बीपी कोइरालाको विभिन्न लेखनहरुबाट जीवन, क्रान्ति र शान्तिका विषयमा उनका धारणालाई राम्ररी विश्लेषण गर्न सकिन्छ । यस सम्बन्धमा स्टीफेन ज्विगका साहित्यहरु सम्बन्धमा बीपीका टिप्पणीलाई पनि महत्त्वका साथ हेर्नुपर्ने हुन्छ ।
अष्ट्रियाली उपन्यासकार, नाटककार तथा जीवनी लेखक तथा सन् १९२० र ३० को दशकमा विश्वका लोकप्रिय लेखकहरुमध्ये एक मानिएका स्टीफेन ज्वीगका केही सृजनाहरुका बारेमा बीपीका केही टिप्पणीहरु सार्वजनिक छन् । जर्मन भाषी ज्वीग भियनामा जन्मिएका थिए । उनी यहुदी थिए ।
सन् १९३४ मा जर्मनीमा नाजी पार्टीको उदय भएपछि उनी आसन्न खतरा छल्न इङ्गल्यान्डतिर लागे । केही अवधिपछि उनी न्युयोर्क बस्न पुगे । त्यसपछि त्यहाँबाट पनि ब्राजिलतर्फ बसाइँ सरे । पछि उनले आफ्नी श्रीमतीसहित आत्महत्या गरे । साहित्यमा ज्वीगका धेरै महान् वाणीहरु प्रसिद्ध छन् । कुनै पनि पाप तबसम्म बिर्सिदैँन जबसम्म विवेकले यसलाई सम्झिरहेको हुन्छ भन्ने तथा खुसी भई बस, रचनात्मक बन, मान्छेले आफ्नो अस्तित्व जानेर नै विश्वासले भरिने हो र यसै विचारले उसको बलियो पनालाई बढाउँछ भन्ने उनको भनाइ यत्रतत्र उल्लेख गरिएको पाइन्छ ।
ज्विगले धेरै लेखेका छन् । उनको दुईवटा पुस्तक बारे टिप्पणी बीपी कोइरालाको लेखनमा परेको देखिन्छ । पहिलो पुस्तक हो सन् १९३९ मा लेखिएको ‘बिवेयर अफ पिटी’ (दया देखि सावधान) । अर्को पुस्तकको नाउँ हो ‘मेरी आन्टोएनेट : द पोर्ट्रेट अफ एन एभरेज वुमन’ । ‘बिवेयर अफ पिटी’ ज्विगको सबैभन्दा लामो उपन्यास हो । तर मेरी आन्टोएनेट फ्रान्सकी एक चर्चित तथा ऐतिहासिक महारानीको जीवन कथा हो । अन्य धेरै पुस्तकहरु झैँ यी दुवै पुस्तकहरु बीपी आफँैले छानेर पढेको देखिँदैन । कसैको सिफारिस वा पुस्तकालयहरुबाट पठाइएका साहित्यिक पुस्तकका रुपमा कारागारमा छँदा बीपीले यी पुस्तकहरु पढेका हुन् । तत्कालीन राजनीतिक पुस्तकहरु सामन्यतः बीपीको छनोटमा परे पनि कारागारमा पुग्न सक्दैनथे । बन्दी जीवनको अनुभवबीच यी पुस्तकहरु बीपीले पढेका हुन् ।
‘बिवेयर अफ पिटी’को कथावस्तु धेरै घतलाग्दो छ । यस उपन्यासका दुई मूल चरित्रहरु छन् । पहिलो चरित्र एन्टोन हफमिलर हो । ऊ ब्यारेकमा बस्ने युवा सैनिक हुन्छ । एकजना हंगेरियन जिम्दार लाजोस केकेस्फाल्भाको भव्य तथा रमाइलो महलमा उसले निमन्त्रणा पाउँछ । त्यहाँ उसको केकेस्फाल्भाकी छोरी एडिथसँग चिनजान हुन्छ । उसले एडिथलाई आफूसँग नाच्न प्रस्ताव गर्छ । निको हुन नसकेको पक्षाघात भएकोले एडिथ चलमल गर्न नसक्ने हुन्छे । हफमिलरको उसँग मायापिरती हुन जान्छ । एडिथले पनि हफमिलरलाई मन पराउँछे ।
यो जीवन्त वातावरणमा उसलाई पक्षाघात निको हुने आशा पलाउँछ । हफमिलरले पनि ऊ निको भएपछि उसलाई बिहे गर्ने वाचा गर्छ । यस्तो वाचाले जीवनप्रति उत्साहित भएकी एडिथ उपचार गर्न तयार हुने हफमिलरको विश्वास हुन्छ । तर, यो सम्बन्धमा एउटा चुनौती थपिन्छ । समाजले खिसी वा घृणा गर्ला भन्ने डरले उसले यो सम्बन्धलाई सार्वजनिक रुपमा अस्वीकार गरेकाले त्यो चुनौती थपिएको हो । जब एडिथले यसबारेमा थाहा पाउँछे ऊ विरक्तिन्छे । हफमिलरको माया यति कमजोर होला भन्ने उसलाई लागेको थिएन । यो वास्तविकता सहन नसकेर एडिथले आत्महत्या गर्छे । आफ्नो कारणले गर्दा यस्तो पाप हुन गएको हफमिलरले स्वीकार गर्छ तथा उपन्यासको अन्त्यमा ऊ प्रथम विश्वयुद्धको लागि प्रस्थान् गर्छ ।
‘बिवेयर अफ पिटी’का आधारमा बीपीले स्टिफेन ज्विगको अलिक लम्याएर आफ्नो कुरा भन्ने बानी भएको टिप्पणी गरेका छन् । उनी प्रत्येक ‘डिटेल’लाई स्पष्ट गर्न खोज्छन् । उनको भाषा पनि राम्रो छ । कतैकतै ‘सेन्टिमेन्टल’ देखिन्छन् । साहित्यकार बीपीको भनाइमा यो ‘ओरेटोरियल’ शैली हो । समग्रमा यो उपन्यास राम्रो भएको बीपीको कथन छ । प्रथम श्रेणीका लेखक नभएपनि द्वितीय श्रेणीको लेखकका रुपमा ज्विगको उच्च सम्मान रहेको बीपीको मूल्यांकन छ । यसका साथै उनी भन्छन् : “आजकालका मानवीय समस्याहरुको सूक्ष्मविश्लेषण उनको रचनामा पाइन्न; न मनोवैज्ञानिक सूक्ष्मता नै पाइन्छ उनको चरित्र रचनामा ।” त्यसैले ज्विगलाई कलाको क्षेत्रमा बुर्जुवा पनि भन्दा हुने बीपीको स्पष्टोक्ति छ ।
‘बिवेयर अफ पिटी’ दयाको भीषण परिणाम प्रस्तुत गरिएको उपन्यास हो । यसमा रचनात्मक दया (क्रिएटिभ पिटी)को पक्षलाई बीपीले उठाएका छन् । बीपीको विचारमा डाक्टरले दृष्टिहीन महिलालाई बिहे गरेर उसँगको जीवन निर्वाह गर्नु रचनात्मक किसिमको दया हो । एण्टोन हफमिलरको कुँजी युवती एडिथप्रतिको दया भने भावनात्मक (सेन्टिमेन्टल) दयामात्र हो । यही भावनात्मक दयाका कारणले गर्दा अन्त्यमा उपन्यासले एउटा भीषण परिणाम दिएको छ । त्यसो हुनाले, ज्विग भन्छन् – दयादेखि सावधान होऊ ।
ज्विगको प्रस्तुतिका बारेमा बीपी पुनः टिप्पणी गर्छन् : “ज्विगको लामो लेख्ने बानी छ । छोटकरीमा केही प्रभावयुक्त वाक्यद्वारा परिस्थितिलाई स्पष्ट गरेर छ्याङ्ग पार्न सक्तैनन् उनी । बीचबीचमा उनको अर्को बानी पनि प्रकट हुँदै जान्छ –(एपिग्रामेटिक एक्सप्रेसन) (विदग्धोक्ति–सं.) मा लेख्ने । एपिग्राम्स पढ्दा राम्रो लाग्छ तर त्यस्ता वाक्यमा बुद्धि, कौशल र शब्दचातुर्य अधिक रहन्छ बनिस्वत सत्यांशको । ‘बिवेयर अफ एपिग्राम्स’ भन्नुपर्ला जस्तो लाग्छ । भाषा राम्रो छ ।”
‘मेरी आन्टोएनेट’ पनि ‘बिवेयर अफ पिटी’ जस्तै तर अझ घतलाग्दो जीवनी हो । मेरीको जन्म तथा बाल्यकाल भियनामा बितेको हुन्छ । ऊ अस्ट्रियाकी महारानी मारिया थेरेसा तथा राजा फ्रान्सिस प्रथमकी सानी छोरी थिइन् । सन् १७७० मा १४ वर्षको उमेरमा उनको बिहे फ्रान्सका युवराज लुइ अगस्टेसँग भयो । त्यसको चार वर्षपछि अगस्टे लुइ १६ औं का रुपमा फ्रान्सका राजा भए तथा मेरी महारानी भइन् । उनलाई बोल्ड (निर्र्भीक – सं), जीवन्त र असाधारण फेसन गर्ने महिलाका रुपमा चित्रण गरिएको छ । उनी खर्चालु स्वभावकी थिइन् । सन् १७८९ मा उनले राजासँग संसद्को सुधारका सम्बन्धमा भइरहेका प्रयासहरुको विरोध गर्न आग्रह गरिन् । यसले गर्दा राजा झनै अलोकप्रिय भए । यसैकारण सोही वर्षको अक्टुबरमा राजारानीलाई उनीहरु रहेको ठाउँ वर्सायबाट पेरिस जान विवश गरिएको थियो । यसको दुई वर्षपछि पेरिसबाट राजदम्पतिले भाग्ने प्रयास गरेका थिए । सन् १७९१ मा उनीहरुलाई बाहिर जानबाट रोक लगाइएको थियो । यो दरबार छोडी भाग्ने योजना मेरी आन्टोएनेटले नै बनाएको भनिन्छ । राजासँगै थुना परेकी मेरीेले आफ्नो षड्यन्त्र जारी राखिन् । क्रान्तिलाई समाप्त गर्न र राजपरिवारलाई मुक्त गर्नका लागि विदेशी हस्तक्षेपको आश पनि गरिन् । उनले आफ्ना भाइ तथा रोमन सम्राट लियोपोल्ड द्वितीयसँग सहयोगका लागि अनुरोध गरेको पनि पाइन्छ । सन् १७९२ मा अष्ट्रिया विरुद्ध फ्रान्सले गरेको युद्धको घोषणालाई मेरीले समर्थन गरिन् । यसमा फ्रान्सले हार्नेछ र आफूहरुले मुक्ति पाउने सम्भावना हुनेछ भन्ने उनलाई लाग्थ्यो । मेरीको अलोकप्रियताले राजतन्त्रको उन्मूलनलाई मद्दत गर्यो ।
पेरिसका बासिन्दाले १० अगस्ट १७९२ मा ट्युलरिज प्यालेसमा आक्रमण गरेको केहीपछि फ्रान्समा प्रथम गणराज्यको स्थापना भयो । यसको तीन दिनपछि राजपरिवारलाई बन्दी घोषित गरियो । जनवरी १७९३ मा लुइ १६ औं को हत्या गरियो र त्यसै वर्ष १६ अक्टुबरका दिन मेरी आन्टोएनेटलाई गिलोटिनमा हालेर मारियो । उनलाई फ्रान्सका शत्रुहरुको समर्थन गरेको तथा गृहयुद्ध चर्काएको आरोप लगाइएको थियो ।
