काठमाडौं । पछिल्लो समय विवादको शिखरमा पुगेको बतास समूहलाई सरकारी संयन्त्रलाई लालचमा पारेर राष्ट्रिय सम्पत्ति हडप्ने कोशिस गरेको आरोप लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका अत्यन्त निकटका व्यापारी मानिएका आनन्दराज बतासलाई अहिले बालुवाटारले समेत बेवास्ता गरेको समाचार बाहिर आएका छन् ।
आफ्ना विषयमा अनेक समाचार आएपछि समूहका अध्यक्ष आनन्दराज बतास आफैँ आफ्नो काम कारवाहीको रक्षार्थ अघि बढेका मात्र छैनन् बरु देउवासँगको आफ्नो सम्बन्धमा पनि उनले खुलेर कुरा राखेका छन् ।
यिनै सन्दर्भमा बाह्रखरीले बताससँग उनको राजनीतिक साँठगाँठ र सोही सम्बन्धको प्रभावले व्यापार–व्यवसाय आफ्नो हात पार्न के कस्तो काम गरे भन्ने विषयमा खुलस्त कुराकानी गरेको छ ।
बतासको राजनीतिक कनेक्सन
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको सम्बन्धको शुरुवात २०५७ सालबाट भएको देखिन्छ ।
त्यसअघि तनहुँको दुलेगौंडाका एक व्यापारीका जेठा छोरा आनन्द गण्डकी बोर्डिङमा पढ्न पोखरा आएका थिए । पढाईपछि त्यहाँ उनले टेलिफोनको एसटीडी सेवा प्रदान गर्ने पसलबाट केही पैसा कमाएका थिए । पछि मोटरको डिलर लिएपछि न्युरोडमा होटल आनन्द खोलेका थिए ।
त्यहीबेला, नेपाली कांग्रेसको दशौँ महाधिवेशन २०५७ माघ ६ देखि १० गतेसम्म पोखरामा भएको थियो ।
अहिलका शेरबहादुर देउवाकोभन्दा बढी रजगज त्यसबेला गिरिजाप्रसाद कोइरालाको थियो । कोइराला सभापतिका आकांक्षी थिए । नवौँ महाधिवेशनमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको साथ र सहयोग पाएका चिरञ्जीवी वाग्लेलाई भारी मतले पराजित गरेका कोइराला दशौँ महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिन चाहन्थे ।
उनीविरुद्ध सबैभन्दा बलियो उमेदवारकारुपमा देउवा नै थिए । पोखरा महाधिवेशनमा सभापतिको दौडमा रहेका देउवालाई उनीनिकटकै नेताहरुले त्यसबेलाको चर्चित होटल ‘होटल आनन्द’मा सम्पर्क कार्यालय खोल्ने ठाउँ खोजिदिए ।
गिरिजाप्रसाद कोइरालाको रजगज थियो देउवासँग लाग्ने नेताहरु त्यसबेला धेरै थिएनन् । देउवाले त्यसबेला जम्मा ५०७ मत प्राप्त गरे कोइरालाले ९३६ मत । तेस्रो उमेदवार रामहरी जोशी उनले जम्मा १० मत मात्रै प्राप्त गरे । त्यही बेलादेखि नै बतास समूहका संयोजक आनन्द बतास देउवासँग नजिक हुने मौका पाए ।
देउवाले उनै बतासको होटलमा सम्पर्क कार्यालय खोले । उनले कार्यकर्ता त्यहीँ भेट्न थाले ।
पोखराका विभिन्न होटलमा बसेका महाधिवेशन प्रतिनिधिसम्म देउवा बताससँगै हिँडे । आफ्नै नजिकका नेताहरूले बताससँग सम्पर्क गराइदिएको हुनाले देउवाले पनि उनलाई ‘खास सहयोगी’ बनाए ।
“म होटलको साहुजी । मेरो होटलमा भाडामा लिएर कार्यालय राखेको नेताको काम आफैले गर्नुपर्छ भनेर त्यसबेला निश्वार्थ लागेको हुँ,” बतास स्वीकार्छन् ।
तर उनी कांग्रेस थिएनन् । “म कहिले पनि कांग्रेस थिइन, प्रजातन्त्रवादी भने हुँ,” उनको भनाइ छ ।
देशको प्रधानमन्त्री भइसकेको व्यक्ति सभापतिको प्रतिस्पर्धामा रहेको पाएपछि बतासले देउवालाई छाडेनन् । तर उनको दाबी छ त्यो निस्वार्थ सहयोग थियो, सोझो हिसाबले ।
“देउवा यो देशमा पटक पटक प्रधानमन्त्री हुनेछन्, सभापति हुनेछन्, म पनि काठमाडौं जान्छु र देउवासँग फाइदा लिन्छु भन्ने कहिले पनि सोचिन,” बतासको प्रतिक्रिया छ ।
महाधिवेशनको अवस्था कस्तोसम्म थियो भने प्रतिनिधि देउवासँग भेट्नसमेत मान्दैनथे गिरिजाप्रसाद कोइरालाको सम्बन्धमा ।
बतास गाडी चलाउँथे, सबै होटलमा देउवालाई पुर्याउँथे प्रतिनिधिसँग सकेसम्म भेट गराउँथे, राजनीतिमा खासै चासो नभएका तर व्यापारिक दृष्टिले पछिसम्म देख्न सक्ने बतासले गिरिजाप्रसाद कोइरालाको शक्तिका बारेमा त्यति मतलब गरेनन् ।
महाधिवेसन सकियो देउवा पराजित हुँदै काठमाडौं फर्किए बतास निरन्तर देउवालाई भेट्न आउन छाडेनन् । पोखरामा जाँदा बतासजत्तिको विश्वासिलो देउवाले अर्को कोही भेटेनन् ।
कतिसम्म भने शेरबहादुर देउवालाई राजाले जेल हालेको बेला उनलाई भेट्न जाने धेरै हुँदैनथे बतास निरन्तर पुग्थे ।
कांग्रेस विभाजित भयो, देउवा बेला बेला कांग्रेस (प्रजातान्त्रिक)को कार्यक्रम लिएर पोखरा पुग्थे विमानस्थलमा ५–७ जनाभन्दा कोही हुँदैनथे गाडी लिएर बतास पुगिहाल्थे, कहाँ पुर्याउनुपर्ने हो, कुन कार्यक्रममा जानुपर्ने हो सबै व्यवस्था उनै गरिदिन्थे ।
बतास आफैँ भन्छन्, “शेरबहादुर देउवालाई राजाले जेल हालेका बेला निरन्तर भेट्न जानेमध्ये एकजना मै हुँ, म निरन्तर भेट्न जान्थेँ, दाइ भन्थेँ । कांग्रेसीहरु भेट्न जान डराउँथे । म पोखराबाटै भेट्न आउथेँ । फाइदाका लागि भन्दा पनि मैले सहयोग गरेको नेताका रुपमा हेर्थेँ । मलाई सांसद बन्न छैन, मन्त्री बन्न छैन, मेयर बन्न छैन, मेरो व्यापार बढाइदिन उहाँले सहयोग गर्नुपर्ने अवस्था थिएन र अहिले पनि छैन ।”
तर नाम बेचेर व्यापार त लिनुभएको होला नि ? बाह्रखरीको प्रश्नमा उनी भन्छन्, “मलाई कसैले प्रमाणित गरिदेओस् मैले उहाँको नाम बेचेर कुन चाहिँ व्यापार लिएको छु ? कहाँ प्रभावित पारेको छु ? उहाँ प्रधानमन्त्री भएको बेलामा कानुन विपरीतका कुन काम गरेको छु ? मैले पैसा कमाउन थालेपछि कांग्रेसभित्र यो शेरबहादुर देउवाको मान्छे हो भनेर असहयोग गरियो । बाँकी कम्युनिष्टले यो कांग्रेस हो भनेर पेलेको पेल्यै गरे । उहाँ (देउवा)सँगको संगतले मलाई फाइदा होइन घाटा भएको छ । म देउवाबाट पीडित छु । मैले अहिलेसम्म कुनै एक रुपैयाँको फाइदा लिएको छैन ।”
देउवाको पैसा चलाएको आरोप छ त ?
बतास भन्छन्, “सुको लिएको भेटिए प्रमाणित गरेर कडा कारबाही गरे हुन्छ ।”
त्यसो भए कसको पैसा चलाउनुहुन्छ ?
“म यहाँसम्म कसरी यहाँसम्म आइपुगेँ भने तीन दाजुभाइको मेहनत, इमान्दारिता र बैंकले पत्याएको आधार नै हो । अहिले पनि बैंकमा अर्बौँ लोन छ ।”
बतास देउवाबाट पीडित भएको दाबी गर्छन् तर गण्डकी प्रदेशका कांग्रेस कार्यकर्ताको गुनासो के सुनिन्छ भने कार्यकर्ता र सभापतिको बीचमा एकजना व्यापारी छन् उनी हुन् बतास ।
बतासले नभनेसम्म भेट्न पनि पाइँदैन भन्ने गुनासो छ । काठमाडौंबाट देउवा पोखरा जानुपर्यो भने सबैभन्दा पहिले जानकारी राख्ने व्यक्ति हुन् बतास । विमानस्थलमा पुग्नासाथ बतासले नै रिसिभ गर्थे, प्रधानमन्त्री हुँदाबाहेक अरु बेला जहिले जाँदा जहिले पनि देउवाको ड्राइभरको रुपमा काम बतासले नै गरे ।
तर दशौँ महाधिवेशनदेखि आजसम्मको यस्तो दिन छैन देउवा पोखरा पुग्दा बतास पछि छन् । जहिले पनि बतास अघिअघि देउवा पछिपछि ।
प्रधानमन्त्री भएका बेला जाँदा देउवा सरकारी निवासमा बस्छन् बतासले ड्राइभरको काम गर्न पाउँदैनन् त्यहाँ सरकारी संयन्त्रले छाड्दै छाड्दैन । तर त्यहाँ कसैलाई भेट गराउन पर्यो भने बतास अघि बढिहाल्छन् ।
“त्यो मेरो फाइदाका लागि होइन, उहाँ र कांग्रेसकै लागि गरेको हुँ,” उनी भन्छन्, “म कहिल्यै पूर्वाग्रही भएर त्यस्तो काम गरिन किनकि म कांग्रेस होइन, राजनीति गर्नु छैन ।”
बाह्रखरीले फेरि प्रश्न तेर्स्यायो : तपाईंलाई आरजु राणा देउवासँग पनि जोडेर हेर्छन्, व्यापारिक साझेदार हो ?
