पार्टीको वैधानिकतामा नै प्रश्न उठ्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएपछि मात्र मुलुककै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले हालै आफ्नो १४ औं महाधिवेशन सम्पन्न गरेको छ । अझ यथार्थ त के हो भने देशभित्र र विदेशमा छानिने महाधिवेशन प्रतिनिधि आफ्नो अनुकूल चुनिएर आउने ग्यारेन्टीजस्तै भएपछि मात्र महाधिवेशन हुने वातावरण बनेको थियो ।
स्वाभाविकरूपमा त करिब डेढ वर्ष पहिले नै नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भैसक्नु पर्ने थियो । त्यस अवस्थामा नेतृत्व एवं आन्तरिक गुट उपगुटको गठबन्धन अहिलेको भन्दा पक्कै फरक हुनेथियो ।
ढिलै र बाध्यतावश गर्नुपरेको भए पनि महाधिवेशन सम्पन्न भएकोमा कांग्रेसजनले पनि केही सन्तोष अनुभव गरेको हुनुपर्छ । हुन त पार्टी नेतृत्वले समयमा महाधिवेशन सम्पन्न गर्न नसक्नुमा आफ्नोमात्र कमजोरी नभएर विश्वभर फैलिएको कोरोनाको कहरबाट नेपाल पनि जोगिन नसकेको र देश असामान्य परिस्थितिमा रहेको कारण तेर्स्याएर पानीमाथि ओभानो हुने कोसिस पनि गरेको छ ।
उनीहरुलाई हेक्का हुनुपर्ने हो यही कोरोना कहरका बीचमा पनि धेरै देशमा थुप्रै चुनाव भए र सत्ता पनि परिवर्तन भएका छन् ।
अमेरिकामा पनि कोरोनाको महामारीका कारण ठूलो आर्थिक, सामाजिक र मानवीय क्षति हुँदाहुँदै पनि राष्ट्रपतिको चुनाव भयो ।
चर्को विरोध, विवाद र कोरोना कहरकै बीच डोनाल्ड ट्रम्पले चलाएको सत्ता चुनावबाटै जो बाइडेनको हातमा पुग्यो । भारतमा पनि कतिपय स्थानीय, प्रान्तीय तथा संघीय संसद्का रिक्त स्थानमा महामारीकै बीचमा उपचुनाव गरिएको थियो ।
देशकै ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको नेतृत्व तह पार्टीको आन्तरिक लोकतन्त्रका लागि किन यति उदासीन बन्यो होला बुझ्न कठिन छ । लाग्छ, कुनै पनि बहानामा महाधिवेशन सार्ने अलिकतिमात्र छिद्र देखेको भए सायद अहिले पनि महाधिवेशन हुँदैन थियो ।
यतिवेला त नेतृत्वकै वैधानिकता संकटमा परेको थियो । त्यसैले अन्तिम घडीमा महाधिवेशन गर्न बाध्य भयो कांग्रेस नेतृत्व ।
कमसेकम वैधानिक संकट त टरयो नि भनेर पनि कांग्रेसजन त्यसैमा रमाएर बसेका छन् ।
कांग्रेसलाई जनप्रिय बनाउन भने सायद यतिले मात्र पुग्नेछैन । महाधिवेशनपछि नयाँ नेतृत्वको काँधमा ठूलो जिम्मेदारी त आएको छ । तर चुनावपछि नेतृत्वमा पुगेका व्यक्तिका अभिव्यक्ति सुन्दा तिनले त्यो दायित्व महसुस गरेको खासै देखिँदैन । अझ कतिपय त हारजितको झड्का, विजयोन्माद र पराजित मानसिकतामा देखिन्छ्न् ।
पार्टीभित्रको विकृती र विसंगतिलाई परास्त गर्नु पर्ने प्रमुख दायित्वतर्फ महाधिवेशनपछि अझै गएको छैन । भ्रष्टाचार र महँगीले देश आक्रान्त छ । माफिया, बिचौलिया र दलालबाट घेरिएको छ राजनीतिक नेतृत्व । सरकार र प्रशासनयन्त्रमा देखिएको विकृति हटाउने उचित कदमको कुनै सम्भावना अझै देखिन्न । यत्रो ठूलो महाधिवेशनमा नीति, सिद्धान्त र आदर्शमा कुनै छलफल र विमर्श भएन ।
