गएकाे मंसिर र पुसमा गरेर केही थान राजनीतिक दलहरूकाे महाधिवेशन भएका छन् । तिनमा सम्बन्धित दलका नेता कार्यकर्ताकाे ‘किस्सा कुर्सीका’ दोहोरिनेबाहेक जनताका दुःख, कष्ट र पीडाका भने सार्थक चर्चा पनि भएनन् ।
काेभिड-१९ विरुद्धकाे खोप भण्डार गर्ने ठाउँ अभाव भइसकेकाे छ । खाेप पाउन बाँकी लाखाै नेपाली छन् । दुर्बलहरूलाई अतिरिक्त मात्रा (बुस्टर) दिनुपर्ने अवस्था छ । यद्यपि, पहुँच हुनेहरूले सुटुक्क लगाउन थालिसकेका छन् ।
काेभिड-१९ कै कारण कतिपय साना व्यवसाय गर्नेहरू ऋणमा डुब्न लागेका छन् । आफ्नाे बचेखुचेकाे सम्पत्ति लगानी गरेर काम थालेकाहरू बैंककाे किस्ता तिर्न चाेके ब्याजमा ऋण लिन विवश भएका छन् ।
बेमाैसमीकाे बाढीले किसानकाे धान पाँजामै उम्रिएकाे थियाे । खेतीका लागि तिनले लिएकाे तिर्नमात्र हाेइन गुजारा चलाउन पनि थप ऋण लिने बाध्यतामा किसानहरू पुगेका छन् ।
रासायनिक मलकाे खरिद विक्रीकाे प्रबन्ध मिलाउन सरकारले देशभर सञ्जाल भएकाे कम्पनी चलाएकाे छ । तर, कहिल्यै मल समयमा आपूर्ति हुनसक्तैन । धानकाे बेलामा मल नपाएका किसानले गहुँमा पनि रासायनिक मल हाल्न पाएनन् ।
तराईमा शीतलहरकाे कहरबाट ज्यान जाने डरले गरिबहरू थुरथुर कामेर बसेका छन् । स्थानीयदेखि संघसम्मका राज्यका पदाधिकारी व्यवस्था मिलाउन साइत हेरेर बसेका छन् ।
अर्थतन्त्र ध्वस्त हुने जाेखिम देखा परेकाे छ । राष्ट्र बैंक र अर्थमन्त्रालयबीच ‘शीतयुद्ध’को वातावरण छ । निजी क्षेत्र आत्तिएकाे र अलमलिएकाे देखिन्छ ।
महँगी बढेकाे बढ्यै छ । नेपालका निम्न र निम्नमध्यम वर्गका जनताले यी सबैकाे मार सहनु परेकाे छ । जनजीवन दिनहुँ कष्टकर हुँदैछ । निकट भविष्यमा सुधार हुने सङ्केत पनि देखिएकाे छैन ।
दुर्भाग्य, यिनै जनताकाे प्रतिनिधित्व गरेकाे दाबी गर्ने राजनीतिक दलका नेताहरू भने जनताका कष्टमा रमाइरहेका देखिन्छन् । जनताप्रतिकाे दायित्वबाेध कतै देखिँदैन ।
काेही आत्ममुग्धता छन् त काेही निन्दा पुराणकाे रचनामा व्यस्त । नेताका भनाइ र गराइ र जीवनशैली हेर्दा त गिराेह अझ माफियाजस्ता लाग्छन् यी राजनीतिक दलहरू !
राजनीति केका लागि ? शीर्ष भनिएका माफिया सरदारकाे छवि देखिने राजनीतिक दलका नेताहरूलाई यस्ताे प्रश्नले छुँदैन । राज्यकाे दाेहन गर्ने ठाउँमा नपुगेका सिद्धान्त, आदर्श र निष्ठाका नाममा राजनीति गर्ने कार्यकर्ता पनि माफियाकै मतियार भइसकेका हुन्?
एकपटक विवेक बन्धक नराखी आफैँलाई साेधून् ! अन्तरात्माकाे आवाज सुनून् !