site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
ऊर्जा विघटित महाधिवेशनहरु

दलहरुको सम्पन्न महाधिवेशनका उपलब्धिलाई विषय बनाएर समीक्षा जारी छ । सम्बन्धित निर्वाचित पदाधिकारी र केन्द्रीय समितिको निर्णयले यसपछि पनि यस्तो समीक्षालाई तन्काई रहनेछ । समीक्षात्मक मूल्यांकनले उपलब्धिलाई देखाउँछ र उपलब्धिहीनतालाई पनि यसले नै बोध गराउने हो । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन क्रमशः सकिए । डेढ महिनाभित्र यी तीनै दलको केन्द्रीय अधिवेशन सम्पन्न भएका हुन् । यसको केहीअघि राप्रपाले पनि सकेको छ । 

यिनका राष्ट्रिय अधिवेशनको उपलब्धितिर खोतल्दा ‘हात्ती आयो तर फुस्सा’ जस्तै ठ्याक्कै भन्न त मिल्दैन तर करिब उस्तै हो ।

KFC Island Ad
NIC Asia

ठ्याक्कै होइन र करिब उस्तै किन ? समीक्षाको लागि यस्तो टिप्पणी अन्तरविरोधी लाग्छ । यसमा केही कारण छन् । जसले महाधिवेशनलाई फुस्सा जस्तै र ठ्याक्कै फुस्सा भन्न नमिल्ने बनाएको छ । 

पहिले ठ्याक्कै फुस्सा भन्न नमिल्नेतिर विचार गर्दा फुस्सा भन्नमिल्ने तस्बिर पनि क्रमशः उद्घाटित हुन्छ । एमाले नवौंपछिको दसौं महाधिवेशनको सिँढी शृंखलामा उक्लियो । अंकमै सही एक खुट्किलो चढ्यो, अब कसरी भन्ने फुस्सा ? 

Royal Enfield Island Ad

कांग्रेस पनि १३ औंपछि १४ औं महाधिवेशन हम्मेहम्मे तर्यो । वैधानिक उत्तीर्णाङ्क जोड्यो । अब कसरी भन्ने फुस्सा ? सम्मेलनबाट महाधिवेशनमा ‘प्रमोसन’ गरेको नेकपा (माओवादी) केन्द्रले त सिंगै महाधिवेशन पायो । अनि किन भन्ने फुस्सा ? यी प्रश्न तीनै दलका पदासीन नेताको जिम्मा छोडौँ । 

कारण अर्को पनि छ फुस्सा भन्न नदिने । यी दलमध्ये एमाले र माओवादीले ‘वाचित’ कार्यसमिति र स्वयंभू अध्यक्ष पाए । उनीहरु मताधिकारी भएनन्, निर्वाचित पनि भएनन् । निरन्तरताका अध्यक्षले स्वयंलाई र आफ्नो कमिटीलाई वाचित गरे । अपवाद बाहेक, सबैलाई ताली हान्न लगाए । नयाँ बोतलमा अधिक पुरानै पदार्थ सजाए । 

कोटका खल्तीका बन्दीहरु घोषित स्थानमा सार्वजनिक गरिए । तयारी कसरी भयो बेग्लै तर खल्ती खामका बन्दीहरु वाचित भए । जे भए नि, दुनियाँका सामु महाधिवेशन नामको कर्मकाण्ड सम्पन्नमस्तु । कसरी भन्ने फुस्सा ? 

नेपाली कांग्रेसको भाग्यशाली सूची ‘दुई कम्युनिस्ट पार्टीको जस्तो’ एकै नेताको खल्तीमा सीमित हुन पाएन ।  सभापतिका पाँच उम्मेदवारमा खासगरी चारैजनाको खल्तीमा आआफ्नै पौरखीहरुको नाम थियो । पारख गर्न ती सबैले महाधिवेशन प्रतिनिधिलाई आआफ्नो सूची बुझाए । केही हारे, केही जिते । 

तेह्रौं महाधिवेशनपछि पुस्तान्तरण र रुपान्तरणको भाषण गर्नेमध्येकै केही रातारात उल्टो मोडिए । ‘छाद्ने चाट्ने’ भनेजस्तै । अरु दुईको खल्तीबाट बाहिर देखाइए, कांग्रेसका केही चाहिँ बाहिर भन्दै कसैको खोल्तीभित्रै भित्रिए । कसैले पद पाए, कसैले पैसा र कसैले प्रलोभन । तब कसरी भन्ने फुस्सा ?  

