अब राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई पूर्वपञ्चहरूको पार्टीमात्र भनेर पन्छाउन सायद मिल्दैन । पञ्चायतमा खासै भूमिका नभएका राजेन्द्र लिङ्लेन राप्रपाको अध्यक्ष निर्वाचित भए भने पञ्चायतसँग बढी नै लगाव भएका कमल थापालाई कार्यकर्ताले नै नेतृत्वबाट हटाए ।
राप्रपाको निर्वाचनमा लिङ्देनको विजयलाई एकातिर राष्ट्रिय राजनीतिमा पुस्तान्तरणको सुरुआत भनेर सकारात्मकरूपमा लिइएको देखिन्छ । अर्कातिर पराजित उमेदवार थापाले ‘निर्मल निवासको नाङ्गो हस्तक्षेप’भन्दै तीतो पोखेका छन् ।
यसले आगामी दिनमा राप्रपाले कुन बाटो लिने हो भन्ने सन्देह पनि उब्जाएको छ । केन्द्रीय समितिमा निर्वाचित पदाधिकारीमा थापा समूहबाट लडेकाहरूको निर्णायक उपस्थिति देखिन्छ । यद्यपि, प्रतिनिधि सभामा जित्ने एकमात्र सांसदका रूपमा पार्टीको नेतृत्व उनैले गर्नु स्वाभाविक मानिनु पर्थ्यो ।
तीमध्ये कतिपय राजनीतिकरूपमा नवनिर्वाचित अध्यक्ष लिङ्देनभन्दा वरिष्ठ छन् । उनीहरूले सहयोग गरेनन् भने राष्ट्रिय राजनीतिमा अपेक्षाकृत पहुँच र अनुभव नभएका लिङ्देनका लागि पार्टी सञ्चालन गर्नु निकै चुनौतीपूर्ण हुनसक्छ ।
पूर्वअध्यक्ष थापाले आरोप लगाएजस्तै निर्मल निवासबाट हस्तक्षेप भएको हो भने त्यो क्रम यत्तिमा पक्कै रोकिनेछैन । यसै पनि अहिले राजनीतिक नेतृत्वको विफलताले गणतन्त्र विरोधीहरूको हौसला बढेको सङ्केत देखिन थालेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा भएको नेतृत्व परिवर्तनले निकट भविष्यमा राष्ट्रिय राजनीतिमा उल्लेख्य प्रभाव भने पार्नसक्ने देखिँदैन । भन्न त राजनीतिलाई ‘सम्भावनाको खेल’ पनि भनिन्छ । तर, न राप्रपासँग तत्काल राजा फर्काउनसक्ने जनमत छ न त यसले सत्तामा निर्णायक हस्तक्षेप नै गर्न सक्छ ।
राप्रपा जन्मदैमा पञ्चायतका पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द नेतृत्वकादुई पार्टीका रूपमा अस्तित्वमा आएको थियो । सूर्यबहादुर थापाका छोराले उनको समूहलाई नेपाली कांग्रेसमा समाहित गरिसकेका छन् । अब बाँकी रहेको समूहले पञ्चायतकै पनि अनुदार पक्षको प्रतिनिधित्व गर्छ ।
गणतन्त्र तथा धर्मनिरपेक्षता विरोधी अनुदार दक्षिणपन्थी राजनीतिको अनुहार बनेका कमल थापाको पराजयले राप्रपालाई लोकतान्त्रिक मध्यधारतर्फ ल्याउन सक्यो भनेमात्र नेतृत्व परिवर्तनको नेपालको राजनीतिमा सकारात्मक प्रभाव पर्नेछ । अन्यथा अनुहार बदलिनुको कुनै अर्थ हुनेछैन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई भारतको भारतीय जनता पार्टी वा युरोपका कन्जरवेटिभ पार्टीहरू जस्तो अनुदार दक्षिण पन्थी दलका रूपमा सैद्धान्तिक स्पष्टता सहित प्रस्तुत गर्न सके एउटा समूहको प्रतिनिधित्व गर्नसक्छ । तर, राजा र हिन्दुधर्मको माला जपेकै भरमा ‘सिद्धि’ प्राप्त गर्न भने निकै मुस्किल हुनेछ ।