उपनिवेशबाट मुक्त भएका धेरै मुलुकका शासकहरू स्वयंमा भने उपनिवेशवादी प्रवृत्ति देखिएको छ । दक्षिण एसियाका दुई ठूला मुलुक भारत र पाकिस्तानका शासकमा पनि बेलायतको अधीनताबाट मुक्त भएपछि औपनिवेशिक मानसिकता प्रकट हुने गरेकै हो ।
शासकहरूको यही मानसिकताले पाकिस्तानको विभाजन भयो । भारतीय शासकहरूले ठूल्याइँ देखाउँदा देखाउँदै छिमेकी सबैको सद्भाव गुमाएका छन् । भारतीय संस्कृति, भाषा र जीवनशैली मन पराउने छिमेकी मुलुकका जनतामा समेत भारतको सरकारप्रति भने सन्देह एवं वितृष्णा हुन्छ ।
नेपालका हकमा पनि भारतसँगको सम्बन्धमा यही प्रवृत्ति निर्णायक रहिआएको छ । नेपालीहरूले भारतको सीमा रक्षामा रगत बगाएका छन् । दुवै मुलुकका नागरिक एक अर्काको मुलुकमा अनौपचारिक क्षेत्रमा वर्षौँदेखि विभिन्न पेसामा कार्यरत छन् । तैपनि, भारतको संस्थापनप्रति भने सकारात्मक छैनन् ।
यसको सबैभन्दा मुख्य कारण भारतीय शासकहरूको हेपाहा मनोवृत्ति नै हो । शासकहरूका साथै मूलधारका सञ्चार माध्यमका कार्यरत सञ्चारकर्मीहरूले पनि नेपाललाई होच्याउने र हेप्ने गर्दैआएका छन् । भारतीय राजदूतहरूको भावभङ्गिमामा समेत धेरैपटक हेपाहापन देखापरेको छ ।
यही कारणले नेपाली समाजमा बेलाबखत भारत विरोधी अभियानै चल्छ । नेपाल र भारत दुवैको अहित भए पनि वर्षौंसम्म यस्तै प्रवृत्ति कायम छ । यद्यपि, नेपाल- भारतबीचको सम्बन्ध र सहयोग ‘विलक्षण’ रहेकोमा भने कसैको विमति हुँदैन ।
यस्तो अवस्थामा भारतको देहरादुन सहरमा बोल्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले ‘ भारत झुक्न बरू तयार हुन्छ नेपालसँगको सम्बन्ध बिग्रन दिनेछैन’ भनेको छन् । समाचार प्रकाशित भएको छ । रक्षामन्त्री सिंहको अभिव्यक्तिको भित्री आशय बेग्लै छैन भने दुवै देशको सम्बन्धलाई सद्भाव र सम्मानको नयाँ आयाम दिन भारत पनि तत्पर भएको सङ्केत मान्न सकिन्छ ।
हुनत, नेपाल(भारत सम्बन्ध बिगार्न ‘तेस्रो पक्ष’ उद्यत भएको दाबी पनि मन्त्री सिंहले गरेका छन् । तर, दुवै देशका र विशेषगरी भारतीय अधिकारीहरूले बिगार्न खोज्दा पनि बिगार्न नसकेको नेपाल-भारत सम्बन्धलाई अर्को कुनै पक्षले बिगार्ने डर मान्नुपर्ने देखिँदैन ।
रक्षामन्त्री सिंहको कथनले ‘गुजराल डक्ट्रिन’ भनिएको तत्कालीन विदेशमन्त्री इन्दरकुमार गुजरालको ‘ननरेसिप्रोसिटी ’ को सम्झना हुन्छ । छिमेकीहरूसँग भारतजस्तो ठूलो मुलुकले लेनदेनलाई सम्बन्धको सर्त बनाउनु हुँदैन भन्ने उनको धारणा लागू भने कहिल्यै भएन ।
पछिल्लो समय लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्र दुई देशको सम्बन्ध कटु बनाउने कारण बनेको छ । रक्षामन्त्रीका हैसियतले राजनाथ सिंहले नै नेपालले आफ्नो मान्दैआएको भूभागमा सडक उद्घाटन गरेपछि सम्बन्ध थप चिसो बनेको थियो ।
यसैले अहिले भारत सरकारका वरिष्ठतम मन्त्रीको कथनमा विश्वास गरेर नेपालले पनि भारतप्रति सकारात्मक सङ्केत दिनु उचित हुनेछ । नेपालीहरू भारतीयलाई झुकाउन चाहँदैनन् । परस्परमा समान सद्भाव नै नेपालको मन जित्न पुग्छ भन्ने सन्देश नेपालले कूटनीतिक माध्यमबाट पठाएर सिंहलाई उत्तर दिने पहल गरियोस् ।