site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाइला बढाउँदै छन् मधेसका छोरी

जनकपुरधाम । महोत्तरीकी ३४ वर्षीया रेणु यादवले पाँचपटक गर्भपतन गराइन् । छोरा पाउने आशमा गर्भ पहिचान गरी छोरी देखिएपछि पतन गराएको उनी बताउँछिन् ।

अहिले उनका ६ छोरी छन् । तर, अझै छोरा पाउन गर्भ राख्ने गरेकी छन् । घरपरिवारको दबाब र बुढेसकालको सहारा छोरा हुने आशमा गर्भनिरोधक औषधि सेवा नगरेको उनी बताउँछिन् ।

“पहिलोपटक गर्भपतन गराउँदा चिकित्सकको सल्लाहानुसार सुरक्षित गर्भपतन गराएँ । त्यसपछि फेरि गर्भपतन गर्न जान लाज र लाञ्छना लाग्ने डरले आफैँ औषधि किनेर खाएँ,” उनले भनिन्, “घरमै औषधि सेवन गरेँ । गर्भपतन गर्दा रक्तश्राव बढी भए पनि निको भएँ ।”

पाँचौँपटक गर्भ बस्दा औषधिले काम नगरेको रेणु बताउँछिन् । औषधिको असरले बिरामी भएको उनले सुनाइन् । चिकित्सकले अत्याधिक रक्तश्रावले गर्दा शरीरमा रगतको कमी भएको र उनको पाठेघरमा प्वाल परेको बताएका छन् ।

प्रदेश नम्बर–२ को प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तीन वर्षको तथ्यांकानुसार गर्भपतनपछि स्वास्थ्यमा आएको जटिलताका कारण उपचार गर्ने महिलाहरूको संख्या आर्थिक वर्ष २०७४/७५ मा ३५२, ०७५/७६ मा ५६६ र ०७६/७७ मा ४१४ छ ।

तथ्यांक र सोचले जे देखाए पनि मधेसका छोरीहरूले अवसर पाए सफलताको शिखर चुम्न सक्छन् । अभिभावकले हौसला दिए छोरीले छोरा सरह काम गर्न सक्छन् । अवसर पाएका तीनै छोरीहरूको सफलताको कथा यहाँ प्रस्तुत गरिएको छ ।

साहसिक नेत्री मञ्जु

०३८ पुस २७ गते जब छोरी जन्मिन महोत्तरीको भंगहा नगरपालिका–९, हरिनमरीका शान्तिदेवी र रमेश यादव निकै खुसी भए । पहिलो सन्तान छोरी हुँदा उनको परिवारसहित आफ्न्त पनि खुसी थिएँ । त्यो खुसी रमेशले छरछिमेकीलाई आफैँले सुनाए । पूर्वशिक्षक र प्रधानपञ्चसमेत रहेका रमेशले छोरीलाई शिक्षा र अन्य अवसरहरू दिन कञ्जुस्याईं गरेनन् । आफ्नी छोरी समाजमा भइरहेको दमन, शोषण वरुद्ध सशक्त रूपमा उभिऊन् भन्ने उनको सपना थियो ।

छोरीलाई सोहीअनुसारको शिक्षादीक्षा र अवसर दिन थाले । कालो कोट लगाएर समाजका विकृति विसंगतिविरुद्ध आवाज उठाउन उनले छोरीलाई कानुन विषय लिएर पढ्न प्रोत्साहन गरे । त्यही पथमा डोर्‍याए र सघाउन थाले ।

अहिले उनकी छोरी ४१ वर्षीया मञ्जुकुमारी यादव प्रदेशसभा सदस्य छिन् । प्रदेश–२ को संसद्मा उनलाई एक साहसिक र सक्षम नेताका रूपमा चिनिन्छ । “बुवालाई आर्दश मानेर यहाँसम्म आएँ । बुवाको साथ र सहयोग सधैँ मेरो लागि प्रेरणाका स्रोत छन्,” उनले भनिन्, “बुवाले हातमा कुचो होइन, किताब बोकेको राम्रो मानुहुन्छ । त्यसकै प्रतिफल हो, म जनताको मन्दिर संसद्मा पुग्नु ।”

हाल उनी पीएचडीको तयारीमा छन् । विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेकी मञ्जु अन्याय, अत्याचारविरुद्ध सशक्त आवाज उठाइरहेकी छन् । समाजमा व्याप्त पितृसत्तात्मक सोच परिवर्तन हुन जरुरी छ र त्यसका लागि आफू स्वयंबाट सुरु गर्नुपर्ने उनी बताउँछिन् ।

लिंगका आधारमा होच्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्ने मञ्जुले तीन वर्षअगाडि आफ्नै पार्टीका सांसदले होच्याउँदा थप्पड हानेकी थिइन् । “मेरो घरमा कहिले पनि लिंगको अधारमा विभेद भएन । मेरो परिवारको सदस्यले कहिले पनि छोरी भनेर विभेद गरेको याद छैन,” उनले भनिन् ।

नेकपा (एमाले)निकट युवा संघमा केन्द्रीय सचिवसमेत भइसकेकी मञ्जु सत्य र महिलाको पक्षमा डटेर उभिने सांसदको रूपमा चिनिन्छन् । लैंगिक र जातीय विभेदविरुद्ध आवाज उठाउने उनले गएको मंसिर १७ गते सूर्यनारायण ठाकुरसँग अन्तरजातीय प्रेम विवाह गरेकी छन् ।

कलाकारितामा रमाएकी सरिता
महोत्तरीको औरही नगरपालिका–८, भोइलटिमकियाका रामचन्द्र साह दोस्रो सन्तान छोरा होस् भन्ने चाहन्थे । घरभित्र साहकी श्रीमती रामप्यारी सुत्केरी व्यथाले छटपटाइरहेकी थिइन् । छोरा हुने आशामा रहेका रामचन्द्र पनि खुसी थिए । तर, धेरै समय उनको खुसी टिकेन । घरभित्रबाट महिलाको समूह कानेखुसी गर्दै निस्कियो । रामचन्द्रले सोधे– छोरा भयो कि छोरी ? उनीहरू बोलेनन् ।

महिलाको समूह केही नबोलेपछि छिमेकी भाउजूको नाम लिएर सोधे । उनले व्यग्ंय गर्दै ‘बोझ÷कमाउवा’ पैदा भएको जवाफ दिइन् । उनको जवाफले छोरी जन्मेकोे उनले सहजै बुझे । सबैको अनुहार मलिनो  भयो । पुरुषहरू निराश हुँदै त्यहाँबाट किनारा लागे । महिलाको समूह पनि निस्कियो ।

“छोरी जन्मेपछि मलाई स्याहारै नगरी सबै फर्किए । श्रीमान् पनि छोरीलाई हेर्न आएनन्,” त्यति बेलाको कुरा स्मरण गर्दै रामप्यारीले भनिन्, “घरका सबै मानिस चिन्तित भए । छोरा भए भोजभतेर गर्ने सोचेको परिवारले छोरीको न्वारन पनि राम्ररी गरेनन् ।”

माइतीले दबाब दिँदा छोरीको न्वारन भएको रामप्यारीले बताइन् । जब सरिता कक्षा–६ मा पढ्दै थिइन्, दिदी सुजितासँगै एउटै मण्डपमा विवाह गरिदिने रामचन्द्रले घरमा छलफल गरे । सरिताले यो कुरा अस्वीकार गरिन् । त्यसयता कैयौँपटक उनको बिहेको कुरा भयो । सरितालाई अनेकन दबाब दिइयो । तर, सरिताले मानिनन् ।

उनी अहिले कलाकारिता क्षेत्रमा अब्बल मधेसकी छोरी भनेर चिनिन्छिन् । काठमाडौंमा उनले देखाएको कलाकारिताले उनलाई स्थापित मात्रै गराएन, नाटक लेख्न र निर्माण गर्न सक्ने बनायो । भर्खरै उनले निर्देशन गरेको ‘फगुनिया’ नामको मैथिली नाटक उत्कृष्ट भई पुरस्कृत भएको छ । छोराको आशैआशमा ६ छोरी जन्माएका रामचन्द्र अहिले छोरीको कामले सन्तुष्ट छन् ।

“पहिला हामी साइकल चढ्दा बुवाले हामीलाई कुट्नुुहुन्थ्यो । अहिले बाइक चलाउँदा खुुसी हुनुहुन्छ,” २७ वर्षीया सरिताले भनिन्, “मेरा चारजना बहिनी अहिले साइकल चढेरै पढ्न र बजार जान्छन् ।”

मुस्लिम डाक्टर जेवा
सप्तरीको खडक नगरपालिका–७, कल्याणपुर निवासी २६ वर्षीया जेवा खातुनलाई सानैदेखि सेतो कोट लगाएर बिरामीको सेवा गर्ने इच्छा थियो । पहिलोपटक अस्पतालमा आमालाई लिएर जादा डाक्टर बन्ने सपना उनले बुनेकी थिइन् । त्यसयता उनले नियमित सोहीअनुसारको पढाइ गर्न थालिन् ।

