मूलधारको इतिहासमा प्रायः विजेतालाई देउता र विजितलाई दानवका रूपमा चित्रण गरिन्छ । नेपालको इतिहास पनि अपवाद छैन । यसैले लामो समयसम्म पृथ्वीनारायण शाहलाई पनि अलौकिक देवताका रूपमा चित्रण गरिएको थियो ।
लोकतन्त्रको स्थापनासँगै समाजका सबै पक्षजस्तै इतिहासको पनि विवेचना हुन थाल्यो । कतिपय नायक खलनायक हुन थाले । राणाशासनमा नायक मानिएकाहरू शाहहरूको शासनमा खलनायक बनाइए ।
लोकतन्त्रमा पञ्चायतकालमा खलनायक बनाइएकाहरू लोकतन्त्रका नायक भए । समयसँगै कतिपय यथार्थ उजागर हुनथाल्यो । इतिहासको पनि खोज र विवेचनात्मक परख गर्न थालियो ।
पृथ्वीनारायण न कमजोरी नै नभएका महामानव हुन् न कतिले चित्रण गर्न खोजेजस्तो मध्ययुगीन बर्बरताका पुञ्ज नै हुन् । उनका कमजोरीहरूको खोजी र विवेचना हुँदा नेपाली समाजको खति हुँदैन ।
कुण्ठा र आग्रहका आँखाबाट इतिहासको विवेचना गर्नेले भने सत्य देख्न सक्तैन । तथ्यकै पनि देश, काल, परिस्थिति निरपेक्ष विवेचना सत्य हुँदैन । पृथ्वीनारायण शाह सम्भवतः इतिहास बिगारिएका पहिला नेपाली हुन् ।
पृथ्विनारायणले उपत्यका जित्नेबित्तिकै केपुचिन पादरीहरूलाई देश निकाला गरे । पादरीहरू उनीहरू रिसाउनु र उनको बदख्वाइँ गर्न लागिपर्नु स्वाभाविकै थियो ।
परन्तु, त्यसको अढाई शताब्दीभन्दा पछि नेपालभित्रै पादरीको भाष्यअनुसार पृथ्वीनारायणको बदख्वाइँ अभियान थालिनु भने रहस्यको विषय हो । अहिलेको मापदण्डका आधारमा पृथ्वीनारायणको मूल्याङ्कन गर्नु सही हुँदैन ।
पृथ्वीनारायण शाहलाई त उनले गरेका कामका लागि मात्र होइन भीमसेन थापा र जङ्गबहादुरका बदमासीका लागि पनि दोष दिने गरिएको छ । शाह वंशीय राजाका बदमासीमा त झन् उनले दोष पाउने नै भए ।
अतिवादी आग्रह नराख्ने हो भने नेपाल भन्ने अहिलेको राष्ट्रको अस्तित्वका लागि पृथ्वीनारायण शाहलाई श्रेय दिनै पर्छ । गोर्खा राज्यको बलपूर्वक विस्तार गरेको नै माने पनि उनको त्यही कदमले नेपाल भन्ने राज्य बेलायती साम्राज्यबाट जोगिएर स्वतन्त्र रहन सकेको हो ।
नेपाली हुनुमा गर्व गर्नेहरू कुनै न कुनैरूपमा पृथ्वीनारायण शाहप्रति कृतज्ञ हुन्छन् नै । नेपाल एकीकृत भएकोमा चित्त दुखाउनेहरू पनि पृथ्वीनारायणप्रति कृतज्ञ भए हुन्छ । उनले यो मुलुकको जग बसाएका थिएर नै अहिले पृथ्वीनारायणलाई सत्तोसराप गरेर गुजारा चलाउन पाएका जो छन् ।
अतिवादी दृष्टिकोण नराखी हेर्दा पृथ्वीनारायण शाह अठारौ शताब्दीका महत्त्वाकाङ्क्षी राजा हुन् र उनकै महत्त्वाकांक्षाका कारण अहिलेको नेपाल बनेको हो । यसैले वर्षमा एक दिन उनीप्रति कृतज्ञता ज्ञापन गर्न हिचकिचाउनु पर्दैन ।
इतिहासको समीक्षा, विवेचना र तथ्य अन्वेषण त अनवरत भइरहने प्रक्रिया हो । यसमा भने पूर्णविराम लगाउनु हुँदैन ।