संविधानका आधारभूत प्रावधानहरू स्वीकार नगरे पनि प्रचलित कानुन पालना गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले विधिको शासनप्रति सम्मान देखायो । राष्ट्रिय महाधिवेशन आयोजना गरेर पार्टीको नेतृत्व चयन गर्ने प्रक्रिया थाल्नु आफैँमा लोकतान्त्रिक अभ्यास हो ।
प्रतिनिधि सभामा एक स्थानमात्र जितेको राप्रपाका विभिन्न घटकहरू एक भएपछि आयोजित यस महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ भनिएको छ । जन्मदैमा एउटै नामका दुईवटा पार्टी भएर जन्मेको राप्रपाको फुट र जुट भने नौलो घटना होइन ।
निर्वाचित संविधान सभाले बनाएको ‘नेपालको संविधान, २०७२’का मूलभूत विशेषताको गणतन्त्र, धर्म निरपेक्षता तथा संघीयताप्रति राप्रपाले विमति जनाउँदै आएको छ । यस्तै, राप्रपा संविधान निर्माणकै क्रमदेखि राजतन्त्र र हिन्दु राज्यका पक्षमा स्पष्ट देखिने गरी उभिएको छ ।
संविधान सभा तथा संसदीय निर्वाचनमा भने राप्रपाका पक्षमा जनमत अत्यन्त कम देखियो । अर्थात्, एक्काइसौं शताब्दीको नेपाली जनमत संघीय लोकतन्त्रात्मक गणतन्त्र छाडेर मध्ययुगीन हिन्दु राजतन्त्रात्मक पद्धतिमा फर्कन तयार छैन ।
यसैगरी राप्रपा अझै पनि निर्दलीय पञ्चायती व्यवस्था र महेन्द्रीय ‘राष्ट्रवाद’का प्रवक्ताको परिचय बनाएको पूर्व पञ्चहरूको पार्टीका रूपमा चिनिन्छ । राष्ट्रवादलाई देशभक्तिको पर्याय ठान्ने मानसिकताको प्रतिनिधित्व गर्ने पार्टी मानिने राप्रपाको राजनीतिक सिद्धान्त युग सुहाउँदो नदेखिनु अस्वाभाविक पनि होइन ।
नयाँ पुस्तामा राजा वा धार्मिक कट्टरताप्रति आकर्षण बिरलै देखिन्छ । यसैले अनुदार परम्परावादी दलको छवि बनाएर राजनीतिक मैदानमा टिकिरहनु राप्रपाका लागि निकै चुनौतीपूर्ण हुने देखिन्छ । महाधिवेशन त नेतृत्व चयनमा केन्द्रित होला तर राप्रपाले पनि आफ्नो सैद्धान्तिक औचित्य तथा सान्दर्भिकताका सम्ब्धमा गम्भीर मनन गर्नु उचित हुनेछ ।
नेपालमा ठूला भनिएका राजनीतिक दलहरूले आफूलाई ‘समाजवादी’ भन्ने गरेका छन् । मूलतः पुँजीवादका विकृत पक्ष सबै अपनाए पनि कुनै दलले आफूलाई पुँजीवादी भन्दैनन् । नेपालको लोकतान्त्रिक आन्दोलनहरूको नेतृत्व गर्दै आएको नेपाली कांग्रेससमेत ‘उदार लोकतन्त्रवादी’ कहलिन हिचकिचाएको देखिन्छ ।
राजतन्त्र र हिन्दु अधिराज्य छाड्न सक्ने हो भने राप्रपाले समाजको उदार परम्परावादी जनमतको प्रतिनिधित्व गर्न सक्छ । तर, त्यसका लागि राप्रपामा पूर्वपञ्चहरूको प्रभुत्व समाप्त हुनुपर्छ । यद्यपि, कस्तो सिद्धान्त अपनाउने भन्ने निर्णय नितान्त त्यही दलका नेता कार्यकर्ताले गर्ने हो ।
संविधानका आधारभूत प्रावधानसँग असहमत भएर पनि शान्तिपूर्ण राजनीतिक अभ्यास गरेको र लोकतान्त्रिक प्रक्रिया अपनाएकोमा भने राप्रपाको सराहना गर्नुपर्छ ।दलको आन्तरिक राजनीतिमा लोकतान्त्रिक प्रक्रियाको अभ्यास गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सफल होस् !