यस अवस्थामा सुधार हुन वर्तमान नेतृत्व पहिले आफैँ रूपान्तरित हुन जरुरी देखिन्छ तर त्यसको छनकसम्म पनि देखिन्न ।
शासन सत्ता जनचाहनाअनुसार चल्नुपर्ने हुन्छ ।
जनतालाई सेवा सुविधा दिएर जनताका हक र अधिकार सुनिश्चित गर्नु पनि उति नै आवश्यक हुन्छ लोकतान्त्रिक व्यवस्थाका सञ्चालक प्रमुख दलहरूले । त्यसमा नेपाली कांग्रेसले अगुवाइ गर्न कति सफल हुनसक्छ ? त्यो हेर्नु पर्नेछ ।
हालै सम्पन्न महाधिवेशनपछि प्रायः सबै प्रमुख दलमा नयाँ नेतृत्वमा अधिकांशतः उनै पुराना अनुहार देख्दा जनअपेक्षा अनुसारको परिवर्तन हुनेमा विश्वस्त हुनसक्ने देखिएन । बरु पुरातनपन्थी भनेर जानिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने ठूलै फड्को मारेको छ । अग्रगामी नारा दिएर नथाक्ने दलहरू भन्दा कथित पश्चगामी भनिएको पार्टी नै बरु अग्रगामी देखियो ।
यस घटनाले ठूला भनिने दल र तिनका नेतालाई अलिकति भए पनि लज्जाबोध हुनुपर्ने हो । तर, ठूला दल र तिनका नेता फेरि उही कर्मकाण्डी शैलीमा चल्ने हुन् कि भन्ने चिन्ता जनमानसमा देखिन्छ । कांग्रेसजनमा त एक किसिमले निराशा नै व्याप्त छ यति महत्त्वपूर्ण महाधिवेशन सम्पन्न हुँदा पनि ।
नेपाली कांग्रेसका हकमा भने यसपटकको महाधिवेशनमा नव युवाको प्रवेश उल्लेख्य रह्यो । आशालाग्दा दुईजना युवा नेता गगनकुमार थापा र विश्वप्रकाश शर्मा अपेक्षा गरिएबमोजिम नै महामन्त्री जस्तो महत्त्वपूर्ण कार्यकारी पदमा निर्वाचित हुन पुगे । नेतृत्वमा यी दुईको आरोहणले केही आशा जगाएको र पार्टीभित्र एक प्रकारको रक्तसञ्चार भएको देखिन्छ ।
उनीहरू आफैँले नै भन्दै आएअनुसार साबिकमा देखिएको गतिहीनता र अकर्मण्यता चिर्न कांग्रेस पार्टी र युवा नेतृत्व सफल भए भने भविष्यको एउटा बाटो स्पष्ट हुने थियो । करिब आधाआधी संख्यामा युवा र नयाँ अनुहार निर्वाचित भएर आएका छन् ।
अपेक्षा गरिएअनुसार यो सुखद पक्ष त हो तर संगै युवाका नाममा के कस्ता उम्मेदवार निर्वाचित भएर आए भन्ने विषय पनि उति नै विचारणीय विषय हो ।
निर्वाचित युवा पंक्तिमा एउटा तह भने भष्ट्राचार, खानपिन, नेताको चाकडी, व्यापारी र ब्युरोक्रेटहरूसँग साँठगाँठ गरेर आफ्नो बन्दोबस्तीमा निर्लिप्त समूह पनि छ । पार्टीमा लामो समयसम्म काम गरेका, सिद्धान्त निष्ठ, दु:खकष्ट भोगेका, जेलनेल र त्याग तपस्या गरेका अधिकांश नेता तथा कार्यकर्ता पराजित हुनु र अझ कतिपय त चुनाव लड्ने तागत र परिस्थिति नभएकै कारण पाखा पर्दै गरेकाले पनि पार्टी भविष्यमा अनपेक्षित दिशातिर जाने हो कि भन्ने संशय पनि देखिँदैछ । भोलिका दिनमा त्यसको व्यवस्थापन पनि पार्टीका लागि अर्को चुनौती हुने देखिन्छ । पुनःस्थापित नेतृत्वले आगामी दिनमा सिङ्गो पार्टी र मुलुकलाई कसरी अघि बढाउने योजना अघि सार्ला ? आफैँभित्रको गुट उपगुटबाट थलिएको पार्टीलाई गुटभन्दा माथि रहेर विधिसम्मत र न्यायसंगत तरिकाबाट चलाउन कसरी सफल होला ? यस्ता कैयौं प्रश्न यथावतै छन् । यसका लागि लामै समय पर्खेर हेर्नुपर्नेछ ।