अर्थात्, महाधिवेशन गरे भनिएका दलले एक एक अंक बढाए, थपे । अधिक पुरानै पदार्थ भए पनि नयाँ बोतल देखाए । यी ती कारण हुन् जसले फुस्सा भन्न दिँदैनन् । यस्तो महात्म्यबीच पनि कांग्रेसमा चाहिँ केही युवाले महाधिवेशनको मतबाट मान्यता लिए । एउटा कथा छ नि – ‘बूढोको साथमा बहरको बिजोग नहोस् ।’

यति भनिसकेपछि फुस्सा भन्न मिल्ने कारणको रछायाँ  देखिएकै छ । रछायाँलाई छायाँमा प्रस्ट गर्नुअघि दलहरुको महाधिवेशनको तात्पर्य के ? के यो नियमित आकस्मिकतामात्रै हो कि, नयाँ ऊर्जाको संवाहक पनि ? र दलको ऊर्जा के ? त्यो प्राप्त हुने कसरी ? यस्ता प्रश्नमाथि विचार गरौँ । 

ऊर्जा वा शक्ति यथास्थितिमा रहँदैन, गतिशील हुन्छ । आआफ्नो गति र प्रकृतिबमोजिम ऊर्जा गतिशील हुन्छ, वेगवान् पनि । प्रकृतिमा भेटिने ऊर्जा गतिवान् पनि छ र यथास्थितिका लाग्ने पनि छन् । यथास्थिति लाग्ने प्रकृतिका अवयवहरु पनि रुपान्तरित भइरहनु यिनको धर्म हो । 

प्रकृतिमा विद्यमान ऊर्जालाई थप गतिशील र ऊर्जाशील बनाउन मानिस निःसृत ज्ञान विज्ञानले गरेको प्रगति बखान्नै परेन । ती सर्वत्र भोग्य, उपभोग्य नै छन् । प्रकृतिजस्तै मानिस पनि स्वयं ऊर्जाशील छ तर उसमा केही सीमा छ कि ? यसैले उसलाई थप ऊर्जाशील बनाउन थप उपायहरु समेत चाहिन्छ । मानिस (कार्यकर्ता) विस्तृत चेतनाको विम्ब पनि हो तर उसलाई विचारको सेचन चाहिन्छ ।  

यस्तै उपायमध्ये राज्यसंस्था संगठन गरिएको हुनुपर्छ । नीतिलाई, व्यवस्थालाई, कार्य कार्यान्वयनलाई र व्यक्ति वा समाजलाई उर्जाशील बनाउन नै राज्यसंस्था संस्थापन गरिएको हो । यही राज्यसंस्थाभित्र सरकार, सरकारी संयन्त्र र दलहरु पनि पर्छन् ।

यसरी हेर्दा राजनीतिक दलहरु जहाँ दलीय स्पर्धालाई स्वीकारिएको छ, त्यहाँ एक दलमात्रै होइन बहुदलहरु नै राजनीतिका ऊर्जा संवाहक हुन् भन्ने बुझिन्छ । स्पर्धा भन्नु दलहरु (उम्मेदवार) बीच चुनावी प्रतिस्पर्धा मात्रै होइन । सरकार, सत्तामा पुग्नुमा मात्रै पनि स्पर्धा सीमित छैन ।

यस अतिरिक्त वा महत्त्वपूर्ण स्पर्धा (अन्तर वा आन्तरिक) दलबीच विचार, सोच र दर्शनमा हुन्छ । मूल नीति राजनीति मानिसकेपछि देशको सबै नीतिको ऊर्जा राजनीति हो र राजनीतिको संवाहक दलहरु हुन् । वैचारिक ऊर्जाका आयामहरु र निरन्तरता सुषुप्ति हो । तर दलहरुको महाधिवेशन मानिसमा यही ऊर्जा उछालको उद्गम स्थल हो । कार्यकर्ताको ऊर्जा उद्भव र व्यक्त हुन पाउने अवसर पनि । 

महाधिवेशनको लामो वैध प्रक्रिया पूरा गरेर दलहरुले कार्यकर्तालाई ऊर्जा भर्छन् । यिनै कार्यकर्ता राजनीति निरपेक्ष जनताका पनि दैनन्दिन साझेदार हुन् । अतः ऊर्जा टन्न कार्यकर्ताले नै ती जनता वा समाजलाई ऊर्जाशील बन्न, बनाउन प्रेरित गर्छन् र आफू समर्थित दलको पक्षमा उभ्याउन समर्थ हुन्छन् । महाधिवेशनमा व्यक्त नभएको वा नसुनिएको विचारहीन कार्यकर्ता युवत्वहीन फूल जस्तै स्वयं ओइलाउँछन् । अनि मानवीय ऊर्जा विघटित हुन्छ । 

भनिएका दलहरुको महाधिवेशनका सहभागी प्रतिनिधि हुन् कि शुभेच्छुक वा किनाराका साक्षी पर्यवेक्षक–समीक्षकहरु ? यी सबैलाई सोधियोस् त्यहाँ ऊर्जाको कोसेली के पायौ ? तिनले पक्कै भन्नेछन्– ‘म शून्यमा शून्य सरी बिलाएँ’(फर्किएँ) । यही कारणले हो महाधिवेशनहरुलाई ‘हात्ती आयो तर फुस्सा’ भन्नु परेको । 

यसपछि, महाधिवेशनबाट फर्किएका थरीथरीका राजनीतिक प्रतिनिधिसँग कुरा हुने नै भयो । विश्लेषक र दलहरुतिर अपेक्षाले आँखा लगाउने सामान्यको भाका पनि सुनिने नै भयो । थोरै, धेरै जति होउन् यी सबैको स्वरले भरोसा जागेको मुग्घ अठोट भन्न सकेनन् । बस् नेता पाइयो । विचार नि ? छैन । यसैले फुस्सा भन्न पनि मिलेन, फुस्सा भन्न पनि मिल्यो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro