मल्लकालपछि नेपालका शासकहरूले सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको महत्त्व कहिल्यै बुझेनन् । यसैले हजारौं वर्षमा बनेका सम्पदा मासिएर जाने अवस्थामा पुगेका छन् ।
गत बिहीवार हनुमानढोका क्षेत्रमा अवस्थित कृष्ण मन्दिर परिसरमा रहेको शिलालेख नष्ट गर्ने दुष्कार्य त्यसको पछिल्लो उदाहरण हो । शिलालेख टुक्राटुक्रा हुनेगरी फुटाइएको छ ।
भूकम्पपछि सम्पदा संरक्षणलाई बढी नै बेवास्ता गरिएका कारण कला, संस्कृतिसम्बन्धी सम्पदामात्र होइन अभिलेखहरू पनि नष्ट भएका छन् । कृष्ण मन्दिर परिसरको शिलालेख त्यही शृंखलाको पछिल्लो कडी हो ।
मल्ल शासनको अन्त्यपछि नेपालको कला संस्कृतिको उन्नति अवरुद्ध भयो । राणाकालमा विलासी दरबार त धेरै बनाइए तर नेपालको मौलिक कलाको कदर गरिएन । नेपाल मण्डलको उन्नत सभ्यताप्रति विजेताको द्वेष प्रकट भयो ।
पञ्चायत कालमा त प्राचीन मूर्तिको सगठित तस्करी नै भयो । संसारका विभिन्न संग्रहालयमा नेपालबाट चोरिएका मूर्तिलगायतका सम्पदा छरिएर रहेका छन् । शासकहरू नै मूर्ति तस्करीमा संलग्न भएको चर्चा व्यापक उतिबेला व्याप्त थियो ।
नेपाल मण्डलको सभ्यताप्रति शाह र राण शासकहरूको वैरभाव प्राचीन सम्पदाप्रतिको उपेक्षा र उदासीनतामा प्रकट भएको थियो । दुर्भाग्य, शासन पद्धति नै बदलिए पनि शासकहरूको मानसिकता परिवर्तन भएन ।
भूकम्पपछि मात्रै पनि शासकहरूको आँखा खुलेको भए सम्पदा संरक्षण यति ठूलो क्षति हुने थिएन । प्रविधिको प्रयोग गरेर कम्तीमा सबै अभिलेखहरूको अभिलेखन गर्न सकिन्थ्यो ।
तत्काल न शासकको मानसिकता बदल्न सकिन्छ न कर्मचारीको गैरजिम्मेवार प्रवृत्ति परिवर्तन हुन्छ । तर, सम्पदा संरक्षणमा हेलचेक्र्य्राइँ गर्ने गैरजिम्मेवार पदाधिकारीलाई सजाय दिने व्यवस्था गर्ने हो भने अवस्थामा सुधार हुनसक्छ ।
यसैले शिलालेख तोडफोड गर्ने अपराधीलाई समात्न सरकारले प्रहरी प्रशासनलाई कडा निर्देशन दिनु जरुरी देखिन्छ । तोडफोड गरिएको शिलालेखलाई पुनस्प्रतिस्थापित गर्न सक्दो उपाय गरिनुपर्छ ।
साथै, अलपत्र अवस्थामा रहेका सबै मूर्त सम्पदाको अभिलेखन र संरक्षण तत्काल गरियोस् । इतिहासमा यस कालखण्डलाई कलङ्कित हुनबाट जोगाऊँ !