काठमाडौं । काठमाडौंमा कांग्रेसको उत्सव चलिरहेको छ । शुक्रबार उद्घाटन भएको पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिवार मनोनयन दर्ताको समय थियो ।
मनोनयन दर्ता गर्ने बेलासम्म विगतका कैयौं गुटहरु भत्किए, केही नयाँ बने, केही विह्वल । मातृकाप्रसाद कोइराला र बीपी कोइरालापछि पहिलोपल्ट कोइराला परिवार फरक फरक टिममा रहे । यद्यपि, २०१२ सालमा पनि बीपी र गिरिजाप्रसाद कोइरालाले फरकफरक उमेदवारलाई समर्थन भने गरेका थिए ।
सभापतिमा ६ जनाको उमेदवारी दर्ता भए पनि विशेषगरी तीन समूहको चर्चा बढी देखिन्छ ।
शेरबहादुर देउवा, डा. शेखर कोइराला र प्रकाशमान सिंह । यी तीनको दौडमा केही पछि देखिन्छन् विमलेन्द्र निधि । तर, धेरैपछि भने नभएको उनी निकट नेताहरुको दाबी छ ।
सबैभन्दा पहिले देउवाबाटै सुरु गरौँ ।
सभापति शेरबहादुर देउवा नेपाली राजनीतिका चतुर खेलाडी हुन् । उनले ‘आफ्नो लागि आफ्नालाई’ धोका दिन कत्ति हिचकिचाउँदैनन् भन्ने उदाहरण शनिवार पनि प्रस्तुत भयो ।
लामो समयसम्म सँगै रहेका आफ्नो टिमका नेताहरुलाई ‘पाखा लगाएर’ नयाँ टिम निर्माण गरे । तर, अन्तिममा आफ्नो समूहमा रहेका नेताहरुको ‘चित्त दुखाए पनि गुट परिवर्तन’ हुनबाट भने रोके । भलै, त्यसको असर मतदानमा देखिन पनि सक्छ ।
ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, रमेश लेखक, एनपी सावद, मीन विश्वकर्मालगायतका देउवाका सहयात्रीले चित्त दुखाएका छन् ।
देउवाले अन्तिम समयमा आफूलाई ‘तेस्रो धार’ को दाबी गर्दै आएका कृष्णप्रसाद सिटौलालाई ‘आवश्यकताभन्दा बढी महत्त्व’ दिएको उनका साथीहरुको गुनासो छ ।
यसमा व्यक्तिगतरुपमा देउवालाई फाइदा होला, सिटौला गुटले केही पाउला तर देउवाले आफ्नै टिमभित्र केही विश्वास भने गुमाएका छन् ।
हुन त देउवाले केहीलाई यसअघि नै मन्त्री बनाएर त्यो संकेत देखाइसकेका थिए । पदाधिकारीमा दाबी गरिरहेका कार्की, खाणलगायतका नेतालाई उनले मन्त्री बनाएर पदाधिकारीमा दाबी नगर्न संकेत गरेका रहेछन् ।
तर, रमेश लेखक, एनपी सावदलगायतका नेताहरुलाई भने देउवाले ‘दूधमा डुबेको झिँगा’ बनाइदिए ।
“भारी असहमतिबीच केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गरेँ,” सावदले उमेदवारी दर्तापछि भने, “पदका लागि धोका दियो भन्ने आरोप लाग्ने भयो । मैले छाड्दा सुदूरपश्चिम उथलपुथल हुने भयो । ‘अनइथिकल‘ भएका छन् । ‘अनइथिकल’ सहकार्य भएका छन् । यसमा भारी असहमति छ । जसजति शेरबहादुर देउवाले लिनुहोस्, अपजस मैले लिन्छु ।”
उनलाई सार्वजनिकरुपमा नै प्रकाशमान सिंहले उपसभापतिको ‘अफर’ गर्दा स्वीकार गर्न तयार भएनन् । ‘चित्त दुखाए पनि देउवालाई छाड्न नसक्ने’ जनाउ उनले दिए ।
देउवाले राप्रपाबाट विभाजित भएर आएको समूहलाई पनि यसपल्ट न्याय गर्न सकेनन् । उनीहरु पनि आफ्नै तरिकाले उमेदवारी दिन बाध्य भए ।
‘विवादित’ र ‘छानबिनको दायरामा रहेका’ विजयकुमार गच्छदारलाई भने उनले उपसभापतिमा अघि सारेका छन् ।
देउवालाई विमलेन्द्र निधिको ठूलो साथ रहेको हुँदा मधेसका मतदाता लोभ्याउन पनि उनले गच्छदारलाई छाड्न सकेनन् ।
उमेदवार नभएर पनि शनिवार सर्वाधिक चर्चामा रहे – रामचन्द्र पौडेल ।
देउवाका समकक्षी, देउवालाई टक्कर दिन सक्ने नेताका रुपमा चिनिएका पौडेल पनि चित्त दुखाएरै बसे । पार्टीभित्रको राजनीतिमा सक्रियता नदेखाउने संकेत गरेका उनले राष्ट्रिय राजनीतिमा भने भूमिका कायमै रहेको संकेत पनि गरेका छन् ।
भलै, उनलाई आगामी ‘प्रधानमन्त्री’को पद उधारोमा दिइएको हुन सक्छ । त्यो कुरा अहिलेसम्म सार्वजनिक भइसकेको छैन ।
पौडेलले शनिवार एक विज्ञप्ति जारी गर्दै भनेका छन् – “मैले कांग्रेसलाई जुनरुपमा बुझ्दै आएको थिएँ, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ । पार्टी सत्ताको भर्याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरु बीपी, गणेशमान र किसुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ । कांग्रेस आज केबल सत्ताको भर्याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ । त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ ।”
उनले आफू अहिलेको किचलोबाट बाहिरिएको पनि बताएका छन् ।
“चौधौं महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु । प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझदारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नपर्ने अवस्थामा पुगेँ । तथापि एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडी नै रहनेछु । लोकतन्त्रको आस्था मनभरी भरिएका कांग्रेसजन र विशेषगरी नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउनेछन् भन्ने मेरो अपेक्षा भने मेटिएको छैन । राष्ट्रिय राजनीतिमा मेरो भूमिका रही रहनेछ । प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरुले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु ।”
सभापतिको दौडमा रहेका अर्का चर्चित अनुहार हुन् शेखर कोइराला । देउवाको विकल्पमा मतदाताले उनलाई ‘देखेका’ थिए तर गुटभित्रको व्यवस्थापन नमिल्दा उनलाई प्रकाशमान सिंहले छाड्न चाहेनन् ।
अपेक्षाकृत तरुण अनुहारहरुलाई पदाधिकारी उमेदवार बनाएर कोइरालाले टिम निर्माण गरेका छन् । यद्यपि, कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मालाई राख्न केही नेताले अन्तिमसम्म गरेको प्रयास भने सफल हुन सकेन ।
कोइरालाले नयाँ अनुहार लिएर हिँडेर कांग्रेसभित्र नवीन ऊर्जा दिने संकेत भने गरेका छन् । तर, ‘बूढाहरुको पार्टी’ कांग्रेसले त्यसलाई सहजै भने स्वीकार गर्ला कि नगर्ला दुई दिन पर्खनुपर्ने हुन्छ ।
किनभने अधिकांश मतदाता उनका पदाधिकारीभन्दा पाको उमेरका छन् । देउवाको विकल्प खोजेका मतदाताका लागि कोइरालाको टिम बलियो टिम हो तर ‘पाका नेता पाखा लागेको’ र गुट छिन्नभिन्न भएको चुनौतीभने उनले अवश्य बेहोर्नुपर्ने देखिन्छ ।
कोइरालाले युवामात्रै नभएर समावेशी र भेगीय पक्षलाई पनि समेटेका छन् । तेह्रौं महाधिवेशनपछि सबैभन्दा बढी जिल्लामा पुगेर देउवाविरुद्ध माहोल बनाउन सक्रिय कोइराला अन्तिम समयमा भने पछि हट्ने संकेत गरेका थिए । तर, प्रकाशमान सिंहले पौडेललाई नछाडिदिँदा उनी नै देउवा विरोधी बलियो समूहको नेता बन्ने देखिन्छ ।
गगन थापाजस्ता युवालाई अघि सारेर उनले यसअघि भन्दै आएको ‘युवा प्रतिनिधित्व’लाई ध्यान दिएका छन् तर रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतका वरिष्ठ नेतालाई भने पदाधिकारीमा मनाउन सकेनन् ।
शेखरलाई ‘जुनियर’ मानेका उनीहरु अरुलाई पनि स्वीकार गर्न तयार भएनन् । यो टिमलाई पौडेलको पनि साथ रहेको हुँदा आफूहरु पौडेलकै छाताभित्र रहेको संकेत भने उनीहरुले गरेकै छन् ।
कांग्रेसभित्र तानातानमा रहेका पात्र शशांक कोइराला पनि दाइ शेखरको पदाधिकारीमा परेको देखिएन । शेखरको टिम निर्माणमा बाहिरबाट सहयोग गरेका शशांक देउवाले भने अनेक प्रयास गर्दा पनि सहकार्यका लागि तयार नभएको चर्चा छ ।
यसअघिको महाधिवेशनमा देउवासँगै साँठगाँठ गरेको आरोप सहेका शशांकले यसपल्ट देउवाको प्रस्ताव सार्वजनिकरुपमा नै अस्वीकार गरिदिए ।
देउवानिकट नेताहरुको दाबीलाई छाड्ने हो भने अहिलेको चुनाव पनि दोस्रो चरणमा जान सक्ने देखिन्छ । तर, यसलाई देउवानिकट नेताहरु मान्न तयार छैनन् । उनीहरु पहिलो चरणमा नै जित हासिल गर्ने भन्दै उत्साही छन् । त्यसको कारण हो आफ्नो गुट फैलिनु र कायमै रहनु तर अर्को गुट तितरबितर हुनु ।
दोस्रो चरणमा जाँदा अहिलेकै अवस्थामा देउवापछिको मत शेखरलाई जाने देखिन्छ । प्रकाशमान सिंह र विमलेन्द्र निधिले टिमलाई समेत पूर्णता दिन सकेनन् ।
त्यस्तो अवस्थामा निर्णायक हुन सक्ने नेताहरु हुन् सिंह र निधि ।
दुवै नेताको देउवासँग पनि पुरानै सम्बन्ध छ । उनीहरुका मतदाता पनि देउवासँग टाढा छैनन् ।
चुनाव दोस्रो चरणमा गए सिंहले पनि देउवालाई नै सहयोग गर्न सक्ने कतिपयको आकलन छ तर देउवाको विरोधमा सबैभन्दा बढी आक्रामक देखिने नेता सिंह भएकाले अहिले नै गरिने विश्लेषण हचुवा हुन सक्छ । तर, शेखर र शशांकसँग भने सिंहको पछिल्ला दिनमा दूरी बढ्दो छ ।
प्रकाशमान गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको पारिवारिक विरासत लिएर अघि बढेका छन् । गणेशमान सिंहका छोरा सभापति र गिरिजापुत्री उपसभापति छन् भने सिंहले महामन्त्रीमा ‘चर्चित युवा नेता’ विश्वप्रकाश शर्मालाई समेटेका छन् ।
तयारीबिना बनेको उनको टिमले कस्तो परिणाम हासिल गर्ने हो अहिल्यै भन्न सक्ने अवस्था छैन । सिंह पौडेल समूहबाट एक्ला विद्रोही भएर बाहिरिएका हुन् । उनले अन्तिम समयमा पौडेल समूहबाट लगातार धोका खाएको भन्दै अब आफूलाई नेतृत्व छाडिदिन आग्रह गरेका थिए । तर बरु पौडेललाई नै नेतृत्व दिन तयार भएका कोइरालाहरु सिंहको नेतृत्व स्वीकार गर्न भने तयार भएनन् ।
त्यसैको परिणाम थियो – सिंहको विद्रोह ।
उनले एक्लै गरेको विद्रोहमा मिसिएकी हुन् गिरिजापुत्री सुजाता कोइराला, महेश आचार्य र प्रवक्तासमेत रहेका युवा नेता विश्वप्रकाश शर्मा ।
मधेसको खम्बा र पहाडमा रुचाइएका नेता निधिको उपस्थिति पनि महाधिवेशनमा अपेक्षा गरिए जति बलियो देखिएन । उनलाई मतदान गर्नेहरुले बाँकी पदाधिकारीमा कसलाई चयन गर्ने हुन् भन्ने अझै खुलेको छैन ।
देखिनेगरी नेताहरुको साथ नपाएका निधिले प्रतिनिधिको साथ कति लिन सक्छन् त्यो प्रतीक्षाकै विषय हो ।
नेतृत्वमा जो आए पनि यसपटक महामन्त्रीमा भने युवा अनुहार देखिने पक्काजस्तै छ । र, ‘चुनाव नै महामन्त्रीको’ हो भन्नेहरु पनि कम छैनन् ।
गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेल, मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महतमध्येबाटै दुईजना आउने हुँदा त्यसले कांग्रेसमा तरंग भने सिर्जना गर्नेछ ।
कांग्रेसभित्र ‘गुटको स्वार्थमा’ राजनीति गर्ने सिटौलाका लागि यसपल्टको महाधिवेशनमा ‘गर या मर’को अवस्था छ ।
उनलाई ‘धोका दिएका’ गगन थापा र जिल्लामा पुरानो तिक्तता रहेका विश्वप्रकाश शर्माविरुद्ध सिटौला उभिएका छन् ।
सिटौलाभन्दा फरक कित्तामा उभिने यसअघि पटकपटक प्रयास गरेका शर्मालाई यसपल्ट भने बाध्यताले नै टाढा पुर्याइदिएको छ ।
दुई युवा गगन र विश्वप्रकाशलाई पराजित गर्न उनले अर्का एक प्रभावशाली युवा प्रदीप पौडेललाई अघि सारेका छन् ।
देउवा समूहले १३ औं महाधिवेशनमा अर्जुननरसिंह केसीलाई साथमा राखेर ‘शशांकसँग साठगाँठ’ गरेजस्तै यसपल्ट हुँदैन भनेर ठोकुवा भने गर्न सकिँदैन ।
यसरी अन्तिममा बनेका गुट व्यक्तिगत स्वार्थमा केन्द्रित रहन्छन् । यसैले कतिखेर कहाँ कसले धोका पाउने हुन् भन्न सकिने अवस्था हुँदैन ।
पार्टीमा परिवर्तन खोज्ने मतदाता भने गुटमा रुमलिए फेरि पछुताउनुपर्ने निश्चितै छ ।