“मेरा १६ वटा कम्पनी छन् । आरजुको कुनै पनि कम्पनीमा सेयर छैन, हेरे हुन्छ । उहाँको कुनै पनि रकम मैले चलाएको छैन,” स्पष्टीकरण आयो बतासबाट ।
तर पहिले शेरबहादुर देउवासँग नजिक रहेका बतास पछिल्ला वर्षमा भने आरजु राणा देउवासँग नजिक रहेको निकटतम बताउँछन् ।
“दुवैसँग राम्रो सम्बन्ध छ,” उनी स्वीकार गर्दै भन्छन्, “शेरबहादुर देउवाको म सुखको साथी होइन दुःखको साथी हुँ । उहाँ शक्तिमा हुँदाको म भाइ होइन, नहुँदाको म भाइ हो । यो सत्य हो । अहिले मलाई नै भेट्न गाह्रो हुन्छ । म जस्ता साना मान्छेले अहिले उहाँलाई भेट्न पनि पाउँदैनन् ।”
जानकारहरूका अनुसार अहिले देउवा र बतासको बीचमा अर्कै व्यापारिक समूह प्रवेश गरिसकेको छ । देउवालाई अहिले बतासको आवश्यकता छैन । बतासलाई पनि पहिले आफूले नै गुन लगाएको हुँदा तिर्ने पालो देउवाको हो भन्ने परेको छ ।
कतिसम्म भने अहिले प्रेम आलेले गरेको निर्णयलाई प्रधानमन्त्री देउवाले ‘धन्यवाद’ भनिसकेका छन् ।
अहिले देउवा र बतासबीच आवतजावत छैन । आरजु राणा सल्लाहकार रहेको बतासको वेबसाइटमा केहीदिनअघिसम्म उल्लेख थियो तर यो अहिले हटाइएको छ ।
वर्षैपिच्छे सल्लाहकार फेरिने भए पनि आरजु राणाको नाम पछिसम्म रहन पुग्नु आफ्नो गल्ती भएको बतासको स्वीकारोक्ति छ ।
कांग्रेससँगमात्रै होइन एमालेसँग पनि उत्तिकै सम्बन्ध बनाउन सफल भएको र त्यसबाट फाइदा लिएको अर्को आरोप पनि बतासमाथि छ ।
बतासको केपी शर्मा ओली र योगेश भट्टराईसँगको सम्बन्ध
पशुपतिस्थित आनन्द भिजन होस् वा नारायणहिटी केपी शर्मा ओलीकै पालामा बतासले टेन्डर पारेका हुन् ।
त्यसअघि रवीन्द्र अधिकारीसँग बतासको सम्बन्ध थियो जो पर्यटनमन्त्री रहेकै बेला हेलिकोप्टर दुर्घटनामा परे । उनी बतासका क्लासमेट हुन् ।
रवीन्द्रसँगको सम्बन्धका कारण नै उनले पशुपतिस्थित धर्मशालामा हात हाल्नुपरेको स्वीकार गरेका छन् त्यसको चर्चा केहीबेरपछि हुनेछ ।
योगेश भट्टराईसँग बतासको सम्बन्ध सामान्य रहेको जानकारहरु बताउँछन् ।
नारायणहिटी परिसर भाडामा दिने विषयमा योगेश भट्टराईको संलग्नता नभएको बतास निकटहरु बताउँछन् तर धेरैले तालुक मन्त्रीलाई यो विषयमा जानकारी नहुने भन्ने नै नहुने तर्क गर्छन् ।
‘केपी शर्मा ओलीले मलाई ज्वाइँ भन्नुहुन्छ’ प्राइम टाइम्स टेलिभिजनको स्टिङ अपरेशनमा बतासले भनेका छन् ।
के हो त यसको अर्थ ?
आनन्द बतासले झापाबाट बिहे गरेका हुन् । केपी शर्मा ओली पचासको दशकमा पोखरा गएका बेला आफ्नो साथीको छोरीले पोखराकै केटासँग विहे गरेको स्मरण गरेपछि बताससँग भेट भएको थियो ।
तर त्यो भेट सामान्य चिनाजानिमै सकियो । कांग्रेस निकट बतास र ओलीको दोहोरो भेटघाट भएन ।
बेला बेलामा ओलीले भेट्दा बतासलाई ‘ज्वाइँ’ भन्थे, निरन्तर भेट हुँदैनथ्यो । बतासको ससुराली झापा भद्रपुर । भद्रपुरका यमबहादुर श्रेष्ठको छोरी बतासले विहे गरेका हुन् । श्रेष्ठ केपी ओलीका चिनेजानेका व्यक्ति हुन् । त्यसैले ओलीले बतासलाई ‘ज्वाइँ’ भन्ने गरेका थिए ।
केपी ओली प्रधानमन्त्री भएका बेला भने एकपटक भेट गरेको बतास बताउँछन् ।
“त्यो पनि एकजना धर्मगुरु आउँदा उपेन्द्र महतोदेखि धेरै व्यापारी भएको बेलामात्रै भेट भएको हो,” बतास भन्छन् ।
विवादमा बतास
बतास समूहलाई राष्ट्रिय सम्पत्ति लगाएको आरोप यस्ता छन्
–नारायणहिटी संग्रहालयभित्र रेष्टुरेष्ट सञ्चालन गर्न लागेको, बंकरमा बार बनाउँदै
– भारतले बनाइदिएको धर्मशाला सस्तोमा भाडामा लिएर महंगोमा व्यापार गरेको
–पोखरामा रहेको गण्डकी संग्रहालयको जग्गा र भवनमा रजाइँ गरेको
–सेती नदी थुनेर ३५ वर्षसम्म त्यहाँको ढुंगा, गिटी निकाल्ने काम गर्दै
–तनहुँको मानुङकोटको सार्वजनिक जग्गामा आँखा लगाएको
–अक्सिजन प्लान्ट ल्याउन भनेर पैसा उठाएर नल्याएको
–पाल्पाको श्रीनगर र रानीमहल लामो समयसम्म लिएर सञ्चालनको प्रयास गरेको
पहिले हेरौँ सबैभन्दा बढी चर्चामा रहेको नारायणहिटी दरबार
नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन विकास समितिले २०७७ साउन २६ गते एक सूचना जारी गर्यो ।
क्याफ्टेरिया भवन भाडामा दिने सूचना ।
समितिले त्यसअघि नै त्यहाँ क्याफ्टेरिया बनाउने भनेर भवनसमेत निर्माण गरिसकेको थियो । उक्त भवन नै भाडामा दिने सूचना थियो त्यो । क्याफ्टेरिया प्रयोजनकै लागि समितिले करोड खर्च गरेर भवन निर्माण गरेको थियो ।
भाडामा दिनेबारे सूचनामा भनिएको छ– यस समितिको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालयको अवलोकनकर्ता, सर्वसाधारण र पर्यटकहरुको सुविधानको लागि क्याफ्टेरिया, मुख्य प्रवेशद्वारसँगै रहेको सोभिनियर सप सञ्चालन गर्ने गरी र गणतन्त्र स्मारकको भुइँतला स्थित क्याफ्टेरिया भवन क्षेत्र न्युनतम ३–३ वर्षका लागि भाडामा दिने निर्णय भए बमोजिम इच्छुक होटल, रेष्टुरेष्ट, क्याफ्टेरिया तथा क्यान्टिन व्यवसायको अनुभव भएका तथा सञ्चालन गरिरहेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरुबाट सर्तहरुको अधिनमा रही प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।”
एक महिनाको उक्त समयमा कुनै पनि निवेदन परेन ।
विकास समितिले फेरि म्याद बढाएर असोज १८ गतेसम्म निवेदन दिन सक्नेगरी सूचना निकाल्यो
त्यसबेला दुईवटा कम्पनीले निवेदन दिए । बतासले गरेको गल्ती यहीँनेर के देखिन्छ भने उनले धेरै फर्मबीच प्रतिष्पर्धा गराउन आफ्नै लगानीमा रहेका बाँकी तीनवटा फर्मका तर्फबाट पनि निवेदन दिए । आफ्नै कम्पनीबीच प्रतिष्पर्धा गराएर टेन्डर पार्न सफल भएको कतिपयको आरोप छ ।
बीपीएस लिजिङ एण्ड म्यानेजमेन्ट प्रालिले यो टेन्डर पार्यो । बोलपत्र स्वीकृत भयो । ठेक्का सम्झौता भयो ।
२०७७ माघ ६ गते विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बीच म्यानेजमेन्टका नाममा कार्यादेश दिँदै पत्र लेखे । पत्रमा भनिएको छ, “यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सचालन विकास समिति र त्यस बी म्यानेजमेन्ट प्रालिबीच नारायणहिटी दरबार संग्रहालय परिसरभित्रको क्याफ्टेरिया क्षेत्रमा रेष्टुरेष्ट सञ्चालन गर्न बहालमा दिने लिने सम्बन्धमा २०७७ पुस १७ गते भएको सम्झौता बमोजिम संग्रहालयको हरियाली तथा वातावरणीय सुधार गरी थप आकर्षक बनाई ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्न सम्झौतामा उल्लेखित सर्तहरुको पालना गर्दै निर्माण कार्य गर्न कार्यादेश दिइएको छ ।”
त्यसपछि काम अघि बढ्यो । बतासले भित्र गार्डेनिङको काम अघि बढाए । काम अन्तिम चरणमा पुगेको थियो, सञ्चारमाध्यममा समाचार सार्वजनिक भयो । पर्यटनमन्त्री प्रेम आले यो विषयमा आक्रोशित बने । उनले तत्कालै काम रोक्न मौखिक आदेश दिए । सोही बमोजिम काम रोकियो ।
२०७८ पुस २० गते विकास समितिका तर्फबाट बतासलाई पत्र काटियो ‘मन्त्रीको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्नू’ ।
सोही दिन अर्को पत्र काटियो– निर्माण गरिएका संरचना भत्काउनू ।
पर्सीपल्ट अर्को पत्र काटियो २०७८ असार १ गतेदेखिको मासिक दुई लाख २१ हजार ६१८ रुपैयाँका दरले अहिलेसम्म बाँकी रहेको भाडा रकम तीनदिनभित्र बुझाउनू ।
यस विषयमा बाह्रखरीको प्रश्नमा बतासको जवाफ यस्तो छ ।
नारायणहिटी दरबार संग्राहलयले क्याफ्टेरिया चलाउने भनेर टेन्डर आह्वान गर्यो । ३५ दिने सूचना निकाल्यो । कुनै पनि कम्पनी उक्त सूचनाअनुसार दर्खास्त दिन तयार भएनन् । थाहा पाएनन्, चाहेनन्, वा डराए जे भए पनि कुनै दर्खास्त परेन ।
त्यसपछि थप केही दिनको सूचना प्रकाशित भयो । हामीले जानकारी पायौँ । त्यो बेलामा अर्को एक कम्पनीले पनि थाहा पाएछ ।
दुईजनाले मात्रै फर्म किन्यौँ । दुईवटामात्रै पर्यो भने मिलेमतो हुन्छ अरु फर्मलाई पनि टेन्डर हाल्न लगाउनुपर्यो भन्ने कुरा त्यहीँभित्रबाट भयो । त्यहाँ दुईवटा कम्पनी भए पनि पुग्थ्यो । तर त्यहीँभित्रैबाट दुईवटा कम्पनीमात्रै भए अरु पनि चाहियो भनेपछि मैले कसलाई भन्ने ? मैले अरु आफ्नै तीनवटा कम्पनीको नामबाट पनि टेन्डर हालेँ । यो औपचारिकताका लागि मात्रै थियो । त्यो नहाल्नुपर्ने रहेछ । एउटा ‘रामबहादुर’को हुन्थ्यो, अर्को बतासको ।
टेन्डर मलाई पर्यो, सोहीअनुसार सम्झौता भयो । त्यहाँ पचास हजार रुपैयाँ भनिएको छ त्यो पूरै गलत कुरा हो । सम्झौता भयो, कार्यादेश दियो, काम गर्यौँ हामीले त्यहाँ निकै राम्रो गार्डेन पनि बनायौँ । पूरा दुबो बिच्छ्याएको छ । अहिलेसम्म करिब तीन करोड खर्च भएको छ नारायणहिटीभित्रमात्रै ।
स्ट्रक्चरभन्दा बढी गार्डेनको ब्युटीफिकेसनमा खर्च भएको छ । यो रियालिटी हो । उनीहरुले पहिले नै क्यान्टिनका लागि भनेर भवन बनाइसकेका छन् । भवन बनाएर तीन चारवर्षदेखि भाडामा लगाउन प्रयास भए पनि लगाइएको थिएन ।
उनीहरुले क्यान्टिनका लागि भनेर बनाएको संरचना हो त्यो । त्यो भवनलाई नपुग्ने संरचना मैले बनाएको हो । त्यहाँ किचनसहितका काम मैले गरेको हो । त्यहाँभित्र क्याफ्टेरिया चाहिन्छ कि चाहिँदैन भन्ने प्रश्न नै होइन । उनीहरुले नै करोड खर्च गरेर भवन बनाएको छ त्यसैका लागि ।
त्यो भवन भाडामा लागेको थिएन । त्यो भवनको भाडा दुई लाख बढी छ । त्यसमा पुगेन भने अरु निर्माण गर्न पाउने सम्झौता छ ।
सोअनुसार बाँकी संरचना बनाइएको हो । हामीले भाडामा लिएको १० रोपनी होइन । हामीले भाडामा लिएको त उनीहरुले बनाएको भवन मात्रै हो । त्यो भवनबाहेक अरु कोठाहरु बनाउनुपर्यो भने बनाउन सकिने तर प्रतिस्क्वायरफिटले नापेर भाडा तिर्नुपर्ने सर्त छ ।
उनीहरुले बनाएको भवनले नपुगे बनाउन पाइने तर प्रतिस्क्वायरफिट उनीहरुले तोकेको भाडा मैले तिर्नुपर्ने हो ।
हामीले निर्माण गर्दै थियौँ– निर्माण रोक्नू भन्ने पत्र आयो । हामीले रोक्यौँ । फेरि भत्काउनू भन्ने पत्र आयो । हामीले बनाएको कुरा भत्काउन तयार भएनौँ किनकि हामी नियमसंगत तरिकाले त्यहाँ प्रवेश गरेका थियौँ ।
फेरि भोलिपल्ट अहिलेसम्मको भाडा तिर्नू भन्ने पत्र आयो । हामीले १२ लाख बढी भाडा तत्कालै तिर्यौँ । सम्झौतामा निर्माण अवधिभरको भाडा नलाग्ने भनेर लेखिएको छ ।
त्यतिमात्रै होइन कोरोनालगायतका कारण भएमा भाडा छुट हुने उल्लेख छ । हामीले कोरोनाका कारण काम गर्न पाएनौँ भनेर निवेदन पनि दिएका छौँ ।
काम रोक्नू भन्यो हामीले रोक्यौँ, भत्काउनू भन्ने पत्र आयो हामीले भत्काएनौँ भाडा तिर्नू भन्ने आयो हामीले तिर्यौँ ।
काम रोक्नू भन्ने कस्तो पत्र आएको छ भने पत्रपत्रिकामा आएको समाचारअनुसार माननीय मन्त्रीज्यूको मौखिक आदेशमा भनेर लेखिएको छ ।
तपाईंले बनाउनुभएका संरचनाको नक्सा पास भएको छ ?
यहाँनेर प्रश्न उठाउन सकिने विषय यो चाहिँ हो । त्यसको नक्सा पास भएको छैन, त्यो चाहिँ गल्ती गरेकै हो । मैले त के उनीहरुले बनाएको भवनको नक्सा पास छैन त्यो पनि भत्काउनुपरेन ?
मैले गरेका काम सबै नियमसंगत नै छन् । यस्तो बन्दैछ भनेर हामीले नक्सा दिएका छौँ । यति खर्च लाग्छ भनेर हामीले बजेट दिएका छौँ । त्यसपछिको घटनाक्रम के भयो सबै जानकार हुनुहुन्छ ।
“सरकारसँग मिलेर काम नगर्ने भए कोसँग मिलेर काम गर्ने त ?,” बतासको प्रश्न छ, “कि सरकारले नै अघि बढाउन हुँदैन बढाएपछि के आधारमा रोकियो ? के आधारमा भत्काइयो ? यसको जवाफ पाउनुपर्दैन ? हामी निजी क्षेत्रले यहाँ टेन्डर आह्वान गर भनेर सरकारले गरेको हो र ?”
अब जस्तोसूकै अवस्थामा पनि नारायणहिटी नछिर्ने उनले कसम नै खाएका छन् ।
“मैले अब क्षतिपूर्ति दाबी गर्नुको विकल्प छैन,” बतासले भने, “म अब अदालत जान्छु ।”
नारायणहिटीभित्र डान्स बार बनाउन लागिएको हो ? भन्ने बाह्रखरीको प्रश्नमा उनी भन्छन्, “नो, हुँदै होइन । क्याफ्टेरिया एण्ड गार्डेन रेष्टुरेष्टमात्रै बनाउन लागिएको हो । यो नै रियालिटी हो ।”
मन्त्री आले किन आक्रोशित बने त ?
नारायणहिटी संग्रहालयभित्र संरचना बनिरहेकोबारे विकास समितिका कार्यकारी निर्देशकले मन्त्रीलाई जानकारी गराएका थिएनन् ।
स्रोतले दिएको जानकारीअनुसार समाचार देखेपछि मन्त्री आलेले तत्काल कार्यकारी निर्देशकलाई फोन गरेर झपारे ।
तत्काल काम नरोके राजीनामा दिन धम्की दिए ।
त्यसपछि यो कुरा बालुवाटारसम्म पुग्यो । बालुवाटारबाट मन्त्री आलेलाई फोन गरियो । त्यो फोन कसको थियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
त्यसको केहीबेरमा फेरि आलेले कार्यकारी निर्देशकलाई फोन गरेर थर्काए ।
“मलाई बालुवाटारबाट फोन गर्न लगाउने ? को होस् तँ ? को हो त्यो बतास ?,” मन्त्री आलेको भनाई उद्धृत गर्दै स्रोत भन्छ, “आजैदेखि त्यहाँ निर्माण गरिएको संरचना भत्काउन थालिएन भने भोलि राजीनामा दिन तयार हुनू ।”
त्यसलगत्तै कार्यकारी निर्देशकले निर्माणधीन संरचना भत्काउन निर्देशन दिएका थिए ।
पशुपतिस्थित धर्मशालामा तारे होटल
भारतले निर्माण गरिदिएको धर्मशाला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्तरुपमा उद्घाटन गरेपछि त्यो करिब दुईवर्षसम्म अलपत्र रहेको थियो ।
पछि फेरि केपी नेतृत्वकै सरकार बन्यो, पर्यटनमन्त्री बने रवीन्द्र अधिकारी ।
उनको पालामा उक्त अलपत्र अवस्थामा रहेको धर्मशालालाई भाडामा लगाउन अध्ययन समिति बन्यो । अध्ययन समितिले यसमा थप लगानी गरेर २५ वर्षका लागि भाडामा दिन सकिने प्रतिवेदन दियो ।
पशुपतिको यो धर्मशालामा प्रवेश कसरी भयो त ? बतासको जवाफ यस्तो छ–
धर्मशाला भारत सरकारले निर्माण गरिदिएको हो । मोदी र ओलीले उद्घाटन गरेपछि दुई वर्षसम्म त्यसै रह्यो । कसैले सञ्चालन गर्न सकेन । कसरी भाडामा लगाउने र कसरी सञ्चालन गर्ने भन्ने कुरै अघि बढेन । जति बनेर भारतले हस्तान्तरण गरेको थियो, त्यतिमै सीमित रह्यो ।
पशुपति विकास कोषले के गर्ने भनेर निर्णय गर्न सकेन । पछि मन्त्री रवीन्द्र अधिकारीको पालामा पर्यटन मन्त्रालयले नाथमलाई त्यो भवन कसरी सञ्चालन गर्ने भनेर रिपोर्ट तयार पार्न भन्यो । त्यसले सय पानाको रिपोर्ट दियो ।
त्यो रिपोर्टअनुसार स्तरोन्नती गर्ने भनियो । रिपोर्टअनुसार नै प्रत्येक कोठामा एट्याच बनाऔँ, तातो र चिसो पानीको व्यवस्था गरौँ ।
त्यसमा सस्तो खालका कोठाको पनि व्यवस्था गरौँ । एसी र एट्याचवाला पनि गरौँ, यसलाई स्तरोन्नती गरेर सञ्चालनमा ल्याऔँ भन्ने सुझाव दियो । रिपोर्टमा करिब २२ करोड खर्च हुन्छ त्यो उठाउन १०–१२ वर्ष लाग्छ । २५ वर्षको लागि लिजमा दिनुपर्छ त्यसपछिमात्रै निजी क्षेत्र पनि आकर्षित हुन्छ भनेर रिपोर्ट दिइएको छ ।
त्यो रिपोर्टको आधारमा पशुपति विकास कोषले टेन्डर निकाल्यो । तर विकास कोषले २५ वर्षलाई घटाएर १० वर्ष बनाएर टेन्डर आह्वान ग¥यो ।
टेन्डर निकाल्ने क्रममा यती समूह पनि प्रतिष्पर्धामा गयो । न्यौपाने समूह पनि गयो ।
बेला कस्तो भयो भने यती समूहले त्यो टेन्डर दिएको केही समयमा नै अध्यक्ष आङ छिरिङ शेर्पाको निधन भयो ।
प्राविधिक र आर्थिक पक्षलाई हेरिएको थियो । टेन्डर मलाई पर्यो । सम्झौता भयो ।
त्यो ठाउँमा रक्सी र मासु लुकाएर पनि खान पाइँदैन । म शिवको भक्त हुँ । पशुपति क्षेत्र विकास कोषले सञ्चालन गरेको क्षेत्रभित्र रक्सी र मासु कुनै हालतमा प्रवेश गराउन पाइँदैन । त्यसका लागि बाहिर नै ठाउँ छ ।
मैले रक्सी खान खोज्ने पाहुनालाई निकालेको रेकर्ड अहिले पनि छ ।
कार्यविधि पारित नगर्दै मन्त्री रवीन्द्र अधिकारीको दुर्घटनामा मृत्यु भयो । सम्झौताबमोजिम मैले लगानी गरेँ । अहिले पनि त्यो सञ्चालनमा छ । मलाई दिइएको १० वर्षका लागि हो । बाहिरबाट हेर्दा धेरै ठूलो देखिन्छ । तर मेरो दुर्भाग्य के भयो भने लगानी नै गरेर त्यहाँ जान हुँदैनथ्यो ।
मैले यहाँ राम्रो लगानी गरेर चलाउँछु भन्ने भयो । म आध्यात्मिक मान्छे पनि हुँ । मलाई घाटा हुनु भएन म काम गर्छु भन्ने भयो । सम्झौताअनुसार थ्रीस्टार लेबलको बनाएर सञ्चालनमा ल्याइएको हो ।
‘नेपालमा इतना बडा धर्मशाला हे’ भन्ने कुरा मैले सुन्न र पढ्न चाहन्छु भन्ने थियो । त्यो अनुसार म लगानी गर्न तयार भएको हुँ । यसमा लगानी गर्नुपर्छ भन्ने मेरो साथी रवीन्द्र अधिकारी नै हुन् । उनी नभएको भए पनि म त्यहाँ नजान पनि सक्थेँ ।
मैले धर्मशालामा जति लगानी गरेको छु त्यो दश वर्षमा उठ्दै उठ्दैन । मेरो लगानी भएको रकम कानुनसम्मत तरिकाले सरकारले देओस् धर्मशाला पनि चाहिँदैन, नारायणहिटी पनि चाहिँदैन । मैले २२ करोड लगानी गरेको छु ।
रामघाट दोहनको मुद्दा
पोखरामा जस्तो व्यक्तिले पनि भन्ने ‘रामघाट दोहन भयो, नियन्त्रण गर्नुपर्छ’ । खोला गहिरिँदै गयो । सबैले भन्ने यही हो । नदीको सतह बढाउनुपर्छ भन्ने सबैको धारणा छ । यसमा महानगरपालिकाले पहल गर्यो ।
“चिनियाँले नगरपालिकालाई एउटा प्रस्ताव गरेको रहेछ । रिपोर्टको आधारमा नगरपालिकाले टेन्डर निकाल्यो । त्यो टेन्डर मैले पाएँ,” टेन्डरको कुरा निकाल्दै बतास भन्छन्, “अझै सम्झौता भएको छैन, त्यहाँ हामी दुईजनाले संयुक्तरुपमा काम गर्ने भनेका हौँ । विजयमोहन भट्टराई र म । सम्झौता भएको छैन, काम अघि बढेको छैन तर सबै बतासले खायो भन्नेमात्रै समाचार आएको छ ।”
पातले छाँगो आफ्नो भन्दा बढी टेन्डरमा अरु कसैले लिएको भए पनि आफ्नो नाम मुछिएको भन्दै बतास आक्रोश पोख्छन् ।
“त्यो मैले लिएको होइन तर मैले नै लियो भनेर समाचार आइरहेका छन्,” उनले भने, “मैले होइन कर्किन गुरुङको कम्पनीले लिएको छ त्यो । त्यो मेरोभन्दा ठूलो प्रोजेक्ट हो ।”
मानुङकोट र पाल्पा पनि लिन खोजेको हो ?
बतासको जवाफ छ–
मलाई त्यहाँको मेयरले एकदिन के भन्नुभयो भने– तपाईं तनहुँको मान्छे । यहाँ केही नगर्ने ? तनहुँका नेताहरु रामचन्द्र पौडेलदेखि रामचन्द्र पोखरेलसम्मले भेट्दा पनि यही कुरा भन्नुहुन्थ्यो । तपाईं तनहुँको मान्छे तर तनहुँका लागि केही नगर्ने ? भन्ने प्रश्न सोधिरहनुहुन्थ्यो ।
मेयरकै प्रस्तावअनुसार हामी मानुङकोट हेर्न गयौँ । हामीले एउटा प्रस्ताव दियौँ, केवलकारदेखि रिसोर्टसम्म बनाउन सकिन्छ ।
नगरपालिकाले एलओआईमात्रै दिएको हो । सम्झौता भएको त कहाँ हो कहाँ ? म आफैँ खोज्दै गएको होइन, उहाँहरुकै प्रस्तावअनुसार हामी काम गर्न तयारमात्रै भएका हौँ । हामीलाई नदिन पनि सक्नुहुन्छ । हामी काम गर्ने मान्छे हौँ, काम पायौँ भने गर्छौँ ।
पोखराको म्युजियम १० वर्षअघि भाडामा लिएको हो, अहिले सम्झौता सकियो । अर्को व्यवस्था नभएसम्मका लागि बस्न पाउँ भाडा तिर्छु भनेर भाडा तिरेर बसेको हो । भाडा तिरिरहेको छु । अर्को व्यवस्था हुनासाथ मैले छाडिहाल्नुपर्छ ।
तर पाल्पामा बतासले आँखा लगाएको भन्ने कुरा गलत हुन् । पाल्पामा मैले टेकेको पनि छैन त्यो बारेमा मलाई थाहा पनि छैन । म पाल्पा नगएको १० वर्ष भयो । रानीमहल पुगेको पनि छैन ।
सार्वजनिक र सरकारी जग्गा जहाँ पनि बतासलाई देख्नै नहुने किन ?
बतासले जहाँ जहाँ सरकारी र सार्वजनिक संरचनामा हात हालेका छन् ती अहिले विवादको विषय बनेका छन् ।
किन त ?
जहाँ पनि सरकारी सम्पत्ति बतासलाई देख्नै नहुने किन ?
बतास भन्छन्–
यहाँनेर तपाईंले महत्वपूर्ण प्रश्न गर्नुभयो । नेपालमा सयौँ जग्गा ३५ वर्षसम्मलाई भाडामा लिएर सञ्चालन गरिरहेका छन् त्यो पनि सयौँ ठाउँमा । सरकारसँग मिलेर काम नगरे केही पनि हुँदैन । सरकारले निजी क्षेत्रलाई सहयोग पुर्याइदिने हो ।
मैले १० वर्षअघि पोखरा संग्रहालय लिएको हो । सम्बन्ध बढ्दै गयो धेरै ठाउँबाट मलाई नै फोन गरेर हामीले जग्गा भाडामा लगाउन लागेका छौँ तपाईंले लिइदिनुपर्यो भनेर फोन आउँछ । त्यहाँ पुग्नु मेरो अपराध भयो त ?
बतास खोज्दै गएको होइन खोज्दै गएको हो । धर्मशालाको पनि कुरा भनौँ, रवीन्द्र अधिकारीले भेटेर ‘ए बतासजी त्यो धर्मशाला भाडामा लिनुस्’ भन्नुभयो । मैले त्यो लिन्न भनेर पनि भनेको हुँ । उहाँले एकपटक भवन त हेर्नु भनेपछि गएर हेरेँ चित्त बुझ्यो रिपोर्टअनुसार लगानी गर्न तयार भएँ, लिएँ, मैले अपराध चाहिँ के गरेँ ? मेरो लगानी भएको पैसा दिएर सरकारले लगे हुन्छ मलाई चाहिँदैन । सुरुमा खोज्दै पुगेँ होला अहिले खोज्दै गएको होइन कामले मलाई खोज्दै आएको हो ।
५४ वर्षका बतास १६ वर्षको उमेरदेखि व्यापारमा सक्रिय छन् ।
तीन दाजुभाइबाट सुरु गरेको उनको कम्पनीमा अहिले एक हजार जनाले रोजगारी पाइरहेका छन् ।
आधार बुबाले तयार गरिदिए पनि यसलाई बढाउने काम बतासले नै गरे । २०४१ सालदेखि उनले पोखरामा पीसीओ चलाउन थालेका हुन् । यो निकै पछिसम्म चलाए ।
एकजना कर्मचारीको टेलिफोन भाडामा लिएर उनले पीसीओ चलाएका थिए ।
“त्यो बेलामा पनि महिनाको एकहजार रुपैयाँ दिन्थेँ,” उनी भन्छन्, “फोन निकै चल्यो, आम्दानी हुन थालेपछि मैले फोटोकपी मेसिन किन्न ऋण लिएँ त्यो बेलामा ४५ हजारको फोटोकपी मेसिनको लागि ३५ हजार ऋण लिएको हुँ बैंकसँग त्यो पहिलो ऋण थियो ।”
बेलायत, हङकङ र भारतमा लाहुरेका परिवारले फोन गर्न आउने हुनाले राम्रो आम्दानी भयो ।
बतास एकाएक उदाएको भन्ने कुरालाई उनी अस्वीकार गर्छन् ।
त्यसपछि उनले बुबाले किनिदिएको पृथ्वीचोकको घर जहाँ त्यसअघि भाडामा लाग्थ्यो त्यहाँ उनले होटल बनाउन सुरु गरे ।
“पृथ्वीचोकमा बुबाले एउटा घर बनाइदिनुभएको थियो । त्यो घर भाडामा थियो । ४६ साल लागेपछि अब चाहिँ केही गर्नुपर्छ भन्ने लाग्यो । भाडामा दिएर हुँदैन होटल सुरु गर्छु भनेर लागेँ । त्यसबेला होटल राम्रो बनाउन थप ९ लाख लाग्ने भयो । नेपाल बैंकबाट सात लाख रुपैयाँ लिएको मेरो जीवनको दोस्रो लोन थियो । यो ठूलो थियो मेरा लागि सम्भवतः यो ४७ सालमा हो,” उनी भन्छन् ।
होटल गर्दागर्दै मारुतीले पोखरामा डिलर खोजिरहेको थियो, त्यो बतासले लिन सफल भए ।
“एकदुई वर्षपछि महिन्दा एण्ड महिन्द्राको डिलरको कुरा भयो त्यो पनि लिएँ । त्यसबेला व्यापार बुझ्ने मान्छे कम थिए,” उनी भन्छन्, “त्यसबेला ठूला पार्टीलाई दिने तयारी थियो तर मैले नै लिएँ । महिन्द्रापछि टीभीएसको डिलर पनि लिएँ यसरी मैले थप गर्दै गएँ ।”
उनले आफ्नो होटलमा नेपालमा नाम चलेका सबै बसेको स्मरण गर्छन् ।
“मेरो होटलमा मनमोहन भट्टराई, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला, विद्या भण्डारी सबै बसेका छन्,” उनी स्मरण गर्दै भन्छन्, “म लो प्रोफाइलमा रहेर काम गरेँ अहिले बताए एकाएक आएको जस्तो गरिएको छ ।”
त्यो बेलाको पोखराको राम्रो होटलमा मानिन्थ्यो होटल आनन्द । क्रिष्टेल, फिस्टेल, अन्नपूर्णलगायतका थिए । राम्रो होटल भएकाले नै देउवाका लागि सम्पर्क कार्यालय खोल्न उनी निकटकाले त्यसैमा सिफारिस गरेका थिए ।
“मैले मेरो व्यापार बढाउँदै गएँ । पोखरामा राम्रो भइरहेको थियो व्यापार बढाइरहेको थिएँ । करिब १५ वर्षअघि म काठमाडौंमा अब व्यापार बढाउनुपर्छ भनेर आएको हुँ,” बतासले बाह्रखरीसँगको कुराकानीमा भने, “गैरीधारामा एउटा सानो अफिसबाट सुरु गरेको हुँ । मैले यहाँ जग्गा किनेर मारुतीको शोरुम बनाएँ । फियटको डिलर पाएँ । आइसरको डिलर लिएँ । यसरी अघि बढ्दै गएको हँु । अहिले पनि म फियट र जीपको डिस्ट्रब्युटर हुँ । टाटापछि सबैभन्दा बढी बिक्री हुने आइसरको वितरक हुँ । क्याटरपिलरको वितरण गर्छु । हिमाल रेमिट, चितवनमा लुब्रिकेन्ट उद्योग छ । हाइड्रोमा लगानी छ । यसरी अघि बढ्दै गएको हुँ । मैले राज्यलाई ठगेर खानुपर्ने र कमाउनुपर्ने अवस्था छैन ।”
तपाईंले यी सबै टेन्डर हात पार्न कर्मचारी संयन्त्रलाई प्रभावमा त पार्न पर्यो होला नि ! होइन ? भन्ने प्रश्नमा बतासको जवाफ छ, “म आध्यात्मिक व्यक्ति हुँ । यो प्रश्नको जवाफ अहिले मसँग छैन ।”
बताससँग अहिले विभिन्न १६ वटा कम्पनी रहेका छन् । त्यसमध्ये ११ वटा कम्पनी साझेदारमा रहेको उनको भनाइ छ ।
अहिले विवादमा आउनुमा उनले दुईवटा कारण देख्छन्– देउवासँगको सम्बन्ध र पछिल्लोपटक किनेको मणिपाल अस्पताल ।
“मैले मणिपाल अस्पताल किनेपछि को मान्छे हो यतिका रमक खर्च गर्ने भनेर बजारमा हल्ला फैलियो,” उनी भन्छन्, “तर त्यो अस्पताल काठमाडौंका ठूला घरानाले किन्न खोजेका थिए । म सफल भएँ तर अहिले पनि त्यो अस्पताल किन्दा ७० प्रतिशत प्रोजेक्ट लोन छ । हामीले किन्न पाएनौँ भनेर मलाई बदनाम गराउन खोजिएको हो कि ?”
अक्सिजन प्लान्ट कहाँ पुग्यो ?
कोरोनाले मुलुक आक्रान्त बनेको बेला उनले एउटा अभियान अघि बढाएका थिए । गण्डकी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिदिने । उनले रकम पनि उठाए तर अहिलेसम्म त्यो बन्न सकेको छैन ।
बतास भन्छन्, “सरकारको नियमका कारण केही ढिला हुन गएको हो । कसले कति रकम दिएको हो भन्नेबारेमा मैले सबै सार्वजनिक गरेकै छु । सरकारको भर नपरेको भए अहिलेसम्म तयार भइसक्थ्यो तर भर पर्दा डुबियो । नचाहिने भए पनि हामीले दिने भनेको अस्पताललाई दिन्छौँ, नचाहिने भए सोही अस्पतालले अर्को अस्पताललाई दिन सक्छ । ढिला भएकामा सबै सहयोगीसँग मैले माफी माग्नैपर्छ ।”
यी तिनै बतास हुन् जो केही महिनाअघि नेपालमा कृषकको आवश्यकता सम्बन्धी विज्ञापनका कारण वाहवाही कमाउन सफल भएका थिए ।
कास्कीमै नेपाल झल्किने खालका परिवारसहितलाई रोजगारी दिने आकर्षक विज्ञापनका कारण बतास चर्चामा आएका थिए ।
“१० परिवार खोजेको हुँ । मैले खोजेको जस्तो ६ परिवार अझै भेटिएको छैन । मलाई ३ वटा गाइने परिवार २ वटा कुमाले परिवारको आवश्यकता छ । त्यो विज्ञापनमा जे लेखेको छ त्यहाँ नपत्याउने सुविधा छ,” उनी भन्छन् ।
अन्तिममा बतासको भनाइ थियो, “यो देशमा निजी क्षेत्रलाई सिध्याउन किन सबै एकै ठाउँमा हुन्छन् । त्यो ललिता निवास भन्नुस् कि अहिलेको अवस्था । ललिता निवासमा मीनबहादुर गुरुङलाई अन्याय भएको जस्तो लाग्छ मलाई त । यस विषयमा राज्यका निकायले हेरिदिनुपर्दैन ? के राज्यका निकाय सबै निजीक्षेत्र विरोधी हुनैपर्ने हो ? निजी क्षेत्र कामै गर्न नसक्ने अवस्थामा पुग्यो भने यसको असर कहाँ कहाँ पर्छ भन्ने पनि एकपटक सोचिदिने हो कि ?”
तस्बिर ः सुनिल प्रधान