गौरी इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुल जनकपुरबाट ०६९ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी जेवाले विराटनगरस्थित अरनिको कलेजबाट प्लस टु गरिन् । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि जेवाले चिकित्सा शिक्षा पढ्ने इच्छा आमाबुवासमक्ष राखिन् । बुवा फिरोज खान र आमा यास्मिन सुल्तानले बिनाहिचकिचाहट जेवाको निर्णयमा साथ दिए ।  जेवा काठमाडौं गएर तयारी गर्न थालिन् ।

जेवाले छात्रवृत्तिमा नाम निकाल्न सकिनन् । यद्यपि, अभिभावक पैसा तिरेरै उनलाई डाक्टर पढाउन तयार भए । “अभिभावकले मलाई पूरै शुल्क तिरेरै एमबीबीएससम्म पढाउनुभयो । अहिले उत्तीर्ण भएर डाक्टर बनेकी छु,” उनी भन्छिन्, “अभिभावकको लगानीको सम्मान र सदुपयोग भएको छ र उहाँहरू पनि खुसी हुनुभएको छ ।”

यही वर्ष ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उत्तीर्ण भएकी जेवा अहिले पाटन अस्तालमै इन्टरनसिप गरिरहेकी छन् । सप्तरीको मुस्लिम समुदायबाट उनी पहिलो महिला चिकित्सक हुन् ।

“मेरो अभिभावकले पढ्नुपर्नेमा जहिले पनि जोड दिइरहनुभयो । त्यही भएर लगातार पढ्ने काम मात्रै गरेँ,” जेवा भन्छिन्, “अभिभावकको सहयोगले नै सपना पूरा गर्न पाएकी हुँ ।”

जेवाका आमाबुवाले आफ्ना सबै सन्तानलाई पढाइरहेका छन् । जेवाकी माहिली बहिनीले पनि मेडिकलकै तयारी गरिरहेकी छन् । तीन दिदीबहिनी र दुई दाजुभाइको परिवारमा सबै पढिरहेको उनी बताउँछिन् ।

बुहारीले गरिन् एमएड
सिरहाकी साहनाज प्रवीणले लहानस्थित जेएस मुरारका क्याम्पसबाट एमएड गरिन् । मुस्लिम समुदायकी उनको नामांकनदेखि कलेज शुल्कसम्मको बन्दोबस्त उनका ससुराले नै गरे । स्नातकदेखि ससुरालगायत घरपरिवारले पढ्न सहयोग गरेको साहनाज बताउँछिन् । “यस कलेजबाट स्नातकोत्तर गर्ने साहनाज मधेसी मुस्लिम समुदायकी पहिलो बुहारी हुन्,” क्याम्पस प्रमुख तुलसी पोखरेलले भने, “अरू पाँचजनाजति मधेसी मुस्लिम समुदायका बुहारी यस कलेजमा विभिन्न तह र संकायमा अध्ययनरत छन् ।”

प्रदेश सरकारको आशमा महिला
प्रदेश नम्बर–२ सरकारले ०७५ माघमा किशोरीमाथि हुने हिंसा अन्त्य गर्ने र छोरीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सुरु गर्‍यो । अभियानअन्तर्गत अध्ययरत छात्रालाई साइकल वितरण, छोरी बिमा र हिंसाबाट जोगाउन आत्मरक्षा तालिमजस्ता कार्यक्रम समावेश गरिएको थियो । यी कार्यक्रमहरू घोषणामै सीमित भएका छन् । कार्यान्वयनमा आएनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेपछि साइकल वितरण कार्य बन्द छ । बैंकले सम्झौता नवीकरण नगर्दा छोरी शिक्षा बिमा पनि बन्द भएको छ ।

“छोरीलाई शिक्षा नदिने, बालविवाह गर्ने र घरेलु हिंसा गर्नेजस्ता प्रवृत्ति निर्मूल गरी प्रोत्साहन गर्ने उद्देश्यले ती कार्यक्रमहरू ल्याइएको थियो,” कार्यक्रमका संयोजक प्रियंका यादवले भनिन् ।

उनका अनुसार प्रदेश–२ सरकारले छोरीहरूले जन्मनेबित्तिकै तीन लाख रुपैयाँको बिमा गर्ने घोषणा गरिएको थियो ।

यस्तै, छोरीलाई मूलधारमा ल्याउनका लागि प्रदेश प्रहरी ऐनमा ५० प्रतिशत महिला आरक्षणको व्यवस्था गरिएको छ । प्रदेश सरकारले महिलाको नाममा उद्योग दर्ता गरी सञ्चालन भए २० वर्ष राजस्व नलिने कानुनी व्यवस्था समेत गरेको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro