नेपाली कांग्रेसको चौधौं महाधिवेशन सम्पन्न भएको छ र शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित हुनुभएको छ । नेतृत्व परिवर्तनको विषय नारामा मात्र सीमित हुन पुग्यो । तथापि, केन्द्रीय समितिको सभापतिपछिका लगभग सबैजसो पदाधिकारी नयाँ पुस्ता एवं नयाँ अनुहारका छन् ।
जिम्मेवारीमा नयाँ भए पनि उनीहरू पार्टीमा लामो समय काम गरेका साथीहरू नै हुन् । यस नतिजाले कम्तीमा पार्टी यथास्थितिबाट केही अघि बढ्छ र सुधार तथा रुपान्तरणको बाटोमा अग्रसर हुन्छ भन्ने थोरै आशा भने पलाएको छ । यसलाई आगामी दिनले प्रमाणित गर्नेछ ।
राजनीतिमा सधैँ आफूले जितिन्छ वा जित्नै पर्छ भन्ने मानसिकताले लोकतन्त्रलाई सबल एवं सुदृढ बनाउँदैन । जित र हारको स्वाभाविक र नियमित प्रक्रियाले लोकतन्त्रको जगलाई मजबुत तुल्याउँछ । तर, नेपालको लोकतन्त्रमा आफैँले नजिते सबै बर्बाद हुन्छ भन्ने मनाेवृत्तिको बोलावाला छ । यही प्रवृत्तिले लोकतन्त्रको हुर्मत लिएको छ र असाध्य बदनाम तुल्याएको छ ।
पार्टीको आन्तरिक निर्वाचन झन्डै एउटा एकांकी जस्ताे देखियो जसले प्रक्रियापूर्व नै नतिजा निर्धारण गर्छ । अपवादका केही नतिजाहरुले मात्रै निर्वाचन नै हो भन्ने भ्रम पस्किन्छन् र पार्टीका साथीहरू त्यही भ्रमको त्यान्द्रो समातेर पाँच वर्ष संघर्ष गर्छन् र पसिना बगाउँछन् । फेरि त्यही नियमित आकस्मिकता दोहोरिन पुग्छ । फेरि साथीहरू थाप्लोमा हात लगाउँछन् तर यो शृङ्खला रोकिँदैन । यद्यपि, परिणाम जे भए पनि सच्चा लोकतन्त्रवादीले नतिजालाई सहजरूपमा ग्रहण गर्दै आफ्नो यात्रा जारी राख्छ र कोसिस गरिरहन्छ ।
दोस्रो महायुद्धका ‘हिरो’ थिए विन्स्टन चर्चिल बेलायतका तत्कालीन प्रधानमन्त्री । उनको खुबी र नेतृत्व कौशलका कारण नै बेलायती गठबन्धनले हिटलरको नाजीवाद र मुसोलोनीको फासीवादविरुद्ध दोस्रो विश्वयुद्ध जित्यो । संसारका नागरिकहरुका लागि चर्चिल त्यस्ता तिलस्मी पात्र थिए जसको अरु कसैसँग तुलना हुँदैनथ्यो ।
परन्तु १९४५ जुलाई २६ मा भएको चुनावमा लेबर पार्टीले ठूलो जित हासिल गरेपछि उनले पदबाट राजीनामा दिनु परेकाे थियो ।
बेलायती जनताले चर्चिललाई दुईवटा आरोप लगाए । एक, राष्ट्रिय अर्थतन्त्र ध्वस्त पारेको र अर्को पाँच वर्षसम्म बेलायती जनतालाई मानसिक त्रासमा राखेको । यसको मूल्य उनले चुकाउनु पर्यो । बेलायती जनताको अभिमतबाटै उनी सत्ताबाट बाहिरिए । सत्तामा फर्कन थप केही वर्ष लाग्यो । तर, उनको राजनीतिक निर्वासनको समय पनि अनुत्पादक रहेन । कुशल लेखक समेत रहेका उनले दोस्रो विश्वयुद्धको इतिहास लेखेर साहित्यतर्फको नोबल पुरस्कार प्राप्त गरे ।
यहाँ कांग्रेस महाधिवेशनको परिणामसँग चर्चिलको प्रसंग कति मेल खान्छ भन्ने प्रश्न उठ्न सक्छ । पक्कै पनि मेल खान्छ ।
बेलायती जनताले जसरी चर्चिलका बारेमा प्रश्न उठाएर निर्वाचनमार्फत सत्ताच्युत गरे, त्यसरी नै नेपाली कांग्रेसको नेतृत्वका बारेमा चौधौं महाधिवेशनमा प्रश्न उठाइएको हैन र ? पार्टीको संगठनात्मक जीवन अस्तव्यस्त भएको, पार्टीका कार्यकर्ताहरु गुटगत व्यवहारको सिकार भएका, पार्टीभित्र चरम विभेद गरिएको तथा सधैँ संत्रस्त भएर बाँच्नुपर्ने अवस्था भयो भनिएको होइन र ? तर, महाधिवेशनले के नतिजा दियो त ? नेतृत्व बदल्न सक्यो त ? आज पार्टी वृत्तमा यही बहस चलिरहेको छ । मौजुदा नेतृत्व नबदल्ने हो भने लोकतन्त्र नै रहँदैन भन्ने अतिवादी विश्लेषण गर्नेहरुको ठूलो पङ्क्ति नै एक्कासि जयजयकारमा कसरी लाग्यो ? इतिहासले समीक्षा गर्नेछ ।
पङ्क्तिकार पनि नेतृत्व परिवर्तनको पक्षमा थियो तर अतिवादी चिन्तनले ग्रस्त थिएन । चर्का आलोचकहरु प्रकारान्तरले यथास्थितिको पक्षमा रहेछन् भन्ने उनीहरुको पछिल्लो व्यवहार र चुनावी नतिजाले प्रमाणित गरेको छ । अब उनीहरु पार्टीका साथीहरू समक्ष कसरी मुख देखाउलान् ? हेर्न बाँकी नै छ । राजनीति र प्रेममा जे पनि जायज हुन्छ भन्ने भनाइ सधैं लागू नहुन पनि त सक्छ ।
अब अलिकति प्रदेश निर्वाचनको पनि चर्चा गरौँ । राज्यको पुनःसंरचनापछि नेपाली कांग्रेसले पनि प्रदेश संगठनको परिकल्पना गरी वैधानिक प्रबन्ध गर्यो । सोहीबमोजिम अधिवेशन तय भयो । पार्टीको प्रारम्भिक तहदेखि नै हुँदैआएका निर्वाचनहरु स्वच्छ र स्वतन्त्ररूपमा भएका थिएनन् । अपवादलाई छाडेर अधिकांश ठाउँमा पार्टीको सबै तहको नेतृत्वको खुला हस्तक्षेप देखिन्थ्यो ।
अधिवेशनमा खटाइएका निर्वाचन समितिका साथीहरू या त विवश नभए आज्ञापालक देखिन्थे । यस्तो परिदृश्यको सामना गर्नुपर्ला भन्ने कल्पना पनि थिएन ।
यी सबै क्रियाकलाप कांग्रेसको मूल चरित्रभन्दा बिल्कुलै विपरित थिए । तथापि नेतृत्व मूकदर्शक, लाचार, संवेदनहीन या नियोजित देखिन्थ्यो । पार्टीको मूल चरित्र विस्थापित भैसकेकाले नेतृत्वको मुख्य ध्यान पदमा फर्कनुमात्र थियो । आफूले हासिल गर्ने पदसँग मूल्यपद्धतिको सौदावाजी भैसकेको थियो ।
धरातलीय वास्तविकता असह्य र कारुणिक भएता पनि स्थानीय नेतृत्वमा पुग्न चाहने निष्कपट साथीहरू प्रयाशरत थिए । यो क्रम र उपक्रम प्रदेशसम्म पुग्यो । दु:खका साथ भन्नुपर्छ - संगठन र समयको आवश्यकताअनुरुपको नेतृत्व कसैको प्राथमिकतामा थिएन । पङ्क्तिकार पनि नेतृत्वको आकांक्षी थियो । प्रदेश नं १ को संगठनलाई जरैदेखि मजबुत पार्ने ठोस कार्ययोजना र सपनाबाट अभिप्रेरित थियो ।
अपवादका नेता र शुभचिन्तकबाहेक अधिकांशको मनमा गुटबन्दी थियो । तथाकथित गुटले तेर्स्याएको पात्रलाई अनुमोदन गर्ने मनसुवा देखिन्थ्यो । मूल्य स्खलनको घृणास्पद र टिठलाग्दो दृष्टान्त यसभन्दा अर्को के हुन्छ ? कांग्रेसलाई यस तहमा झार्ने स्तरहीन र कुरूप अभ्यास निकै अघिदेखि हुँदै आएकै हो तर त्यसको पटाक्षेप यस निर्वाचनमा भयो ।
कहिलेकाहीँ निर्वाचनमा होमिन चाहने सदस्यलाई यी सबै परिस्थितिमा पनि आफ्नो परीक्षण गर्ने चाहना पलाउँदो रहेछ ।
यसपटक त्यस्तै भयो । एकातिर आफैँले खडा गरेको सरकार र पार्टीका मूल नेता र उनका सहयोगीहरु विपक्षमा छन् अर्कातिर आफूफाई सन्त देखाउन खोज्ने नेता दैनिक हजारौं पर्ने अत्याधुनिक सुविधायुक्त होटेलमा लाखौं खर्च गरेर पङ्क्तिकारविरुद्ध सक्रिय छन् ।
अर्का पार्टी विलय गराएका ‘ठूला’ नेता आफ्ना समर्थकहरूलाई कडा निर्देशन दिएर परिणाम निकाल्न तल्लिन छन् र उनीसँगै पार्टी प्रवेश गरेको अर्को समूह पङ्क्तिकारविरुद्ध सक्रिय छ । यस्तो विषम परिस्थितिको सामना कसैले गर्नु नपरोस् भन्ने लाग्छ ।
तर, यस्तो भाग्य पनि त सबैको हुँदैन । एउटा उदाहरण, प्राप्त सूचनाअनुसार झापाका पूर्व सचिव तारावीर कटुवालले कोभिड भएर मतदानमा भाग लिएनन् । साथै हरि अधिकारीले ससुरा बितेर । तर उनीहरु दुवैको मत अधिवेशन प्रतिनिधि नैं नरहेका सुदय पनेरु र बालकृष्ण रिजालले हाले । यो कस्तो प्रवृत्ति हो ?
आखिर पार्टीको आन्तरिक निर्वाचनलाई यति प्रदूषित बनाउन किन परेकाे हाे ? के यसबाट सही नेतृत्व विकास हुन्छ त ? यो पंक्तिकारजस्ता धेरै साथीहरूले के अपराध गरेका थिए ? यी प्रश्नहरुको जवाफ इतिहासले सदैव मागिरहने छ ।
जीवनमा कहिलेकाहीँ केही विचित्रका रहरहरू पलाउँदा रहेछन् । यस्ता रहर केही मान्छेका लागि ठूला चुनौतीसमेत बन्दा रहेछन् । आफ्नो जिन्दगी सुम्पेर देश, जनता र लोकतन्त्रका लागि समर्पित निरीह कार्यकर्ता माथि को को खनिदा रहेछन् ? थाहा पाउन मन थियो ।
सत्ताको नग्नता, धार्मिक पाखण्ड, अवसरवादको नमुना र मित्रघातको असली दृष्टान्त हेर्ने चाह थियो । यी सबै प्रस्तुति एकैसाथ भयो र चलचित्र झैं छर्लङ्ग देखियो । जीवनमा यति ठूलो आनन्द कहिल्यै प्राप्त भएको थिएन । विन्स्टन चर्चिलको भनाइ फेरि पनि सान्दर्भिक हुन्छ - तिमी माथि एकैसाथ ठूलो आक्रमण हुन्छ भने बुझ तिमीले समाज र देशका लागि केही गरेका रहेछौ ।
पार्टीको आन्तरिक निर्वाचनमा यति ठूलो शक्ति खर्च गर्नेहरू विपक्षीसँगको लडाइँमा कहाँ भेटिएलान् ? हेर्न बाँकी नै छ ।
पार्टीका संरचना विवेकहीन ढंगले कब्जा त गरिएला तर देश अर्कैले कब्जा गर्यो भने त्यसपछि जाने कहाँ होला ? जे भयो साँच्चै सुखद अनुभूतिका साथ दु:खद घटना भएको छ । प्रश्न निर्वाचन परिणामको होइन । नेतृत्वले मागेको भए पङ्क्तिकारले किस्तीमा राखेर सुम्पन्थ्यो । तथापि, खुसी यस मानेमा पनि छ - नकाबधारीहरुको मुखुण्डो उत्रिएको छ । अगाडिको बाटो स्पष्ट छ । मैदानमा भेट हुने नै छ ।