काठमाडौं । उत्तर कोरियाले समुद्रमा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार गरेको छ । दक्षिण कोरिया र जापानका अधिकारीहरूले उत्तर कोरियाले संदिग्ध ब्यालिस्टिक मिसाइल परीक्षण गरेको बताएका छन् । परमाणु शक्तिसम्पन्न देशले यो वर्ष पहिलोपटक शक्ति प्रदर्शन गरेको हो ।
यस बारेमा पहिलो जानकारी दिएको जापानको तटरक्षकले सो ‘ब्यालिस्टिक मिसाइल’ हुन सक्ने जनाएको छ । तर, थप विवरण भने दिएको छैन ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक र परमाणु हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।
यो पुष्टि भएमा यो वर्ष प्योङयाङले गरेको यस प्रकारको पहिलो प्रक्षेपण हुने बीबीसीले जनाएको छ ।
दक्षिण कोरियाली र अमेरिकी इन्टेलिजेन्सीले थप विवरणका लागि नजिकबाट विश्लेषण गरिरहेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस)ले जनाएको छ । जेसीएसका अनुसार बिहान ८ बजेर १० मिनेट जाँदा मिसाइल प्रक्षेपण गरिएको थियो ।
रोयटर्सको रिपोर्ट अनुसार जापानका रक्षामन्त्रीले संदिग्ध ब्यालिस्टिक मिसाइल करिब ५०० किलोमिटर टाढा गएको बताएका छन् । तर, एक विज्ञका अनुसार यो अझै पुष्टि भएको छैन ।
जापानी प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको यस कार्य खेदजनक भएको बताएका छन् । बीबीसी र अलजजिराबाट ।