site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकामा वाम गठबन्धनको शानदार जित

कोलम्बो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा शानदार जित हासिल गरेको छ ।

मार्क्सवादी दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका थिए । 

तत्काल चुनाव गराउने र आफ्नो एजेन्डाका लागि संसदीय समर्थन सुरक्षित गर्ने उनको निर्णयलाई समर्थन मिलेको छ । दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनले २२५ सदस्यीय विधानसभामा कम्तिमा १२३ सिट जितिसकेको छ । मतगणना भइरहेका अन्य केही स्थानमा पनि अग्रता कायम छ । 

समाचार तयार पार्दासम्म गणना भएका तीन चौथाइभन्दा बढी मतमध्ये गठबन्धनले ६२ प्रतिशत मत प्राप्त गरेको छ । विपक्षी नेता सजिथ प्रेमदासाको पार्टी १८ प्रतिशत मतका साथ निकै पछि परेको छ ।

“जनताले भ्रष्टाचार र भ्रष्ट प्रणालीबाट छुटकारा पाउन मतदान गरेका छन्,” चुनावमा एनपीपीलाई समर्थन गर्ने सूचना प्रविधिका व्यवसायी चानाका राजपाक्षले शुक्रबार एएफपीसँग भने । 

अल्पसंख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्ला जाफनामा उनको पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

एक मजदुर परिवारमा जन्मिएका ५५ वर्षीय राष्ट्रपति दिसानायकेले बिहीबारको चुनावमा मतदान गरेपछि सदनमा ‘सशक्त बहुमत’ साथ आफ्नो गठबन्धनलाई अगाडि बढाउने अपेक्षा गरेको बताएका थिए ।  

उनले भने, “हामीलाई विश्वास छ, यो एक महत्वपूर्ण चुनाव हो जसले श्रीलंकामा एउटा परिवर्तनको संकेत गर्नेछ । यो चुनावमा एनपीपीले सदनमा बलियो बहुमतका लागि जनादेश पाउने हाम्रो विश्वास छ ।”

प्रहरीका अनुसार, हालका वर्षहरूमा अधिकांश मतदानको विपरीत नौ घण्टाको मतदान अवधि कुनै हिंसात्मक घटना बिना बितेको छ । तर ड्युटीमा रहेका बेला एक प्रहरी हवल्दारसहित तीनजना निर्वाचन कार्यकर्ताको रोगका कारण मृत्यु भएको थियो ।

श्रीलंकामा गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमाभन्दा कम ७० प्रतिशतको हाराहारीमा मत खसेको सञ्चारमाध्यमले जनाएका छन् । 

करिब २५ वर्षदेखि सांसद रहँदै आएका वर्तमान् राष्ट्रपति दिसानायकेले केही समयका लागि कृषिमन्त्रीको रूपमासमेत काम गरेका थिए । उनको एनपीपी गठबन्धनले निवर्तमान विधानसभामा जम्मा तीन सिट मात्र जितेको थियो । 

देशलाई सन् २०२२ को आर्थिक संकटतर्फ धकेलेको आरोप लागेका संस्थापन पक्षका राजनीतिज्ञहरूबाट आफूलाई सफलतापूर्वक अलग्गै राखेपछि उनी सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपति पदका लागि निर्वाचित भएका थिए । रासस/एएफपी 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro