site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवालाई गगन–विश्वप्रकाशको सन्देश : एकलौटी गर्ने दिन गए !
Sarbottam CementSarbottam Cement

काठमाडौं । “शेरबहादुरजीलाई बधाई, यो कार्यकाल चारवर्षे हो । चारवर्षे कार्यकालको सफलताको कामना छ । यो आन्तरिक लडाइँ हो । स्वस्थ प्रतिस्पर्धाबाट तपाईँ विजयी हुनुभएको हो । जसरी पहिलो कार्यकाल साढे पाँचवर्ष पार्टी बेथितिको हिसाबले चल्यो त्यसरी चल्न थाल्यो भने सशक्तरुपमा प्रस्तुत हुन्छौँ । तर, भागबन्डा खोज्दैनौँ”, सभापतिमा देउवासँग पराजित डा. शेखर कोइरालाले बुधबार महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै भनेका थिए ।

सम्बोधनमा लामो समय खर्च नगर्ने, आवश्यक विषय सटीकरुपमा राख्ने नेताको पहिचान बनाएका छन् डा. शेखरले ।

डा. शेखरमा पार्टी परिवर्तनको हुटहुटि मरेको रहेनछ भन्ने सम्बोधनमा सन्देश त दिए नै त्यसभन्दा महत्वपूर्ण सन्देश थियो – उनी १५ औं महाधिवेशनका लागि आजकै दिनदेखि तयारीमा लागिसके । उनले निर्वाचनमा भएको पराजयलाई सहर्ष स्वीकार गरेर सबैको मन जित्नेगरी आफू अघि बढ्ने प्रतिबद्धता जनाए । उनले आफूलाई सहयोग नगर्नेलाई पनि पछुतो हुनेगरी यो समयमा पार्टीका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

“निर्वाचन भएपछि कोही जित्छ कोही हार्छ । मैले यसलाई स्वाभाविकरुपमा लिएको छु । कुनै कुण्ठा पनि छैन । कसले के गर्‍यो, किन गर्‍यो भन्ने चिन्ता पनि छैन,” उनले भने, “अब गाउँघरमा बस्दा ढुक्कले म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्नुहुनेछ । म निरन्तर तपाईंहरुको घर दैलोमा पुग्नेछु । आगामी महाधिवेशनमा सफलता प्राप्त गर्नेछौँ । भागबन्डा र गुटबन्दीमा लाग्दैनौ । हामीले हाम्रो काम गर्दै जानेछौँ । उहाँहरुलाई राम्रो काम गरेर सोच्न बाध्य बनाउछौँ ।” 

डा. शेखरको छोटो सम्बोधनले लामो संकेत गरेको छ । उनले १५औं महाधिवेशनमा अहिलेको क्षतिपूर्ति गर्ने, देउवालाई गलत निर्णय गर्न नदिने, पार्टीलाई विधिअनुसार नचलाए खबरदारी गर्ने स्पष्ट पारे ।  भागबन्डा खोज्दिन भनेर त उनले पटकपटक भनेका छन् । 

Global Ime bank

शेखरले भनेझैँ कांग्रेस वास्तवमा साढे पाँचवर्ष विधिमा चल्न सकेन । समयमा विभाग गठन हुन सकेनन् । भ्रातृ संस्थाको महाधिवेशन हुन सकेन । हरेक विषय भागबन्डामा गएर टुंगियो, नियुक्ति होस् या मन्त्री बनाउने कुरा । टिकट वितरण होस् कि भ्रातृ संगठनका पद सबै बाँडिचुँडी गरियो । 

जिम्मेवारी नपाउनुपर्नेले पनि पाए, पाउने पनि समयमा हस्तान्तरण गर्न तयार भएन । विधि थिति भनेको बोल्ने विषयमात्रै भयो व्यवहारमा हुन सकेन । 

यसको खास कमजोरी भाग खोज्ने रामचन्द्र पौडेल समूह र भाग दिने संस्थापन पक्ष दुवैमा देखिँदा डा. कोइरालाले भनेझैँ साढे पाँचवर्ष पार्टी विधिमा चलेन ।

महत्वपूर्ण विषयमा पार्टीभित्र छलफल भएन, प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदा होस् या अन्य दलसँग गठबन्धन गर्दा पार्टीमा व्यापक छलफलसमेत भएन ।

दूरगामी असर गर्ने निर्णयका विषयमा पार्टीभित्र आन्तरिक बहस त हुँदै भएनन् । 

त्यसको परिणाम गत चुनावमा देखियो । चुनावपछि हारको समीक्षा भएन हारको अपजस कसले लिने, कसरी र कति लिने ? भन्ने विषयमा विवाद भइरह्यो ।

हरेकजसो विवाद भागबन्डा र नियुक्तिमा गएर टुंगियो ।

पार्टी कमजोर हुनुको खास कारण पार्टीभित्रको गुटबन्दी, सभापति नै गुटको नाइके र भागबन्डा भएको निष्कर्ष निकालेर नेतृत्व परिवर्तनको अभियानमा लामै समयदेखि लागेको समूह थियो शेखर कोइरालाको समूह । त्यसका एक अभियन्ता थिए गगन थापा । जो १४औँ महाधिवेशनको ‘म्यान अफ द म्याच’का रुपमा देखा परे ।

“हामी सभापतिका उमेदवार बदल्न तयार भएका थियौँ, हाम्रा अडान छाड्न तयार भएका हौँ,” थापाले बुधबार भनेका थिए – “नेतृत्व बदल्ने नेतृत्व बदल्ने भनेर नेताहरुले भनिरहनुभयो । एउटा प्रश्न छ – हामीले उत्तर मागिरहन्छौँ– मध्यरातसम्म नेतृत्व परिवर्तन नभए देश डुब्छ भन्नेहरुले बिहान यो नेतृत्व भएन भने देश डुब्छ भनेर कसरी भन्न सक्नुभयो ? ६ घन्टाभित्र के भयो ? कसरी बदलियो ? बीपी, गणेशमान र महेन्द्रनारायण हामी सबैका अभिभावक हुन्, नेताका छोरा एकठाउँमा उभिँदा शेखर कोइरालालाई सोध्नुभयो ?”

हुन पनि हो बीपी, गणेशमान र महेन्द्रनारायण निधिका छोराहरुले जति परिवर्तनको कुरा गरे त्यति नै परिवर्तन स्वीकार गर्न सकेनन् ।

शेरबहादुर देउवाको सशक्त विरोधी देखिएका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइरालालगायतले अन्तिममा देउवालाई नै साथ दिए । पौडेल र शशांक कोइरालाले नदेखिई सघाए भने बाँकीले पत्रकार सम्मेलन नै गरेर देउवाको विकल्प कोही नभएको बताए ।

लामो समयदेखि आफैँले उठाउँदै आएको नेतृत्व परिवर्तनको मुद्दालाई उनीहरुले ‘तिलाञ्जली’ दिए । 

सभापति देउवा साढे पाँच वर्ष कांग्रेसको सभापति भइसकेका व्यक्ति हुन् । पाँचपटक प्रधानमन्त्री भइसकेका,  अहिले पनि उनै बहालवाला प्रधानमन्त्री हुन् ।

उनै देउवालाई यसपटकको महाधिवेशन निकै चुनौतीपूर्ण बन्यो । कोटमाथि ओभरकोट भिरेर रातभर लाइनमा मत माग्दै बस्नुपर्‍यो । यसलाई गगन थापाले दुई तरिकाले अर्थ्याएका छन् । पहिलो हो– दोस्रो चरणको निर्वाचनमा पराजित भइन्छ कि भन्ने ठूलो डर देउवामा देखिन्थ्यो । दोस्रो हो– यो कांग्रेसको महाधिवेशन हो, एमालेकोजस्तो ओलीवेशन होइन अर्थात् यहाँ पूर्वप्रधानमन्त्री त के बहालवाला प्रधानमन्त्रीले पनि गोजीबाट नाम झिकेर पढ्ने हिम्मत गर्दैनन् ।

पार्टीभित्रको प्रतिपक्षमा करिब १५ वर्ष, पार्टीको सत्ता साढे पाँचवर्ष, पाँचपटक प्रधानमन्त्री भएका देउवासँग आफ्नो टिममा आउनेलाई दिन सक्ने सबै थियो ।

तर, देउवाले यसपटक पनि धेरैलाई ‘उधारो’ मै पद प्रदान गरेका छन् । विश्लेषकहरुका अनुसार कोहीलाई राष्ट्रपति, कोहीलाई प्रधानमन्त्री, कोहीलाई मन्त्री, कोहीलाई विभागीय जिम्मेवारीलगायतका पद उनले अहिले उधारोमा दिए तर नगदमै मत लिए । यो देउवाको क्षमता हो, राजनीतिकरुपमा हेर्दा उनी सफल पनि भए ।

अरु त अरु राजनीतिकरुपमा ‘त्याग’ गरेको बताएका पौडेललाई देउवाले ‘राष्ट्रका लागि तपाईंको खाँचो छ’ भनेर अल्झाएर आशा देखाएर राख्न सफल भएका छन् । 

तर, जसले देउवाबाट काम चल्दैन भन्दै विकल्प दिन अघि सरेका थिए केही घण्टाको अन्तरालमै उनीहरु एकाएक देउवाबिना पार्टी र देश चल्दैन भन्ने अवस्थामा कसरी पुगे ? प्रश्न यहाँनेर छ । 

पौडेल, सिंह, निधि, शशांक, कृष्ण सिटौललगायतले देउवालाई सहयोग गरेर उनलाई त जिताए तर आफूहरु पटक पटक हारे ।

किनभने अब उनीहरु फेरि कांग्रेसको नेतृत्व दाबी गर्ने अवस्थामा आउन निकै कठिन देखिन्छ चौधौं महाधिवेशनमा युवा नेताको जबर्जस्त हस्तक्षेपले । 

तेह्रौं र चौधौं महाधिवेशनको बीचमा देउवाको सबैभन्दा बढी आलोचक सिटौलासहितका नेता एकाएक उनकै पक्षमा देखिनु सामान्य व्यक्तिका दृष्टिमा पनि शंकास्पद नै देखिन्छ । 

युवाको जबर्जस्त हस्तक्षेपले कांग्रेसको एक ‘लेयर’ अब बिदा हुने अवस्थामा पुगेका छन् । गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङको विजयले अब यी नेतालाई त्यस्तो अवस्थामा पुर्‍याएको देखिन्छ ।

गगन, विश्वप्रकाश उनै नेता हुन् जसले देउवाकै टिममा रहेर पनि पार्टी परिवर्तनमा हस्तक्षेप गर्न चाहेका थिए । विश्वप्रकाशलाई केही समय अवसर दिइए पनि गगनलाई भने दिइएन ।

गगन भन्छन् – केन्द्रीय समितिको बैठकअघि सभापतिको कोठामा गुटका बैठक बस्थे, त्यहाँ हामीलाई प्रवेशसम्म पनि दिइँदैनथ्यो । हामी माथि पर्खेको पर्ख्यै हुन्थ्यौँ, पछि निर्णय गराउन माथि आइन्थ्यो, अब त्यो गुट भत्काएरै छाड्छौँ ।”

विश्वप्रकाश शर्मा पनि अन्तिमसम्म देउवाकै टिममा रहन चाहन्थे । सामाजिक सञ्जाल र मतदाताले अत्यधिक रुचाएका शर्मालाई देउवाको ‘कोर’ टिमले थापाले भनेजस्तै ‘गुटको कोठे बैठक’मा प्रवेशसमेत दिएन ।

अमिलो मन लिएर शेखर कोइराला टिममा सहकार्य गर्न खोजेका शर्माले अन्तिममा त्यहाँ पनि महामन्त्रीको उमेदवार बन्न पाएनन् । उमेदवारी दर्ता गरिसकेपछि प्रकाशमान सिंहको टिममा बाध्यतावश जोडिन पुगे ।

तर, मतदाताको मनमा बसेका शर्मा जुनसुकै टिममा बसेपनि आखिर रोजाइमा परिहाले ।

धनराज गुरुङ उनै नेता हुन् जसले मतदानको अघिल्लो दिनमा बाह्रखरीसँगको कुराकानीमा आफूहरु आए ठूला भ्रष्टाचारका फाइल खोल्न पार्टीले दबाब दिनुपर्ने निर्णय गराउने, पार्टीलाई विधिमा चलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मिति सार्दै, घर्क्याउँदै चार वर्षमा गनुपर्ने महाधिवेशन साढे पाँचवर्षमा, त्यो पनि निर्वाचन आयोगले महाधिवेशन नभए राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन नदिने चेतावनीपछि जसरी पनि गर्ने तयारीमा पुगेका देउवाका अबका दिन भने त्यति सहज पक्कै हुने छैनन् ।

सरकारले गर्ने ठूला निर्णय, पार्टीले लिने निर्णय, गठबन्धन, टिकट वितरणलगायतका काममा अब देउवाले एकलौटी गर्न सक्ने अवस्था रहनेछैन । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC