site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
राज्यको संवेदना जाग्ने कहिले ?

राज्य संयन्त्रले अत्यन्त कम चासो दिएको देखिने नागरिक कष्टको विषयअघि मुलुकको सबलभन्दा दुर्बल पक्षहरु अत्यधिक देखिनेमा छोटो चर्चा गरौँ । साथै राज्यको सधैँ कुम्भकर्णे सुताइ संवेदनाको चर्चा पनि । 

निराश हुने कुरा त होइन । आशावादी हुनै पर्छ भावी दिनको लागि पनि । तर, आशा जाग्रत व्यक्तिगत अवधारणामा मात्रै सीमित छैन । परिवेश र परिदृश्यले पनि नागरिकलाई उत्साहित र निरुत्साहित गर्छ । उत्साह आशाको उज्यालो र निरुत्साह निराशाको अँध्यारो हो । 

देश कुन कुरामा सबल र छिटोछरितो निर्णायक बन्न सकेको छ ? वा त्यसको दाँजोमा राज्य भएको अनुभूति पाउन कति गारो र लथालिङ छ ? तुलना गरी हेर्दा दुर्बलताकै चाङ देखिन्छ । सबलता भेट्न बालुवा चालेर सुन पाएभन्दा पनि हम्मे पर्छ ।

KFC Island Ad
NIC Asia

छोटकरीमा लेखौँ – राजनीतिको दशादिशा, अर्थ नीतिको स्थिति, रोजगारीको हैसियत, गरिबीको खाडल, सम्पन्न विपन्नको दूरी, सामाजिक न्याय र राजकीय संयन्त्रमा पहुँच, प्रचलित शासनको अवस्था, छिटो छरितो न्याय प्राप्ति, उत्पादन उद्योग, कृषकको बेहाल, सधैँ मलको हाहाकार, उद्यमशीलताको अभाव, वैदेशिक रोजगारीमा जानेको दुःख र असुरक्षा, त्यहाँबाट प्रतिदिन चार शव (अनुपातमा) आउने गरेको व्यथा । 

राज्य संयन्त्रबाट सम्बोधन र समाधान हुने अपेक्षाका यस्ता आदि, इत्यादि विषयमा भइरहे छ के ? सञ्चार माध्यमबाट प्राप्त जानकारीलाई मात्र केलाएर हेर्यौँ भने पनि भयावह दृश्य र कथाव्यथा भेटिन्छ । 

Royal Enfield Island Ad

नेपालको लागि के यी कष्टसाध्य विषय समाधानहीन असाध्य भइसके ? कि राष्ट्र, राज्य र सरकारहरु संवेदनशून्य भएका हुन् ? नागरिक, समाज, राज्य र सरकारमाथि पुरिने गरी थुपिँ्रदै, बढ्दै गएको समस्या र विकृतिको चाङले थिचिएरै प्राण पखेरुको धुकधुकी बाँच्न अभिशप्त देशवासी हौँ हामी ?

हुँँदा खान पाउने नागरिकको कष्टदायी भोगाइको चर्चा गरी साध्य छैन । मुटु छेड्ने चिसोमा थरथर कामेको बालकको शरीरले त्यो बयान गर्छ । जीर्ण धुजा झुत्रे मट्याहा, नाम मात्रको कपडाले चीसो र लाज ढाक्न गरेको प्रयत्नले त्यो व्यथा बोलेको सुनिन्छ ।

बालबच्चालाई राम्रो जीवन दिन विदेश हिँडेका बा आमा फर्किआए मीठो खाने र राम्रो नाना पाउने आशामा बाटो कुर्ने नाबालक आँखाको भाकाले यो देशको वियोगान्त जीवन गाथा बोल्छ ।

घुरघुरानमा धुवाँ बालेर आगोको न्यानो खोज्ने जनता जमातले राज्यको न्यानो कता खोज्नु, कता पाउनु ? विकासको नाममा ठूला भौतिक संरचना र आधार निर्माणको गफ प्रशस्त गरिन्छ । यस्ता काम भइदिएमा अन्यथा होइन तर सँगै तन्नम नागरिकको जीवनाधार गुजाराको लागि लगावपूर्ण चर्चा र व्यवस्था गर्नमा राज्यको कर्म हिउँदे झरी जस्तै चीसो छ ।

यसो केही किलो चामल, दाल, मसला, नुन, तेल बाँड्यो, च्युरा, चाउचाउ थमायो, केही कपडा दियो, त्यसमाथि बिस्किटका एकदुई पोका । ती सामल थाप्ने हातसँग उभियो अनि मस्त तस्बिर खिचायो, उदार, समाजसेवी दाता दाबा गर्यो । राज्य नै यस्तो ‘राहत’को व्यसनमा व्यस्त छ, मस्त छ र सीमित पनि छ । अरुको किन कुरा काट्नु ? त्यस्तो ‘सस्तो’ राहत आवश्यकमध्ये पनि वर्षमा एक, दुई प्रतिशत मानिसको नसिबमा पर्छ होला ?             

यही हिउँद पनि कठ्याङ्ग्रिदो जनजीवनको व्यथा प्रतिदिनजस्तै सार्वजनिक भएका छन् । मूलधारका वा ठूला पत्रिकाले ती कष्टको समाचार, तस्बिर लगातार प्रकाशित गर्दैछन् । ए...शासक, ती ‘काला अक्षर भैँसी बराबर’ त पक्कै होइनन् कि ? 

राजनीतिको रुखो विषयमा केन्द्रित हाम्रा पत्रिकाले क्रमशः नागरिक, सामाजिक र प्राकृतिक वेदनाको सम्प्रेषणमा पनि कोल्टो फेर्दै प्रशंसनीय उचाइ लिँदैछन् । केही सातादेखि यस्ता पत्रिकाले नेपाली समाजको दुरुह चित्र र ठग प्रवृत्तिको तस्बिर राज्य संयन्त्रको कान, आखाँ र मनमस्तिष्कमा घुस्न पर्ने गरी लगातार छापेका छन् । कहिले काहीँ केही अनलाइन (इपत्रिकाहरु) मा समाचार, विचार पढ्दा तिनले पनि दुःखी जीवनको कथा, व्यथा अलि बढी समेट्न थाले हुन्थ्यो कि भन्ने लागिरहेछ । 

महिला, युवती र बालिका बेचबिखनको मामलामा हाम्रो देश बदनाम नै छ । लाजमर्दो छ । मानव (पुरुष समेत) क्रय विक्रय गरिने ठेकेदार ठगहरुको जगजगी पनि यो मुलुकमा निर्बाधजस्तै मौलाएको रहेछ । बिचरा ठगिन बाध्य पनि छन् र त ठगहरुको धनको धन्दाले तला थपिएको छ ।

हृदयविदारक दर्जनौँ अन्याय सार्वजनिक भएका छन् । हालै सर्लाही कामत गाउँबासीको कथाव्यथा सार्वजनिक भएको छ ।

ठेकेदारले काम र दाम पाउने प्रलोभन दिएर गाउँबाट एक हुल  युवा भारतको उत्तर प्रदेश लगे, त्यहाँको फरसैया चिस्यान केन्द्रलाई बेचे । अठारबीस घन्टासम्म काममा जोताउने त्यो पनि थकाइ, निद्रा नलाग्ने औषधि (विषादि ?) खुबाएर, बाहिर निस्कन रोक, बन्दी जीवन ।

चिस्यान केन्द्रबाट तीन शव गाउँ ल्याइए, कमाउन गएका ती उतै मरे प्रकारान्तरले मारिए । सातजना सिकिस्त छन् रे र २२ जना अझै बन्दी । घरको गर्जो टार्न गएकालाई उल्टो ऋण तिर्न भनिदैछ रे... आदि । कामत गाउँको त्यो समाचार पढ्दा मानिसको राक्षसी ज्यादती आङै जिरिङ्ग पार्ने खालको छ । त्यसमाथि यस्ता घटनाको उजुरी दर्ता गर्न प्रहरी प्रशासन मान्दैन लेखिएको छ । सम्बद्ध अधिकारीको उट्पट्याङ उत्तर पनि समावेश छ समाचारमा ।  

त्यस्तै अर्को दैनिकमा ठगीको समाचार छ र सम्पादकीय पनि । तामाकोसीमा माछा मारेर जीवन गुजारा गर्ने दोलखा, माझी गाउँका आठजना माझीलाई पाँच करोड ५६ लाख रुपियाँ राजस्व छलीको मुद्दा पाटन उच्च अदालतमा परेको रहेछ । भूकम्पमा भएको क्षति बापत सहयोग पाइने प्रलोभन दिएर तिनको  नागरिकता र सहीछाप लिएर हिँडेको ठगी व्यवसायीले माझीहरुको नाउँमा पीआरके इन्टरनेसनल कम्पनी दर्ता गरी राजस्व छल्ने धन्दा चलाए छ । 

त्यस्तो धन्दा चलाउने द्रव्यमोही कहाँ छ थाहा छैन । राज्य संयन्त्र वा प्रहरी प्रशासन पनि अहिलेसम्म जानकारी शून्य । भरोसा लिएका निर्दोष माझीहरु ठगिएका मात्रै होइनन् कि जेलै जानुपर्ने डरले थुरथुरी छन् रे । हुने नै भए, निमुखाहरुले न्याय पाउने विश्वासै छैन । उदाहरणको सिला खोज्नुपर्छ । के यो मुलुकको  न्याय र राज्य बिचौलिया, ठग र शोषकहरुको आश्रय भएको हो ? 
त्यस्तै शीतलहरमा थोत्रो त्रिपालको सहारामा बाँचेका जीवनको कथाव्यथा पनि यी पत्रिकामा आए । अरुमा पनि आएका छन् । खासगरी तराईमा बर्सेनि शीतलहर चल्छ । तर, यही ठाउँको प्रदेश २ को सरकारको प्रतिनिधि न्यानो कपडा बाड्ने र दाउराको जोहो बल्ल गर्न लागेको बताउँदै छन् । लाज पचाएपछि के लाग्छ र ? 

के त्यहाँका मुख्य मन्त्री, मन्त्रीहरु र प्रदेश निकायलार्ई शीतलहरको सिजन थाहा छैन ? मानिस चिसो जाडोले कठ्याङ्ग्री मर्न थाल्दा कपडा र दाउराको जोहो गर्न लागेको निर्लज्ज तदारुकता बोल्ने ? के ती कपडा कात्रो र दाउरा चिताको चिनो हो ? संघीय सरकारको यन्त्रलाई पनि दुःखी नागरिकको उच्छ्वास र चित्कार ‘भालुलाई पुराण’ समान हो ? छोटोमा भन्दा –हिमाल, पहाडको कथा पनि केही यस्तै र केही फरक पनि छ तर व्यथा त उही हो । 

पाँच दिएर पचास असुल्ने साहुहरुले परिवार नै उजाड गरिदिएका थुप्रै समाचार यसअघि पनि आएकै हुन् । तराई मधेसमा साहुहरुको ठगी धन्दा चरम रहेछ । चर्को विभेद, दाइजो सिर्जित हत्या, हिंसा । अत्यधिक हुने यस्ता घटनाले तराईका कथित नेताहरुको छाती पोल्दैन कि क्या हो ?

ती ठूलठूला कुरा छाट्छन् तर नागरिकको घाउमा मलम लगाउने चर्चासम्म चुँ गर्दैनन् । मानौ, संविधान संशोधन भए ती दुःखी, शोषित, पीडित र दमित मान्छेको घाउमा आफैँ खाटा बस्छजस्तो ठान्छन् ती मधेसी नेता ? मधेसी नागरिकको शोषण त्यहीँका नेताले बढी गर्छन् र शोषणकै धरातलमा नेता बनिन्छ कि के ?

ठगी र चिसोका यी केही प्रतिनिधि घटना हुन् । थप प्राकृतिक विपद्को बेलामा दुर्दशाको कथा बेग्लै हुन्छ । तर, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह सरकार नामका बेसरोकारका संयन्त्र साबित भएका छन् पीडितका हकमा । मानव वा प्रकृति सिर्जित जनताको दुःख, शोषण र दमनमा यी सरकारहरुको संवेदना ब्युँझने कहिले ? जुरुक्क जाग्ने कहिले ?     
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro