site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एलन मस्कदेखि तुलसी गबार्डसम्म, को–को छन् डोनाल्ड ट्रम्पको टिममा ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले आफ्नो टिम बनाइरहेका छन् । उनले जनवरी २०२५ मा राष्ट्रपति पद सम्हाल्ने छन् । उनले त्यसअघि नै टिम तयार पार्न खोजिरहेका छन् । अहिलेसम्म उनले चुनावी अभियानमा सहयोग गरेकाहरूदेखि अर्बपति व्यापारीहरूसम्मलाई टिममा समावेश गरिसकेका छन् । हेरौँ, अहिलेसम्म कसले के जिम्मेवारी पाए ? 

स्टेट सचिव : म्याक्रो रबिवो

ट्रम्पले स्टेट सचिवका रूपमा म्याक्रो रुबिवोलाई छानेका छन् । ५३ वर्षीय म्याक्रो चीन, क्युबा र इरान मामिलामा जानकार मानिन्छन् । उनी अमेरिकाको उपल्लो सदन सिनेटको गुप्तचर समिति र वैदेशिक सम्बन्धका सदस्य हुन् । ट्रम्पले उनलाई राज्य सचिव नियुक्त गर्दै भनेका छन्, "उनी हाम्रो देशका लागि बलियो वकालत गर्छन्, उनी निडर योद्धा हुन् ।"

महान्यायाधिवक्ता : म्याट गेट्ज

४२ वर्षीय म्याट अमेरिकाका प्रख्यात अधिवक्ता हुन् । म्याटलाई नियुक्त गर्दै ट्रम्पले भनेका छन्, "म्याटले सरकारलाई हतियार बनाउने चलनको अन्त्य गर्छन् र उनले हाम्रा सीमा सुरक्षित राख्छन् । आपराधिक संगठन समाप्त पारेर उनले न्याय व्यवस्थाबाट गुमेको अमेरिकी जनताको विश्वास र भरोसा पुनःस्थापित गर्ने छन् ।"

अमेरिकाको तल्लो सदनका सदस्य रहेका म्याटले सांसद पदबाट राजीनामा दिएका छन् । उनीमाथि संसद्को नैतिक समितिले १७ वर्षीया बालिकासँग यौन सम्बन्ध राखेर पैसा तिरेको आरोपमा छानबिन गरिरहेको छ ।

राष्ट्रिय गुप्तचर निर्देषक : तुलसी गबार्ड

हवाई राज्यकी पूर्वप्रतिनिधि तुलसी गबार्डलाई ट्रम्पले राष्ट्रिय गुप्तचरको निर्देशक बनाएका छन् । सन् २०२० मा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको टिकट नपाएपछि गबार्ड सन् २०२२ मा डेमोक्र्याटिक पार्टी छाडेर ट्रम्पको टिममा सामेल हुन आएकी थिइन् ।

गबार्ड पूर्वसैनिक हुन् । उनले दुई दशकसम्म सैन्य सेवामा काम गरेकी छन् । उनीसँग इराक, कुवेतमा खटिसकेको अनुभव छ ।

उनी अमेरिकी राजनीतिमा हिन्दु धर्मावलम्बीको पक्षपाती मानिन्छन् । उनकी आमाले सन् १९८३ मा हिन्दु धर्म अपनाएकी थिइन् । यही कारण उनकी आमाले उनको नाम तुलसी राखिन् । तुलसी अमेरिकी संसद्को पहिलो हिन्दु सदस्य हुन् । तुलसीको भारतको भारतीय जनता पार्टीसँग निकट सम्बन्ध छ ।

सुरक्षा सचिव : पिट हेगसेथ

४४ वर्षीय पिट फक्स न्युज च्यानलका कार्यक्रम प्रस्तोता हुन् । उनी ‘फक्स एन्ड फ्रेन्ड्स विकेन्ड’ कार्यक्रम चलाउने गर्थे । उनी फक्स टेलिभिजनमा सन् २०१४ देखि कार्यरत थिए । उनी आफ्नो कार्यक्रममा बारम्बार ट्रम्पलाई बोलाइरहन्थे । यहीबाट उनीहरूबीच मित्रता गाँसिएको हो ।

पिटले सन् २००२ देखि २०२१ सम्म अमेरिकाको आर्मीका रूपमा काम गरिसकेका छन् । उनी सन् २००५ मा इराक र २०११ मा अफगानिस्तानमा खटिएका थिए ।

