सीएनएन । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिका र उसका सहयोगीले ‘रुसले युक्रेनमा थप आक्रमण गरे निर्णायक जवाफ दिने’ बताएका छन् । बाइडनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई आश्वस्त पार्दै यस्तो बताएका हुन् ।
अमेरिकी राष्ट्रपति बाइडनले रुसी समकक्षी भ्लादमिर पुटिनलाई युक्रेनको सीमामा भइरहेको सैन्य संकट अन्त्य गर्न आग्रह गरेको केही दिनपछि उनको युक्रेनी राष्ट्रपतिसँग कुराकानी भएको हो । रुस र अमेरिकी अधिकारीहरूले यसै महिनाको अन्ततिर जेनेभामा भेटघाट गर्ने तय गरेका छन् ।
जेलेन्स्कीले आइतबार ट्विट गर्दै बाइडनसँगको टेलिफोन वार्ताले आफूहरूबीचको विशेष सम्बन्धलाई जोड दिएको बताए । उनले युरोपमा शान्ति कायम राख्ने, थप द्वन्द्व चर्किन नदिनेलगायत विषयमा छलफल भएको बताए ।
बाइडन र युरोपेली नेताहरूको चेतावनीको बावजुद युक्रेनी सीमामा झन्डै एक लाख रुसी सेना तैनाथ छन् ।
रुसले अमेरिका र नेटोबाट युक्रेनलाई सैन्य गठबन्धनमा संलग्न नगराउने र पूर्वतर्फ नेटोको विस्तार नगर्ने ग्यारेन्टी खोजिरहेको छ ।