कास्की । आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा चुनाव हुने भएको छ ।
राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा गरी आगामी फागुनमा बिदाइ हुने सदस्यको खाली हुने स्थानमा निर्वाचन आयोगले निर्वाचन गर्न लागेको हो ।
गण्डकी प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का दुई र नेकपा (एकीकृत समाजवादी)का एक गरी तीन सिट खाली हुने भएपछि सो सिटमा निर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
माओवादीबाट दीनानाथ शर्मा अन्य समूह र खिमकुमार विक दलित समूहबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । यसैगरी, एकीकृत समाजवादीका शान्तिकुमारी अधिकारी महिला कोटामा निर्वाचित भएकामा उनीहरूको चारवर्षे पदावधि आगामी फागुनमा पूरा हुन लागेकाले निर्वाचन प्रक्रिया सुरु गरिएको प्रदेश निर्वाचन अधिकृत एवं कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।
उनका अनुसार निर्वाचन तयारीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना, मतदाता नामावली प्रकाशन, नामावलीउपर दाबी-विरोधलगायतक कार्यक्रम सम्पन्न भएका छन् । यही पुस २० गते उमेदवारको मनोनयन दर्ता हुने प्रमुख पराजुलीले बताए ।
उनले भने, “राष्ट्रियसभा सदस्यको निर्वाचन तयारी भइरहेको छ । शनिबार मतदाता नामावली प्रकाशन गर्यौँ, कसैको पनि दाबी-विरोध परेको छैन । पुस २० गते उम्मेदवारको मनोनयन दर्ता गरिनेछ ।”
प्रदेश निर्वाचन कार्यालय पोखरामा हुने निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ । प्रदेशसभा र स्थानीय तहका मतदाताका लागि छुट्टाछट्टै मतदान केन्द्र रहने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताए ।
उनका अनुसार पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचन सो पद रिक्त हुनुभन्दा ३५ दिन पहिले हुने गरी मिति तोक्नुपर्ने व्यवस्था संविधानमा छ । फागुनमा रिक्त हुने पदका लागि माघ १२ गते निर्वाचनको कार्यतालिका छ ।
गण्डकीमा ५९ जना प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख १७० गरी कुल २२९ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ रहनेछ ।
संविधानबमोजिम राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचकमण्डलमा प्रदेशसभाका सदस्य, महानगर, उपमहानगर तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् ।
नेपालको संविधान जारी भएपछि वि.सं. २०७४ माघ २४ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो । जसमा प्रत्येक प्रदेशबाट एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट गरी १४ जना बहुमतीय निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए ।
यसैगरी, प्रत्येक प्रदेशबाट तीन महिला र तीन अन्य समूहबाट गरी ४२ जना एकल संक्रमणीय निर्वाचन प्रणालीको आधारमा निर्वाचित भए भने मन्त्रिपरिषद्को सिफारिसमा एक महिलासहित तीनजना राष्ट्रपतिबाट मनोनीत भएका थिए । राष्ट्रियसभामा कुल ५९ सदस्य रहने व्यवस्था छ ।
निर्वाचित सदस्यको पदावधि ६ वर्षको हुन्छ र एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाद्वारा एकतिहाइको दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको ६ वर्षको हुने गरी पदावधि कायम गरिएको छ ।
पहिलो दुई वर्षमा पदावधि समाप्त भएका १९ जना सदस्यको वि.सं. २०७६ माघ ९ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो । चार वर्षमा पदावधि समाप्त हुने २० सदस्यका लागि माघ १२ गते सातै प्रदेशमा निर्वाचन हुँदै छ । रासस