समस्या थाहा छ र समाधान पनि असम्भव छैन । त्यही समस्याका कारण बर्सेनी सयौंको ज्यान जाने गर्छ । तैपनि, समस्या समाधानका लागि जिम्मेवार निकायका व्यक्ति उदासीन रहन्छन् ।
यस्ता गैरजिम्मेवार पदाधिकारी अपराधी ठहर गरेर सजाय दिने कानुनी प्रावधान नभए पनि नैतिक दृष्टिमा त तिनीहरू हत्यारा नै हुन् । यसैले नैतिक दृष्टिबाट सम्बन्धित अधिकारीहरू तराईमा बर्सेनी शीतलहरबाट हुने मृत्युका लागि दोषी देखिन्छन् ।
यस वर्षको हिउँदमा पनि तराईमा शीतलहरबाट विपन्नहरूको ज्यान जानसक्छ । प्रदेश २ मा करिब १० लाख जना शीतलहरका कारण ज्यान जाने जोखिममा रहेको आकलन गरिएको छ । तर, उनीहरूलाई जोगाउने खासै तयारी भने स्थानीय तह वा प्रदेश सरकारले गरेका छैनन् ।
प्रदेश २ मा पनि गठबन्धनको संयुक्त सरकार छ । विपक्षमा पनि राष्ट्रिय हैसियतका दलहरू छन् । तर, शीतलहरले गरिबको जीवनमा ल्याउन सक्ने कहरप्रति कसैले पनि आवाज उठाएको अहिलेसम्म गरेका सार्वजनिक भएको छैन ।
शीतलहरको जोखिमका बारेका मुख नखोल्नुको अर्थ त्यस क्षेत्रका राजनीतिक दलका नेताहरू निस्क्रिय रहेका छन् भन्ने होइन । उनीहरूको ध्यान त संविधान संशोधनजस्ता विषयमा मात्र जान्छ । लाखौं ‘मधेसी’ नागरिकताबाट वञ्चित गरिएको फलाक्दैमा गरिबको ज्यान जाने विषयमा ध्यान दिने भ्याउँदैनन् ।
राजनीति यस्तै जनताको जीवनमा सरोकार नराख्ने र ठूला कुरा गरेर सत्ताको स्वादमा गर्ने व्यवसायको नाम भएको छ । जनताको हितका लागि हुनु गरिनुपर्ने राजनीतिलाई यस्तो जनविरोधी बनाउने जमातलाई ढिलोचाँडो जनताले पक्कै धिक्कार्नेछन् ।
विपन्न नागरिकले शीतलहरको कहरबाट सधैँका लागि मुक्त हुन मृत्यु नै पर्खनुपर्ने अवस्था नियति बन्न दिनु राज्यकै निम्ति ग्लानिको विषय हो । यसैले तराईका विपन्नतम नागरिकको यो नियति बदल्न राजनीतिकर्मीले प्राथमिकता दिनुपर्छ ।
शीतलहरबाट जोगिन बस्ने, खाने र न्याना लुगाको मात्रै प्रबन्ध मिलाउन सके पुग्छ । नागरिकलाई मानवोचित सुविधा भएको घर बनाएर राज्यले उपलब्ध गराउँदा त्यसको प्रतिफल अरू लगानीका तुलनामा कम हुँदैन ।
शारीरिक श्रम गर्न सक्नेलाई काम दिए खानेकुराको जोहो गर्न पनि उति कठिन हुँदैन । न्याना लुगा किनेर लगाउन नसक्नेहरूका लागि सरकारले आह्वान गरे लुगाफाटाको व्यवस्था सामाजिक संस्थाहरूले गर्नसक्छन् ।
दीर्घकालीन समाधानका लागि व्यापकरूपमा आवास योजना सुरु गर्ने तर तत्कालका लागि विपन्नतम परिवारको सूची तयार गरी तत्काल न्याना लुगा, पोसिला खानेकुरा र शीत छल्ने ओतको प्रबन्ध मिलाइयोस् । नत्र, शीतलहरको कहरबाट ज्यान गुमाउनेहरूको हत्याको कलङ्क लाग्नेछ ।