काठमाडौं । चोटबाट ग्रसित महिला राष्ट्रिय क्रिकेट खेलाडी कविता गौतमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले आइतबार ८० हाजर रुपैयाँ नगद सहयोग गरेको छ ।
‘कविताको दुखाई, समर्थकको मल्हम’ अभियानबाट संकलित रुपैयाँ आज समाजका अध्यक्ष नारायण पराजुलीले कवितालाई हस्तान्तरण गरेका हुन् । कविता अहिले चोटबाट मुक्त भै काठमाडौंमै फिट हुने प्रयासमा छिन् ।
कविताले सरोकार निकायले गर्नुपर्ने सहयोग आमसमर्थकबाट भएको भन्दै छिटो मैदान फर्कने कोसिस गरिरहेको बताइन् ।
घुँडामा चोट लागेको कविता यतिबेला उपचार र फिजियो थेरापी गराइरहेकी छिन् । कजितालाई पुरानै अवस्थामा खेल्न अझै केही महिना लाग्ने जनाइएको छ । क्रिकेटर सुबास खकुरेलको पहलमा कविताको ग्वार्कोस्थित अर्थोप्लास्टिक रिह्याब सेन्टरमा दैनिक फिजियोथेरापी गर्ने ब्यबस्था भएको कविताले बताइन् ।