गृह सुरक्षा सचिव : क्रिस्टी नोयम

क्रिस्टी नोयम आफ्ना दक्षिणपन्थी विचारका कारण अमेरिकीमाझ चर्चित छिन् । उनले दुईपटक साउथ डकोटाको प्रतिनिधित्व गरिसकेकी छन् ।

कोभिड–१९ को माहमारीको समयमा अमेरिकाका सबै राज्यले स्वास्थ्य सावधानी अपनाउँदा उनले भने साउथ डकोटलाई व्यापारका लागि खुला गरिन् । यसपछि जुलाई २०२० मा ट्रम्पले साउथ डकोटामा आतिशबाजीसहितको ठूलो ‍र्‍याली निकाले ।

उनले आफ्नो संस्मरणात्मक किताबमा कुकुरलाई गोली हानेर मारेको लेखेकी छन् । यो विषयको अहिले अमेरिकामा चर्को आलोचना भइरहेको छ । ट्रम्पले बारम्बार भन्ने गरेको गैरकानुनी आप्रवासी नियन्त्रणमा यो पद सबैभन्दा प्रभावकारी मानिन्छ ।

सीआईए निर्देशक : जोन र्‍याटक्लिफ

अमेरिकाको गुप्तचरी संस्था हो, सीआईए । जोन र्‍याटक्लिफ यसअगाडि ट्रम्पको कार्यकालका अन्तिम डेढ वर्षमा राष्ट्रिय गुप्तचरको निर्देशक थिए । अमेरिकाको आन्तरिक र बाह्य गरी दुवै गुप्तचर संस्थाको नेतृत्वमा पुग्ने जोन र्‍याटक्लिफ थोरे मान्छेमध्ये हुन् ।

स्वास्थ्य र मानवीय सेवा सचिव : रोबर्ट एफ केनडी जुनियर

रोबर्ट सुरुमा डेमोक्र्याटबाट राष्ट्रपतिय उमेदवारका लागि लडेका थिए । तर, उनी पार्टीभित्रकै प्रतिस्पर्धामा हारे । त्यसपछि स्वतन्त्र उमेदवारी घोषणा गरे तर, अन्तिममा उनले उमेदवारी फिर्ता लिएर ट्रम्पलाई सघाए ।

रोबर्ट डेमोक्र्याटिक पार्टीका ‘आइकन’ मानिने रोबर्ड केनडीका छोरा हुन् । रोबर्टले कोभिड–१९ को भ्याक्सिनबारे अनेक अफवाह फैलाएका थिए । भ्याक्सिनका बारेमा अफवाह फैलाउने मान्छे नै मानवीय र स्वास्थ्य सेवाको सचिव भएकामा अमेरिकीहरू दंग छन् ।

चिफ अफ स्टाफ : सुसी वाइल्स

६७ वर्षीय वाइल्स ट्रम्पको वरिष्ठ सल्लाहकार हुन् । उनी ट्रम्पको ‘डी–फ्याक्टो म्यानेजर’ पनि हुन् । फ्लोरिडाको राजनीतिमा सक्रिय उनले ट्रम्पको चुनावी अभियानलाई व्यवस्थापन गरेकी थिइन् ।

डिर्पाटमेन्ट अफ गर्भनमेन्ट एफिसियन्सी : एलन मस्क र विवेक रामास्वामी

एलन र विवेकलाई ट्रम्पले आफ्नो राजनीतिक एजेन्डा लागु गराउने मुख्य पद दिएका छन् । यी दुई जनालाई सरकारी कर्मचारी कटौती, कतिपय सरकारी संस्थान बन्द गर्ने अधिकार हुने छ । यसका साथै एलन र विवेकसँग अमेरिकी सरकारका अतिरिक्त नियम कानुन हटाउने, सरकारको खर्च कटौती गर्ने र संघीय सरकारका एजेन्सीहरूको पुनःगठनको पनि अधिकार हुने छ ।

ट्रम्पले ‘सेभ अमेरिका’ अभियानका लागि खर्च कटौतीलाई सबैभन्दा जरुरी काम भन्दै आएका छन् ।

ट्रम्पको राजनीतिक सपना पूरा गर्ने टिममा रहेका विवेकका बा आमा भारतको केरल राज्यबाट अमेरिका गएका हुन् । रामास्वामी भने अमेरिकामै जन्मिएका हुन् ।

एपीबाट ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro