै गएका छन् ।
बाँच्नैका लागि पनि अब नयाँ जीवनशैली नअपनाई सुख छैन । विडम्बना, नेपालमा भने नेतादेखि जनतासम्मले कोभिडको अस्तित्व नै अस्वीकार गरेजस्तो देखिन्छ । यहाँ त महामारी पहिलेको जीवनशैली नै सामान्य बनेको छ ।
राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख विपक्षी नेतालगायत ठूलाबडा लगभग सबैले कोभिड(१९ को सङ्क्रमण रोक्न राज्यले गरेको निर्देश उल्लङ्घन गरेका छन् । उनीहरूको हेलचेक्य्राइँको मूल्य भने जनसाधारणले चुक्ता गर्नुपर्छ ।
गत केही दिन यता सङ्क्रमणको जोखिम बढेको सार्वजनिक सूचना जारी भइसकेपछि पनि राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायतले खुलारूपमा स्वास्थ्य मापदण्डको अवज्ञा गरे । उनीहरू स्वयं सङ्क्रमित नहुँदासम्म सम्भवतः यो क्रम रोकिने पनि छैन ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मे, २०२० मा एउटा भोजमा सामेल भएकोमा बुधवार बेलायतको संसद्मा क्षमायाचना गरेका छन् । त्यतिबेला बेलायतमा कोभिड-१९ को सङ्क्रमण रोक्न सरकारले जनतालाई भने घरबाहिर ननिस्कन निर्देश गरेको थियो ।
कानुन बनाउनेहरूले नै कानुन उल्लङ्घन गरेकोमा प्रधानमन्त्री जोन्सनले आत्मालोचना गर्दै जनतासँग माफी मागेका हुन् । जोन्सन बेलायतको परम्परावादी कन्जरभेटिव पार्टीका नेता हुन् र अपेक्षाकृत अनुदार मानिन्छन् ।
नेपालका राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख विपक्षी नेतालगायत सबै नै आफूलाई लोकतन्त्रवादी, प्रगतिशील र जनपक्षीय ठान्छन् । तर, तिनमा जनमुखी प्रवृत्ति भने अनुदार परम्परावादी राजनयिकमा जति पनि देखिएन ।
नेपालका नेताहरूले न कोभिड-१९ पछिको ‘नयाँ जीवनशैली’ नै अपनाएका छन् न आफ्ना क्रियाकलाप कानुनविपरीत हुँदा पनि आत्मालोचना गर्दै जनतासमक्ष क्षमा याचना नै गरेका छन् । व्यवहारबाट लाग्छ उनीहरू मध्ययुगका युद्ध सरदार हुन् ।
बेलायतमा प्रधानमन्त्री जोन्सनको संसद्मा आलोचना भएको छ र उनको राजीनामाको समेत माग गरिएको छ । नेपालमा त हटाइएका राजाले समेत राज्यको कानुनको अवज्ञा गर्दा पनि सत्ता वा विपक्षका राजनीतिक नेताहरूले बोल्ने आँट गरेनन् ।
यस्तो अवस्थामा राष्ट्रपति प्रधानमन्त्री वा विपक्षी नेताको गैरजिम्मेवार आचरणको आलोचना गरेर राजीनामा माग्ने वा उनीहरू स्वयंले जनतासँग माफी माग्ने अपेक्षा पनि गर्न सकिँदैन । राजनीतिकमा नेतृत्व अझै पनि नैतिकता अभाव भएको ज्ज्वलन्त उदाहरण हो यो ।
यसैले जनसाधारणलगायत उद्यमी, व्यवसायी र पेसेवर सबैले नयाँ यथार्थ आत्मसात गरेर जीवनशैलीलाई ‘न्यु नर्मल’ बनाउनुको विकल्प देखिँदैन । शासकहरूसँग अपेक्षा गर्ने ठाउँ नभएपछि बाँच्नैका लागि पनि आफैँ सजग हुनुको विकल्प छैन ।