संसद्को तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आजदेखि सुरु हुँदैछ । ‘राष्ट्रिय सम्मेलन’को तयारी गर्दैआएको माओवादी केन्द्रले त्यसैलाई ‘महाधिवेशन’मा परिणत गर्न लागेको हो ।
हालै नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेसलगायतका दलहरूको महाधिवेशन भएको छ । मूलतः पार्टीलाई वैधानिकता दिने प्रयोजनका लागि मात्र दलहरूले महाधिवेशन गरेको देखिएको छ ।
एमाले र कांग्रेसमा नेतृत्व चयन प्रक्रिया र परिणाम लगभगउस्तै देखिए पनि लोकतान्त्रिक अभ्यासका सन्दर्भमा तात्त्विक अन्तर रह्यो । माओवादी केन्द्रको महाधिवेशन कस्तो होला ?
दशक लामो हिंसात्मक विद्रोह गरेर शान्ति प्रक्रियामार्फत मूलधारमा आएको माओवादी केन्द्रमा ‘क्रान्ति’ शब्दप्रति बढी नै मोह हुनु अस्वाभाविक होइन । तर, क्रान्तिकारी देखिन वा ठहरिन ‘बेला न कुबेला स् भेनेजुयला’ गरिरहन भने पर्दैन ।
माओवादी केन्द्रका नेताहरूले आफ्नो महाधिवेशन नेतृत्व चुन्ने औपचारिकतामा सीमित नहुने दाबी गर्दै आएका छन् । वैचारिक बहस हुने हो भने माओवादीले अब कुन बाटो लिने हो भन्ने पनि महाधिवेशनबाट स्पष्ट भए बेस हुनेछ । कम्तीमा माओवादी केन्द्र यसमा अरू दलभन्दा बेग्लै देखियोस् !
माओवादी केन्द्र संसदीय राजनीतिबाटै बाहिर निस्कनुपर्छ भन्नेहरूदेखि पूर्णतः अरू दलहरूजस्तै ‘बजारमुखी’ हुनुपर्छ भन्नेसम्मको अपेक्षा पार्टीभित्र र बाहिर पनि देखिएको छ । यस्तै माओवादी नेताहरू विशेषगरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विलासी जीवन शैली र विवादास्पद सङ्गतको पनि चर्को आलोचना नेपाली समाजमा हुनेगरेको छ ।
आर्थिक विचलन त माओवादीका नेता कार्यकर्तामा अपेक्षाकृत बढी देखिएको छ । केही ठूला आर्थिक घोटालामा त शीर्ष नेतृत्वमाथि नै माओवादी आन्दोलनकै सहकर्मीहरूबाटै आरोप लगाइएको छ । महाधिवेशनमा माओवादी केन्द्रका नेता कार्यकर्ताले आत्मनिरीक्षण गर्नु उचित हुनेछ ।
महाधिवेशनमा नेतृत्व चयनलगायतका प्रक्रियामा लोकतान्त्रिक प्रक्रिया अपनाएको देखिएमा माओवादीको पनि रूपान्तरण सुरु भएको ठानिनेछ । यसैले यसका नेताहरूलाई आफ्नो धरातल चिन्ने र त्यसमा उभिने साहस र शक्ति प्राप्त होस् । महाधिवेशनको सफलताको शुभकामना !