बीपीले ‘मेरी आन्टोएनेट : द पोर्टेट अफ एन एभरेज वुमन’मा ज्विगले आन्टोएनेटको चरित्र धेरै सहानुभूतिले वर्णन गरेको उल्लेख गरेका छन् । उनको भनाइमा यो अत्यन्त रोचक जीवन चरित्र रहेछ । बीपीको भनाइ छ – “एउटी साधारण नारी, इतिहासको असाधारण अवस्थितिमा आन्टोएनेट कुनै उल्लेखनीय रानी हुने थिइन् तर इतिहासको परिस्थितिमा परेर त्यस साधारण रानीले ठूलो– ट्रेजिक पात्रको रुपमा प्रकट भएर एउटा गौरवमय अन्त्यलाई अंगिकार गर्नुपर्यो ।” मेरी आन्टोएनेटको अन्त्यलाई बीपीले किन गौरवमय देखे, उनको टिप्पणीबाट प्रस्ट हुँदैन । राजतन्त्रलाई बचाउन जनतासँगको सहकार्य मेरीबाट हुन सकेन । व्यक्तिगत अवस्थाहरुका बारेमा जे दृष्टिकोण राखेपनि फ्रान्सेली क्रान्तिको पृष्ठभूमि भयानक छ ।
यो पुस्तक सकेपछि बीपी क्रान्तिको अर्को पक्षप्रति संवेदनशील देखिन्छन् । उनको भनाइ छ : “(यो) किताबले मेरो आजको उदासीलाई झन् बढाएको छ । आन्टोएनेटप्रति मेरो सहानुभूति र भावना उन्मुख गर्न थाल्छु । मलाई लाग्न थाल्छ – के क्रान्तिले जहिले पनि निम्नस्तरीय व्यक्तिहरुको हातमा आफूलाई सुम्पेर आफ्नो महान् आदर्श र लक्ष्यलाई बिस्तारबिस्तार परित्याग गरेर विकृत स्वरुप धारण गर्नुपर्छ ?” एकजना क्रान्तिकारीको डर यस टिप्पणीमा प्रस्ट रुपमा देखा परेको छ ।
बीपी कुनै पनि क्रान्ति अर्धमानवहरुको हातमा विसर्जन नहोस् भन्ने बारेमा चनाखो देखिन्छन् । उनको भनाइ छ– “पानीले जहिले पनि तल्लो सतह खोज्छ, के त्यस्तै क्रान्ति पनि यसमा लागेका आदर्श पुरुषहरु, दार्शनिक, कलाकार, साधारण व्यक्तिहरु, बदमाश, लुच्चाहरु घृणा र वासनाका अर्धमानव प्रतिमूर्तिहरुमध्ये तल्लै सतहका अर्धमानवहरुलाई खोजिहिँड्छ । त्यहाँसम्म नपुगुन्जेल यसको ध्याउन्न बनी रहन्छ, यो वेगवान् भै रहन्छ र त्यो तल्लो सतहमा पुगेपछि मात्र यसको वेग परिसमाप्ति हुन्छ ।”
आफ्नो चिन्तालाई बीपीले नेपाली क्रान्तिसँग जोडेका छन् । जोडेका मात्र होइनन् आफ्नो बाटो फरक भएको प्रस्ट गर्न उनी समय लिँदैनन् : “यहाँ नेपालको क्रान्ति भयो भने त्यसको यो लक्षण प्रारम्भ मै प्रकट हुन दिनुहुन्न । अनावश्यक हिंसाको प्रारम्भ जस्तोसुकै सानो रुपबाट प्रकट भएपनि अन्त्यमा क्रान्तिको आदर्श र उच्च लक्ष्यको ठाउँमा हिंसा सायद अनिवार्य हुन्छ तर हिंसाले अनिवार्यताको सीमामा रहन सक्यो भने क्रान्तिको आदर्शलाई यसले कति कलुषित पार्न सक्दैन । अनावश्यक हिंसा प्रारम्भ भयो भने फेरि परिणाम एउटै हुन्छ – हिंसा केबल हिंसा । क्रान्तिमा हिंसाको बाटो सजिलो हुन्छ । हामीले यो बाटो खोज्नुहुन्न – सजिलो छ भनेर ।” बीपीले फ्रान्सेली राजतन्त्रको समाप्ति तथा फ्रान्सेली क्रान्तिबाट लिएको शिक्षा हो यो । राजतन्त्रका बारेमा उनको धारणा पनि यो टिप्पणीबाट प्रस्ट हुन्छ ।