विगतमा बिग्रेको साख फर्काएर कांग्रेसको नेतृत्व कुनरूपमा स्थापित र सफल हुनसक्छ भन्ने पनि निर्धारण हुनेछ आगामी दिनमा । यतिखेर नयाँ नेतृत्वका सामु चुनौती र अवसर दुवै खडा छन् ।
समय घर्काएर गरिएको कांग्रेस महाधिवेशनमा विभिन्न जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण विवाद समाधान नै नगरिँदा धेरै कार्यकर्ता चुनावमा सहभागी हुनबाट वञ्चित रहन पुगेका छन् । यो ज्यादै दुःखद् पक्ष रह्यो । देश विदेशबाट आउने प्रतिनिधिमा पनि कतिपय देशबाट सहभागिता हुन नसक्नु र आउन सफल देशका प्रतनिधि पनि एकतर्फी वा संस्थापन इतरलाई सदस्यता फारमसमेत भर्न नदिएरै एकलौटी प्रतिनिधिलाई मान्यता दिएर र अझ कतिसम्म भने विदेशको नागरिकता लिएकालाई समेत मिसाएर विवादित बनाइयो ।
यस्तै महाधिवेशनकै संघारमा आइपुग्दासम्म पनि कतिपय जिल्लाका विवाद नटुङ्गिएकाले कार्यकर्ताहरू पार्टी अफिसमा अनशन बस्नुपर्ने अवस्था पनि आयो । तैपनि सुनुवाइ भएन । यस अवस्थाले दिएको पीडाको घाउ निको हुन सायद अर्को अधिवेशनसम्म पीडित कांग्रेसजनले कुर्नुपर्ने होला ।
नीति बहस ओझेलमा परेको यस अधिवेशनमा नेतृत्वको ध्यान निर्वाचनमा आफू विजयी कसरी हुने भन्नेमै केन्द्रित रह्यो ।
नेपाली कांग्रेसले नयाँ विधानअनुसार प्रतिनिधित्व व्यापक गरेको छ । तर, थप भएको क्रियाशील सदस्यता वितरण र नवीकरण भने विवादमुक्त रहन सकेन । महाधिवेशनकै संघारमा प्रधानमन्त्री हुने अवसर पाएका पार्टी सभापति शेरबहादुर देउवा र उहाँको समूहबाट सक्रिय सदस्यता वितरण र नवीकरणमा बढी हस्तक्षेप र सत्ताको दुरुपयोग भयो भन्ने आक्षेप पनि पार्टीभित्रैबाट सार्वजनिक भएको छ । तैपनि कांग्रेस महाधिवेशनमा होमियो नै । हुन त पार्टी सभापतिका प्रत्याशीमध्येका तीनजना नेताले निकै पहिले देखिनै देश दौडाहा गर्नुभएकै हो । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा डा. शेखर कोइराला यस दौडमा अघि देखिनु भयो । यसैबीच इतर समूहमा एकल उमेदवार छनोट गर्ने प्रयास भने अन्तिम अवस्था हुँदासम्म पनि सफल हुन सकेन । जति गर्दा पनि इतर पक्ष सफल हुन नसकेपछि चुनावी परिवेश भिन्नरूपमा प्रकट भयो । एकल उम्मेदवारका लागि सहमति जुट्दैन भने आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिन्छु भनि पहिले नै उद्घोष गरेबमोजिम नै वरिष्ठ नेता रामचन्द्र पौडेल अमिलो मन लिएर चुनावी दौडबाट बाहिरिन पुग्नुभयो । अन्य प्रत्याशीमध्ये नेताद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्दा डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भयो । करिव नौ सय मतान्तरमा देउवा निर्वाचित हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफू राजनीतिमा सक्रिय नै रहने उद्घोष गर्दै यस पटकको चुनावी प्रक्रियामा तटस्थ रहेको बताउनुभयो ।
