कचौरा आकारको काठमाडौं उपत्यकाका सडकहरू सकसका पर्याय बनेका छन् । सार्वजनिक यातायात असुविधाजनक त छ नै सुरक्षित पनि छैन । निजी सवारी साधन हुनेहरूका लागि पनि काठमाडौंका सडकहरूलाई सास्तीकै पर्याय बनाइएको छ ।
नदीका किनाराबाट उठ्दै सानाठूला डाँडासम्म फैलिएको भए पनि उपत्यकाका सडकलाई भौगोलिक बनोटले असुविधाजनक बनाएको भने होइन । मूलतः मानवीय कारणले र त्यसमा पनि राज्यको क्रियाकलाप काठमाडौंका सडकहरू सकसको पर्याय बनेका हुन् ।
केही वर्षदेखि उपत्यकामा विकासका नाममा यहाँका बासिन्दालाई विभिन्न प्रकारका सास्ती दिइएको छ । ‘अमरावती कहलिने कान्तिपुरी नगरीको हावा हिउँदमा सास फेर्न नहुने हदसम्म बिखालु हुन्छ । मूलतः सरकारी निकायले खनेका खाल्टाहरू बर्खामा ‘ज्यानमारा धराप’ बनेका हुन्छन् ।
संघीय राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा दुई दुईवटा त महानगर पालिका नै छन् । बस्ती विस्तारसँगै भएको सहरीकरण समेतका कारण उपत्यकाका सबै बस्तीहरू नगर क्षेत्र घोषित गरिएका छन् । यद्यपि, यहाँका बासिन्दालाई सरकारले पानीसम्म पनि पुग्नेगरी दिनसकेको छैन ।
सडक, खानेपानी र बिजुलीको भौतिक पूर्वाधार निर्माण संसारका अरू सहरहरूमा जस्तै काठमाडौंमा पनि बाह्रै महिना भइरहेको हुन्छ । अरू सहरमा भत्काउने र बनाउने काम सँगसँगै हुन्छ र त्यस क्रममा नागरिकलाई सकेसम्म असुविधा र असुरक्षा हुन दिइँदैन ।
काठमाडौंमा भने भत्काउने काम छिटो सकेर जताजतै अलपत्र पारेर छाडेको देखिन्छ । यसरी अलपत्र सडकका खाल्टाहरू राज्यले नागरिकलाई थापेको पासो जस्तो भान हुन्छ । अनि भत्केको सडकबाट बुङ्बुङ्ती उँडेको धुलोलो सहरकै हावालाई सास फेर्न नहुनेगरी बिखालु बनाउँछ ।
भौतिक निर्माण र पुनःनिर्माणका क्रममा सम्बन्धित निकायका कर्मचारी अलिकतिमात्रै पनि संवेदनशील भइदिने हो भने यस्तो असुविधा र असुरक्षा धेरै कम हुनसक्थ्यो । राजनीतिक नेतृत्वले फोस्रो आडम्बर छाडेर अलिकतिमात्रै पनि मानवीय संवेदना र सुझबुझ देखाए त सुनमा सुगन्ध भनेजस्तै हुन्थ्यो ।
भौतिक संरचनाको निर्माण जनताकै सुविधाका लागि गरिने हो । तर, जनतालाई सास्ती नदिएर पनि यस्ता निर्माण कार्य गर्न सकिन्छ । सडक, खानेपानी वा बिजुलीको काम गर्दा धराप बनाउनमात्र रोके पनि जनताले पैदल वा सवारीमा यात्रा गर्दा भयभीत भइरहन पर्नेछैन ।
आआफ्ना कारण भएका धरापहरू हटाउन वा मेटाउन त ठूलो ‘महाभारत’ पनि नहुनुपर्ने हो । यसैगरी भत्काउने र बननाउने काम सँगसँगै गरे कचौराजस्तो काठमाडौंमा धुलो रङमङिएर सासै फेर्न नहुनेगरी हावा बिखालु पनि हुनेछैन ।
दुर्भाग्य, जनताको सुविधा, सुरक्षा तथा जनस्वास्थ्यको विषयमा स्थानीय तहका निर्वाचित पदाधिकारीको समेत चासो देखाएनन् । संघ एवं प्रदेशका सत्ता वा विपक्षका राजनीतिकर्मीले पनि यस्ता विषय उठाएको वा गम्भीर मन्थन गरेको पाइएन ।
के काठमाडौंलाई फेरि अमरावती बनाउन कसैको ध्यान जाला ? कुनै दिन काठमाडौं धुवाँ, धुलो र बिखालु हावाबाट मुक्त होला ?