नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनबाट सुुरुभएको केन्द्रीय महाधिवेशनसम्म आइपुग्दा करिब आठ लाख बाउन्न हजारभन्दा बढी क्रियाशील सदस्यहरु सहभागी भए । संघीय संरचनाअनुसार पहिलोपटक नयाँ वडादेखि नै समावेशी रूपमा महाधिवेशनले महिला, दलित, खस आर्य, आदिवासी जनजाति, मधेसी, पिछडिएको क्षेत्र, अपांग र अल्पसंख्यकलाई नेतृत्व तहमा पुर्यायो । वडादेखि नै कतिपय सर्वसम्मत र कतिपय ठाउँमा निर्वाचनमार्फत लोकतान्त्रिक अभ्यासबाट नेतृत्व छनोट भयो ।
अध्ययन र पेसागत व्यस्तताले गर्दा नेविसंघ, लोकतान्त्रिक इन्जिनियर्स नेपाल र नेपाल इन्जिनिएर्स एसोसिएसनको निर्वाचनबाहेक सहभागी हुने मौका मिलेको थिएन । यसपटक वडा तहबाटै आफैँ संलग्न हुँदा आफूले देखेको, भोगेको र अनुभव गरेका केही सकारात्मक पक्ष र कांग्रेसले सुधार गर्नुपर्ने विषयहरु यस आलेखमा व्यक्त गर्ने जमर्को गरेको छु ।
हरेक ४ वर्षमा हुनुपर्ने महाधिवेशन क्रियाशील सदस्यता विवादको बहानामा अनेकपटक मिति सारेपछि संवैधानिक बाध्यता र निर्वाचन आयोगको चेतावनीकारण कारण भदौ २०–२१ गते वडा अघिवेशन तोकियो । इतिहासको अनेक कालखण्डमा विभिन्न क्रान्ति, संघर्ष र आन्दोलनको नेतृत्व गरी देशमा लोकतान्त्रिक प्रणाली स्थापित गरी पटकपटक सत्ताको नेतृत्व गरेको पार्टीको साढे ५ वर्षपछि हुनलागेको कांग्रेसको महाधिवेशनप्रति कार्यकर्तामात्र होइन सर्वसाधारण र अन्य दलका कार्यकर्तासमेत उत्सुक देखिन्थे ।
वडादेखि जिल्ला तहसम्म नेतृत्वका आकांक्षीहरु निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न कोसिस गरिरहेका देखिन्थे । वडादेखि प्रदेशसम्म लिखितरुपमा कसैले पनि आफ्ना एजेन्डाहरु मतदाता समक्ष लिएर गएको देखिएन । न मतदातालाई नै यस विषयमा चासो थियो न त उमेदवारलाई । उमेदवारलाई निर्वाचन जित्न र मतदातालाई नजिकको उमेदवारलाई जिताउनमात्र केन्द्रित देखिन्थे ।
जनतासँग नयाँ मतदातालाई जोड्ने, वडासम्मै गुट उपगुटमा विभक्त कांग्रेसलाई एकत्रित गर्ने, एउटै आस्था, विचार, सिद्धान्त, कार्यक्रम भएका एउटै परिवारका सदस्यजस्तै कार्यकर्ताबीच हार्दिकता कायम गर्ने भन्ने विषयमा कसैको चासो देखिएन । यसैगरी पार्टीको निति र निर्वाचन घोषणापत्रअनुसार कसरी काम गर्ने, विगतमा के कस्ता कमजोरी रहे र आउने दिनमा कसरी थप परिस्कृत भएर जनतामाझ हातेमालो गरेर जाने विषयमा पनि बहस भएन । नेपाली कांग्रेसको कारण नेपालमा भएका राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका विषयमा क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि र कतिपय ठाँउमा स्वयम् उमेदवारहरु नै अनभिज्ञ देखिए । समाजको रुपान्तरण, जनताको सेवा र विकासको लागि निति नियम निर्माण र कार्यन्वयनमा लाग्न राजनीतिमा होमिएका र पार्टीको नेतृत्व चयन गर्ने क्रममा समेत यस्ता सबालमा सामान्य बहस पनि नहुनुले चिन्ताको विषय भएको छ ।