यस्तै १३ औं महाधिवेशनमा दोस्रो चरणमा पुगेपछि कृष्ण सिटौलाले देउवाको समर्थन गर्नाले पौडेल पराजित हुनपुग्नु भएको थियो भने यसपटक सिटौलाको भूमिका उल्लेख्य रहेन । पार्टी भित्रको समीकरण पनि केही हदसम्म बदलिन पुग्यो । डा. शशाङ्क कोइरालालगायत केही अन्य नेता सभापतिको चुनावमा तटस्थ रहनुभयव ।
हरेक महाधिवेशनमा नीति र कार्यक्रममा व्यापक छलफलपछि नेतृत्व चुनावी मैदानमा सरिक हुन्थ्यो भने यसपटक त्यसो भएन ।
हरेक जीवन्त र लोकतान्त्रिक पार्टीमा सैद्धान्तिक र नीतिगत बहस वाञ्छनीय हुन्छ । तर कांग्रेसले त्यो अवसर यसपटक गुमायो ।
सत्ताकांक्षी प्रमुख दल नेपाली कांग्रेसले विनानीति तथा कार्यक्रम नै महाधिवेशन सम्पन्न गरेकोमा सर्वत्र आलोचित हुन पुग्यो पनि ।
दलका नीति तथा कार्यक्रम भनेको भावी सरकारको नीति र कार्यक्रमको लागि मार्गचित्रका रूपमा पनि लिइन्छ । त्यसमा चुक्यो कांग्रेस यसपटक ।
यस महाधिवेशनमा अर्को रोचक प्रसंग पनि सामुन्नेमा आयो । सभापतिका प्रत्याशी डा. शेखर कोइरालाले जननायक वीपी कोइरालाले टाटा मेमोरियल अस्पतालबाट आफ्ना भाइ अर्थात् डा. शेखर कोइरालाका पिता श्रद्धेय केशव कोइरालालाई लेख्नु भएको चिठ्ठी सार्वजनिक गरियो । डा. कोइरालाले आफ्नै भाइ शशाङ्क र बहिनी सुजाताले नै त्यस पत्रको मर्मलाई बुझेनन् र महाधिवेशनमा उनीहरूले आफूलाई सहयोग गरेनन् भन्ने गुनासो सार्वजनिकरूपमै गर्नुभयो । यसलाई कतिपयले त्यति मीठो मानेनन् । यो पारिवारिक गुनासोलाई कोइराला निवासमै बसेर मन्थन गर्न सकिन्थ्यो होला । त्यसो नगर्दा कोइराला परिवारको परम्परा र संस्कारसँग मेल नखाएको महसुस भयो । अनि केही समय अघिसम्म बिरासतले अब राजनीति चल्दैन, कर्मले चल्छ भन्दै आउनु भएका शेखरको आफ्नै भनाइ खण्डित भएर उहाँले पनि बिरासतको सहारा लिन खोजेको जस्तो देखियो ।
भाइ बैनीले आफ्नै विवेकको मत जाहेर गरे । शेखरले यसरी चित्त दुखाइ सार्वजनिक गर्दा कोइराला परिवारभित्र आन्तरिक बेमेल यति चर्को भइसकेकै हो भन्ने शङ्का उत्पन्न भएको छ ।
जेहोस्, नेपाली कांग्रेस पार्टीले यो वर्ष नयाँ नेतृत्व प्राप्त गरेको छ तर मिश्रितरूपमा । अब आगामी निर्वाचनमा ध्यान केन्द्रित गर्दै कांग्रेसले विगतको गुटबन्दीभन्दा माथि उठेर विजयी पराजयी सबै साथीहरुको साथ लिएर अघि बढ्न नेतृत्व केन्द्रित हुनु जरुरी छ ।
पार्टीका सभापतिले केन्द्रीय सदस्य मनोनयन र राष्ट्रियसभा सदस्यका लागि उम्मेद्वार छनोटमा एकतर्फी गरेको गम्भीर आरोप अर्को समूहले लगाउन थालिसकेको छ । यसले कांग्रेसमा पहिलेदेखि चलिआएको गुटगत राजनीतिको तुस आगामी दिनमा पनि कायमै रहने संकेत देखाएको छ । त्यसैले आगामी दिनमा आपसी समझदारीसँगै विगतका तीतालाई भुलेर अघि बढ्नु नेपाली कांग्रेसका लागि हितकर हुनेछ । लामो समयदेखि सत्ताभित्र र बाहिर बसेर जनतालाई भुलभुलैयामा पारिरहेका सक्कली, नक्कली, अवसरवादी र 'कस्मेटिक' राष्ट्रवादी कम्युनिस्टहरूलाई सबक सिकाउने बेला आएको नेपाली कांग्रेसको नेतृत्व पङ्क्तिले मनन गरोस् । (जरँकु, काठमाडौं )