निर्वाचनको लगभग ४ वर्ष पुग्दा पनि नामाकरण गर्न नसकेको प्रदेश नम्बर २ मा केही महिनादेखि राजनीतिका नाममा अराजक वितण्डा मच्चाउन थालिएको छ । विडम्बना, यस अराजकताविरुद्ध राजनीतिक दलहरूले भने मुख खोलेका छैनन् ।
जनमत पार्टीका नाममा प्रदेश २ का विभिन्न जिल्लामा गरिएको कथित आन्दोलनका नाममा भएको तोडफोड र आगजनीमा करोडौंको निजी एवं सार्वजनिक सम्पत्तिको क्षति भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
आजदेखि पानी पर्न थालेको छ । यो पानी थामिनेबित्तिकै जाडो ह्वात्तै बढ्ने अनुमान मौसम पूर्वानुमान गरिएको छ । त्यसले तराईमा शीतलहरको कहर मच्चाउन सक्छ । यस्तो अवस्थामा विपन्न समुदायको जनजीवन यसै कष्टकर हुन्छ ।
उता राजनीतिका नाममा यही बेला हड्ताल, चक्काजाम निषेधाज्ञाले दिनहुँ निबेक गरेर खानेहरूको गाँस खोस्ने काम भयो । गरिबको गुजारा सहज बनाउन कसैले चासो दिएको छैन । ट्रकमा आगजनी गर्ने शक्ति र सामर्थ्य विपन्नलाई शीतलहरबाट जोगाउन प्रयोग भएको भए कति उत्तम हुनेथियो रु
कुनै पनि बहानामा जनतालाई त्रसित बनाउन मच्चाइने वितण्डा निन्दनीय हुन्छ । यस्तो अराजकताले परिवर्तन हुँदैन बरू सधैँ नै सर्वसाधारणको जनजीवन थप कष्टकर बनाउँछ । दुर्भाग्य, यस्तै वितण्डालाई राजनीतिक आवरणमा उन्मुक्ति दिइँदा अराजक प्रवृत्ति झन् बढेको हो ।
जनताप्रति जिम्मेवार यस्ता विध्वंशात्मक क्रियाकलाप सरकारले बेलैमा नियन्त्रण गर्नुपर्छ । यद्यपि, त्यसमा उचित बल प्रयोग गर्नुपर्छ र विधिसम्मत उपायमात्र अपाउन पाइन्छ । यसैले नागरिकको जनधनको रक्षा गर्ने दायित्वमा सरकार नचुकोस् । विध्वंशमा संलग्न अपराधीहरूलाई उन्मुक्ति नदिइयोस् ।
जनताप्रति जिम्मेवारीबोध भए कम्तीमा संसद्मा प्रतिनिधित्व भएका राजनीतिदलहरूले प्रदेश २ मा भइरहेका वितण्डाजन्य क्रियाकलापको निन्दा गरून् १ नागरिकतहबाट पनि यसको प्रतिवाद हुनु आवश्यक छ । मध्यतराई त राजनीतिक चेतना भएको क्षेत्र हो । जनकको मिथिलामा राक्षसी वितण्डा मच्चाइँदा पनि किन सबै मौन !