पहिलो पटक मतदानका लागि योग्य भएका करिब १५ प्रतिशत युवालाई नेपाली कांग्रेसलाई मत दिन आकर्षण गर्ने विषयमा पनि छलफल भएन । विसं २०१५ सालमा ३७.२३ प्रतिशत र २०४८ सालमा ३९.५० प्रतिशत मतप्राप्त गरेको पार्टी २०७४ सालमा आइपुग्दा ३२.७४ प्रतिशतमा खुम्चिन पुगेको छ । कांग्रेसको जनमत हरेक घट्ने कारणको विवेचना पनि गरिएन । त्यति हुँदाहुँदै पनि केही आशालाग्दा युवा नेताले कांग्रेसले खेल्नुपर्ने भूमिकाको विषयमा लिखित दस्ताबेज ल्याएको देखियो । त्यस्ता नेताको जितले पक्कै पनि कांग्रेसका सदस्यहरु मात्र हैन सर्वसाधारणमा पनि कांग्रेसप्रति विश्वास जगाएको छ ।
नयाँ कार्यसमिति सामु थुप्रै अवसर र चुनौती छन् । मभन्दा हामी र पार्टीभन्दा जनतालाई प्राथमिकतामा राखेर चिन्तन गर्नु जरूरी छ । पार्टी बलियो बन्यो भनेमात्र नेता बलियो हने हो । जहाँबाट जो निर्वाचन लडे पनि जित्नसक्ने बन्यो भने बल्ल वास्तवमा जित हुन्छ भन्ने भावना जगाउनुपर्छ । सबै तहमा जनताको मन जित्ने, त्याग, समर्पण भएको लोकप्रिय व्यक्तिले उमेदवार बनाउनुपर्छ । पार्टीमा विधि र पद्धति चलाउन ‘एक व्यक्ति एक पद’ को नीति अपनाउनु उचित हुन्छ ।
पार्टीका तर्फबाट सांसद, मन्त्री, प्रधानमन्त्री हुने मापदण्ड र अवधि तोक्नुपर्छ । कोहि २०४८ सालबाट २०७८ सालसम्म सांसद भइरहने र कोही एक पटक पनि सांसद बन्न नपाएर जीवनभर पार्टीको लागि योगदान गरेको व्यक्ति तिरस्कृत हुनुपर्ने हुनुहुँदैन ।
‘धन’ र ‘डन’ले पार्टीमा स्थान पाउने अवस्था हटाउन त्याग, निष्ठा, इमान, योगदान, क्षमता, कार्यकुशलता मापन गर्ने मूल्यांकन प्रणाली हुनुपर्छ । पार्टीेका क्रियाशील र साधारण सदस्यलाई वैचारिक, सांगठनिक प्रशिक्षणको व्यवस्था गर्नुपर्छ । पार्टीका कार्यकर्तालाई गतिशील, ऊर्जाशील, रचनात्मक ,परोपकारी, सामाजिक रुपान्तरणको बाहक, लगनशील, सृजनशिल, अनुशासित, उद्यमशील बनाउन विशेष कार्यक्रम, प्रशिक्षण, सूचना र संदेशमूलक कार्यक्रम अगाढि बढाउनुपर्छ । समाजका बिभिन्न क्षेत्रमा अब्बल, विभिन्न पेसा, व्यवसायमा लागेका व्यक्तिहरुलाई पार्टीमा जोड्ने व्यवस्था गरिनुपर्छ ।
पार्टीले लिने नीतिका हकमा कार्यकर्ताका साथै जनतालाई समयमै सुसूचित गर्नुपर्छ । विधानको अक्षरशः कार्यन्वयन गरी नेताहरुको सजिलोको लागि आफूखुसी व्याख्या गर्ने परिपाटी अन्त्य हुनुपर्छ । नेताहरुको जीवन शैली, आचरण किताबको पानाजस्तै खुला हुनुपर्छ । असल नेता समाजको मार्गदर्शक हो । ऊ आदर्श बन्नुपर्छ । ७७ वटै पार्टी कार्यालयमा डिजिटल, भौतिक सूचना भण्डार र जनताका गुनासा सुन्न सार्वजनिक विषयमा छफफल, बहस र सुनुवाइ गरिनुपर्छ ।
अबको नेपाली कांग्रेसले आउँदो पुस्ताले राजनीतिप्रतिको अहिलेको नकारात्मक धारणा बदल्ने गरी जसरी पनि निर्वाचन जित्ने, सरकारमा जाने र आफ्नो आसेपासेलाई सत्ताको दोहन गर्ने दाउपेचमा लाग्न छाड्नुपर्छ । नत्र, जनताले व्यवस्थामाथि नै प्रश्न गर्नेछन् । यो महाधिवेशन पश्चातको नेतृत्वले आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमार्फत छोटो समयमा विश्वका अन्य विकसित देशजस्तै प्रगति र समृद्धिको बाटोमा हिँड्ने स्पष्ट मार्गचित्र तय गर्नुपर्छ ।
(पूर्वरजिस्ट्रार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान)