शासकका अपराधका लागि राज्य र शासन पद्धतिमाथि दोष थुपार्नेहरू पाखण्डी हुन् । दोषी व्यक्तिको सट्टा राज्यलाई दोष दिँदा एकातिर अपराधी उम्कन्छ भने अर्कातिर नागरिकका मनमा राज्यप्रति वितृष्णा बढ्दै जान्छ ।
बाँकेका निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको छानबिन र हत्यारामाथि कारबाहीको माग राखेर काठमाडौंमा आन्दोलन भइरहेको छ । आन्दोलनस्थलमा पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले “घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको” भनेको समाचार सार्वजनिक भएको छ ।
झट्ट सुन्दा सामान्य लाग्ने उनको अभिव्यक्तिले जनसाधारणमा भने राज्यप्रति वितृष्णा र विद्रोह जगाउने काम गर्छ । तर, निर्मला र नकुन्नीको हत्यासम्बन्धी मुद्दामा ढिलाइ हुनु वा गरिनुमा राज्य वा शासन प्रणालीको नभएर शासकहरूको दोषी हुन् ।
आफू प्रधानमन्त्री छँदा पुत्र शोकमा विह्वल दम्पतीले न्याय खोज्दा उनीहरूलाई ‘पागल’ भन्दै पदको दुरुपयोग गरेर मानसिक अस्पताल पठाउने भट्टराईले त्यस अमानवीय कार्यका लागि पनि राज्यलाई नै दोषी ठान्न सक्लान् । परन्तु, त्यो अमानवीय अपराध राज्यले गरेको होइन ।
निर्मला र नकुन्नीले न्याय पाउन् नै भनेर आवाज उठाएको हो घटनाको छानबिन र कारबाहीमा आलटाल गर्ने सरकारका अधिकारीहरूप्रति औंला उठाउनुपर्थ्यो । “राज्यको मिलोमतो” भन्नेजस्तो अमूर्त कुरा गर्दा प्रकारान्तरमा अपराधी उम्किनेमात्र हो ।
निर्मला र नकुन्नीको घटनामा सबैभन्दा बढी बदमासी स्थानीय प्रहरीबाट भएको देखिन्छ । त्यसका लागि उनीहरूमाथि कारबाही हुनुपर्छ । नेपाल प्रहरीका प्रमुखलाई दोष दिएको भए पनि अस्वाभाविक हुनेथिएन । अझ भट्टराईले गृहमन्त्रीले अपराधीको संरक्षण गरेको भन्न सक्नुपर्थ्यो ।
अपराधमा संलग्न भएको भन्दै किटानी जाहेरी दिइएको व्यक्ति नेपाली कांग्रेसको स्थानीय नेता भएकाले गृहमन्त्रीले संरक्षण गरेको हुनसक्ने सन्देह स्वतः उब्जन्छ । तर, भट्टराईले त यी कसैको नाम लिने आँट गरेनन् । बरू, राज्यमाथि खनिए ।
सुरक्षाकर्मीको घेरामा सरकारी सवारी साधनमा यात्रा गर्नेहरूले राज्यमाथि दोष थोपारेर आफू ‘पानीमाथि ओभानो’ हुन पाइँदैन । त्यसमाथि भट्टराई त सत्ता साझेदार दलका अध्यक्ष हुन् । सत्ताको सबै लाभ लिएर अपजस जति अरूमाथि थोपर्नु पाखण्ड हो ।
यस्तै पाखण्ड प्रचारले अहिले राज्यप्रति जनविश्वास कम हुँदै गएको छ । राज्यमाथि यसरी नै प्रहार भइरह्यो भने मुलुक अराजकताको भुमरीमा फस्छ । राज्यलाई अराजकता र अस्थिरतातर्फ धकेलेर ‘पञ्माङ्गी तत्त्वु बाहेक अरू कसैलाई लाभ हुँदैन ।